रामबहादुर थापा- गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनि । काठमाडौँ छँदै राना कतार पुगे ।
त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे ।
जैमिनी नगरपालिका–७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गर्नुभयो । १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन । बारी घाँस र झाडीले ढाकिएको थियो ।
तैपनि रानाको मन मरेन । आफ्नै जन्मथलोमा केही गरि छाड्ने हुटहुटीले रानालाई घच्घचाइरह्यो । जीर्ण बनेको घरगोठ सिँगार्नुभयो । बाँझो पल्टिएको बारीलाई हराभरा पारे ।
अब कतै नभौँतारिई गाउँमै आयआर्जनको बाटो समात्ने अठोट उनले लिए । त्यसको पहिलो पाइला रानाले बाख्रापालनबाट चाले ।
३७ वर्षीय रानाले व्यावसायिक रुपमा बाख्रापालन थालेको वर्ष दिन बित्यो । उहाँले चलाएको ‘राना कृषि तथा पशुपछी फार्म’ मा अहिले २२ वटा बोयर जातका बाख्रा छन् ।
रु तीन लाख पर्ने ९० किलोको बोका पनि रानाको फार्ममा छ । १६ महिने त्यो बोकालाई अर्को वर्षसम्म पालेर रु चार लाखसम्म पार्ने योजनामा उनि छन् ।
रानाले उक्त बोका रायडाँडाका किसान चिरञ्जीवी केसीकोबाट गतवर्ष किनेर ल्याएका हुन्। प्रजनन र नश्ल सुधारका लागि बोका पालेको उनको भनाइ छ ।
फार्ममा बोयर बोका र स्थानीय खरी जातका पाठीबाट नश्ल सुधार गर्ने गरिएको छ । बाहिरका किसानले पाठीलाई प्रजननका लागि बोकासँग ल्याउँदा रु एक हजार ५०० सम्म शुल्क तिर्छन् ।
खोर निर्माणदेखि फार्मको संरचना तयार पार्दा अहिलेसम्म रु। १० लाख लगानी भइसकेको रानाले बताए ।
“अहिले लगानीकै चरणमा छु, ऋणधन गरेर भएपनि फार्मलाई अझ विस्तार गर्ने सोचमा छु”, उनले भने, “आउँदो वर्षदेखि बल्ल आम्दानी आउन सुरु होला ।”
बोयर बाख्राको बजार माग र मूल्य बढी छ । व्यावसायिक पालनका लागि पाठापाठीको पनि उत्तिकै खोजी हुन्छ ।
रानाले बोयरपालनमा जिल्लाकै ‘नमूना फार्म’ बनाउने लक्ष्य लिएको बताउनुभयो । घर वरपरको बारी र खाली जग्गामा उनले बाख्रपालनलाई चाहिने उन्नत घाँस खेती गरेका छन् ।
“बाली लगाउन छाडेपछि बाँझो भएको बारीमा अहिले सुपर नेपियर, राई खनियो, बडहरलगायत उन्नत जातका घाँस खेती भइरहेको छ”, उनले भने ।
बोयर बाख्रालाई उच्च प्रोटिनयुक्त घाँस चाहिने भएकाले २५ रोपनी क्षेत्रफलमा उन्नत जातको घाँसखेती गरेको उनको भनाइ छ ।
जैमिनी नगरपालिकाका पशु प्राविधिक नेत्र आचार्यका अनुसार बोयरको तौल र शारीरिक वृद्धि छिटो हुन्छ । “बोयर बाख्रा दिनमा एक सय ५० देखि दुई सय ग्रामसम्म बढ्छ, दुई वर्षमा एक सय २० किलोसम्म हुन्छ”, उनले भने ।
पशु प्राविधिक आचार्यले पहाडी हावापानीमा बोयर जातको बाख्रापालन फस्टाउने गरेको बताउनुभयो । बाख्रापालक किसानलाई खोर सुधार, घाँस, औषधिलगायतमा अनुदान दिएर नगरपालिकाले सघाउँदै आएको उनको भनाइ छ ।
जैदीको धवलागिरि कृषि सहकारीमार्फत व्यावसायिक बाख्रापालनमा किसानले सहायता पाउँदै आएका छन् । सहकारीले गत वर्ष तीनवटा बोयर जातका बोका गाउँमा वितरण गरेको थियो ।
रानाको फार्मले पनि यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक लाख अनुदान पाएको छ । धन कमाउने आशमा धैरेतिर हण्डर खाएपछि घर फर्केर आफैँ उद्यम गर्न कस्सिनुभएका रानाको मेहेनत देखेर छरछिमेकी पनि दङ्ग छन् ।
सहर छिरेका उनियसरी गाउँ फर्कनुहोला र झण्डै बिर्सिसकेको घरबारी सम्हाल्नुहोला भनेर धेरैले पत्याएका थिएनन् । रानाका लागि भने सहरको सङ्घर्ष त्यति सजिलो थिएन ।
श्रीमती माया र दुई छोरालाई काठमाडौँमै छाडेर गाउँ फर्कनु अर्को चुनौती थियो, रानालाई । आखिर, आँट र सपनाले डो¥याएर उहाँलाई आफ्नै जन्मथलो ल्याइपु¥यायो । गाउँको घरमा अहिले राना एक्लै बसछन् ।
“बुवाआमा बितिसक्नुभयो, एउटा दाइ उहाँ पनि काठमाडौँ छन्, श्रीमती, छोराहरु उतै बसेर पढ्छन्”, उनले भने । घरधन्दादेखि बाख्राको स्याहारसुसार उनि एक्लैले भ्याउछन् । “कामले गर्दा खासै फुर्सद हुन्न, यसमै खुसी छु, आफ्नै गाउँठाउँमा रमाएको छु”, रानाले भने ।