बागलुङ- बागलुङ नगरपालिका–७ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले विगतमा सानो कोठाबाट सीमित स्रोत–साधनका बीच सेवा प्रदान गर्नुपर्ने अवस्थाबाट गुज्रिएको वडाले आज आफ्नै व्यवस्थित भवनबाट सेवा दिन पाउनु ठूलो उपलब्धि भएको बताए ।
उनले स्थानीय सरकार गठनपछि पूर्वाधार विकासले गति लिएको उल्लेख गर्दै जनतालाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्न भौतिक संरचना महत्वपूर्ण आधार भएको धारणा व्यक्त गरे । श्रेष्ठले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, सुशासन प्रवद्र्धन र जनताको प्रत्यक्ष सहभागितामा विकास निर्माणलाई अघि बढाइने बताए ।
कार्यक्रममा उपप्रमुख राजु खड्काले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधारसँगै जनशक्ति र व्यवस्थापन पक्ष पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै नयाँ भवनले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
पहिलो चरणमा २५ लाख र दोस्रो चरणमा १५ लाख गरी कुल ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको निर्माण कार्य गत वर्ष नै सम्पन्न भएको वडा अध्यक्ष मेघनाथ शर्मा गैरेले जानकारी दिए । शर्माका अनुसार भवन निर्माणसँगै वडावासीलाई सेवा लिन सहज भएको र कर्मचारीहरूलाई पनि व्यवस्थित वातावरणमा काम गर्न पाउने अवस्था सिर्जना भएको छ । नवनिर्मित भवनमा सेवा कक्ष, बैठक कक्ष तथा आवश्यक प्रशासनिक संरचना समावेश गरिएको छ । यसले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा रहेको वडा अध्यक्ष गैरेले जानकारी दिए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ भवनले वडा स्तरको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै यसको दीर्घकालीन सदुपयोगमा जोड दिएका थिए ।
कार्यक्रम वडा अध्यक्ष गैरेको अध्यक्षता वडा सदस्य रमेश किसानको स्वागत नगरपालिकाका एमआईएस अपरेटर हरि गौतमको संचालनमा सम्पन्न भएको थियो ।


