नारायण रिजाल, बागलुङ ! बालबालिकाहरुको शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेशको बागलुङ सहित तिन जिल्लामा स्वर्णविन्दु प्राशन अभियान संचालनमा ल्याईएको छ ।
चालु आर्थिक वर्ष देखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको कार्यक्रम अन्तरगत गण्डकी प्रदेशका बागलुङ कास्की र तनहुँमा यो अभियान संचालन भएको हो । देशभरका २३ जिल्लामा संचालित कार्यक्रम गण्डकी प्रदेशका तिन जिल्लामा शुभारम्भ भएको धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा. शरद पन्थीले जानकारी दिए ।
डा. पन्थीले केन्द्र र प्रदेश सरकारले बालबालिकाहरुका लागि सुरु गरेको यो आयुर्वेदीक खोप पद्धती बुधबारदेखी बागलुङमा पनि सुरु गरिएको जानकारी दिए ।
यो अभियान अन्तर्गत पहिलो चरणमा १ वर्ष देखी ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाउन लागिएको हो । बिहान ७ बजेदेखि १० बजेसम्म खालि पेटमा स्वर्णविन्दु प्राशन गराईएको डा पन्थीले जानकारी दिए । तोकिएको उमेर समूहका बालबालिकालाई अभियानमा सहभागी गराउन अभिभावकलाई आग्रह समेत गरिएको छ ।
पुष्य नक्षत्रका दिनमा स्वर्णविन्दु प्राशन गराईने
बालबालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने डा.पन्थीले जानकारी दिए । ‘स्वर्णविन्दु प्राशन आयुर्वेद ग्रन्थहरुमा बालबालिकाको बृद्धि विकासका निम्ती खुवाईने खोप पद्धती हो, यसले विशेष गरी बच्चाहरुको पाचन प्रणाली, रोगप्रतिरोधात्मक शक्तिको विकास गर्नुका साथै मानसिक स्वास्थ्यलाई पनि मजबुद बनाउँछ, डा. पन्थीले भने,–‘बागलुङमा पनि यो अभियानको शुभारम्भ गरेका छौँ, प्रत्येक २८ दिनमा यो अभियान संचालन हुनेछ, बालबालिकालाई पाँच वर्ष सम्म निरन्तर खुवाउनुपर्ने छ ।’
स्वर्ण विन्दु प्राशन करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि रहेको डा. पन्थीले बताए । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार रहेको छ । ‘स्वर्णविन्दु प्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ डा पन्थीले भने,–‘आयुर्वेदको मुल ग्रन्थ काश्यप संहिताअनुसार, स्वर्ण भष्मलाई घ्यु र महमा मिसाएर बनेको लेहलाई थोपास्वरूप सेवन गराइने विधि नै‘स्वर्णविन्दु प्राशन’ हो । ’ कुनै अन्धविश्वासमा आधारित परम्परा नभएको र हजारौं वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान भएको हुँदा बालबालिकालाई खुवाउने निकै उत्तम रहेको उनले बताए ।
यो खोप राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको
नेपालको आयुर्वेद चिकित्सामा यो खोप राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको डा. पन्थीले जानकारी दिए । ६ महिना मुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू हुने छैन ।
बालबालिकालाई स्वर्ण विन्दु प्राशन खाने दिन ज्वरो, रुघाखोकी, आउँ, झाडापखाला, अरुची, पिनास, निमोनिया, खाना पचाउन समस्या लगायतका समस्या देखिएमा वा बिरामी भएमा अर्को महिनाको पुष्य नक्षत्रका दिन खुवाउन सकिन्छ ।
बागलुङमा पहिलो दिन ४६३ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन
बागलुङमा पहिलो दिन ४६३ जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराईएको डा. पन्थीले जानकारी दिए । यस पटक छुटेका बालबालिकाले आगामी कात्तिक २५ गते पुन खुवाउने छ । यो अभियान बागलुङमा धौलागिरी आर्युवेद अस्पतालबाट मात्र संचालन भएको छ भने यही उत्पादन हुने अस्पतालले जनाएको छ ।
केवल परम्परा मात्र नभई वैज्ञानिक दृष्टिले अर्थपूर्ण संयोजन भएकाले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर देशभरि स्वस्थ बालबालिका निर्माणम गर्नका निम्ती यस कार्यक्रमले सहयोग पुराउने बताईएको छ ।