बागलुङमा डेंगू नियन्त्रणका लागी ‘खोजौं र नष्ट गरौं’ अभियान

  • भदौ ३१, २०७९

नारायण रिजाल -बागलुङ । बागलङुमा डेंगूको संक्रमण बढ्दै गएको छ । पछिल्लो दिनमा दैनिक यसबाट संक्रमित विरामीहरु बढ्दै गए पछि उच्च सर्तकता अपनाउँदै यसको नियन्त्रण गर्न जिल्लामा ‘खोजौं र नष्ट गरौं’ अभियान संचालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले विभिन्न संस्थाको सहयोगमा सदरमुकाम क्षेत्रमा ‘खोजौ र नष्ट गरौं ’अभियान संचालन गरिहेको हो । यद्धपी ग्रामिण भेगका स्थानिय तहले पनि यो अभियान संचालन गरेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले जानकारी दिईन ।  
जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी प्रहरी, जनप्रतिनिधि संघ संस्थाका प्रतिनिधिको सक्रियतामा बागलुङ बजारमा विभिन्न स्थानमा रहेका पानीका खाल्डा पुर्नुका साथै टायर, प्लाष्टिकका बोत्तलमा जमेको पानी नष्ट गरिएको छ । विशेष गरी खाल्डाखुल्डी र टायर प्लाष्टिकका भाडाँमा पानी जम्ने र लामखुट्टेले उक्त स्थानमा फुल पार्ने हुँदा लामखुट्टेको नष्ट गर्नका लागि यो अभियान संचालन गरिएको शर्माले बताईन । 
बागलुङमा एक महिनामा २६ जनालाई डेंगु संक्रमण
पछिल्लो एक महिनामा २६ जनालाई बागलुङमा डेंगु संक्रमण देखिएकोले यसमा अझै गम्भिर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन ।  बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका क्षेत्रका भदौ महिनामा मात्रै २६ जनामा डेंगुको संक्रमण पुष्टी भएकाले यो समस्या जटिल बन्न सक्नेतर्फ सबै सचेत हुनुपर्ने बागलुङ नगरपालिका स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए । बागलुङमा गत असारदेखि डेंगीको संक्रमण देखिएकोछ पछिल्ला दिनमा दैनिक नयाँ नयाँ विरामी भेटिएको खनालले बताए । धौलागिरी अस्पतालको तथ्याङ्क अनुसार असारमा ३ जना र साउनमा ३ जनामा संक्रमण देखिएको थियो । अहिले भदौ महिनाको २९ गतेसम्म मात्रै २६ जनामा संक्रमण देखिइएको छ ।  डेंगु नियन्त्रणका सबै निकायबीचको समन्वय र सहकार्यबाट यसलाई नियन्त्रण गर्न सकिने खनालले बताए ।  
डेंगुको नियन्त्रणका सवै जुटौं
सबै क्षेत्रबाट डेंगु नियन्त्रणका लागि भुमिका खेल्नका निम्ती स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।  ‘डेंगुको नियन्त्रणका सवै जुटौं खोजौ र नष्ट गरौं, हामी नै सजक नभए यो समस्याको रुपमा अगाडि आउनसक्छ ।’ स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक शर्माले भनिन्, ‘डेंगुको ठ्याक्कै उपचार छैन,’ यो भाईरसबाट लाग्ने रोग भएका कारण लाग्नबाट जोगिनु नै मुख्य उपाय हो ।’ यो एडिज जातको लामखुट्टेको टोकाईबाट सर्छ ।’ संक्रमित व्यक्तिलाई टोकेको लामखुटटेले स्वस्थ व्यक्तिलाई टोक्दा यो भाईरस सर्ने र जटिल खालको स्वास्थ्य समस्या समेत देखिने उनले बताईन् । 
दश दिनमा २० जनामा संक्रमण
धौलागिरि अस्पतालकी फिजिसियन कन्सल्टेन्ट रायना श्रेष्ठका अनुसार बागलुङमा विशेषगरी काठमाडौंबाट आएकाहरुमा डेंगीको संक्रमण देखिएको छ । ‘धेरै जसो काठमाडौबाट आउनेहरुमा यो समस्या देखिएको छ,’ उनले भनिन्,‘पछिल्ला दिनहरुमा ट्राभल हिस्ट्री नभएकाहरुमा पनि  देखिन थालेकाले हाम्रो समाजमा पनि यो फैलिएको हुनसक्ने अवस्था छ । सबै सचेत हुनुपर्छ ।’ पछिल्लो १० दिनमा मात्रै बागलुङमा २० जनामा संक्रमा देखिएकाले खतराको घण्टी बजिसकेको उनको भनाई छ । डेंगीबाट बच्नका लागि व्यक्तिगत सतर्कता नै मुख्य उपाय भएको उनले बताईन् । ‘विशेषगरी बिहानको समयमा घाम झुल्किसकेपछिको समयमा एडिज जातको लामखुट्टेले टोक्दा यो भाईरसको संक्रमण हुने सम्भावना बढि हुन्छ,’ उनले भनिन्,‘लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य उपाय हो ।’ 
पुरै शरिर छोपिनेगरी कपडा लगाउने, झुल लगाएर बस्ने, नजिमा रहेको लामखुट्टेले लार्भा उत्पादन गर्नसक्ने पानी जमेका ठाउँहरु पुर्ने र सुख्खा बनाउने हो भने डेंगी नियन्त्रण गर्न सकिने उनले बताईन् । डेंगीको संक्रमण भएका टाउको दुख्ने, हप्तादिनसम्म ज्वरो आउने, वान्ता हुने लगायतका समस्या देखिने उनले बताईन् । यस्तो बेलामा झोलिलो र तागतिलो कुराहरु बढि खानुपर्ने उनको भनाई छ । डेंगी परिक्षणका लागि टेष्ट किटहरु पर्याप्त मात्रामा उपलब्ध नभएका कारण परीक्षणमा पनि समस्या भएको छ । प्रसस्त किटहरुन भएका कारण पालिकामा किट पठाउन नसकिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । अहिले पालिकालाई टेष्ट किट किनेर परीक्षण गर्न भनिएको स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । 
एडिस एजेप्टाई र एब्लो पिक्टस जातको पोथी लामखुट्टेले टोकेको तीन देखि १४ दिनमा डेंगूको लक्षण देखिन्छ । लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ । दुई÷तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै आँखाको पछाडिपट्टीको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि देखिन्छ । यस्ता लक्षण देखा पर्ने बित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिन्छन् । 
 

प्रतिक्रिया