बागलुङ - कालिगण्डकीमा नदिमा आएको बाढिका कारण असोज ११ गते बन्द रहेको बागलुङ–पर्वत जोड्ने मालढुङ्गाको पुल सोमबार विहानबाट संचालनमा आएको छ । पुलको पर्वत खण्डको भाग बाढिले बगाउँदा दुई सातादेखी यातायात ठप्प रहेको थियो । सडक बन्द हुँदा बागलुङ सहित रुकुम, रोल्पा, जाजरकोट लगायत मध्यपहाडी लोकमार्ग हुँदै गुडने सवारी साधान आवतजावतमा समस्या भएको थियो ।
दैनिक १५ देखी १८ घण्टाका निरन्तर काम पश्चात पुलको पहुँच मार्ग निर्माण भएपछि यातायात सञ्चालनमा आएको छ । दशैंको बेलामा मुख्य पुल नै बन्द हुँदा हजारौं नागरिकले सास्ती खेप्नु परेको थियो भने बागलुङ बजारमा महँगी बढेको थियो । निर्माणका निम्ती सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीसहित बागलुङबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको थियो । चाडबाडका बेला यातायात बन्द हुँदा बागलुङको व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको थियो । मालढुङ्गा पुल हुँदै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर, पञ्चकोटदेखि ढोरपाटन घुम्न जाने पर्यटकहरू पनि आउन सकेका थिएनन् । असोज ११ गते देखी पोखरा बागलुङ सिधा यातायात टुटेको थियो । अत्यावश्यक सेवाका सामान समेत ढुवानी गर्न कठिनाई भएको थियो । पुल बन्द हुँदा बैकल्पिक मार्ग कालिगण्डकी करिडोर, जैमिनी घामको पुल हुँदै पर्वतको फलेवासको सडक हुँदै पोखरा जानुपर्ने थियो भने, पोखरा बेनी सडक अन्तरगत खनियाघाटको पुल पैदल तरेर बागलुङ जानुपर्ने बाध्यता रहेको थियो । त्यो बाध्यता टरेको छ ।
मालढुङ्गा पुल राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र चिन–भारत जोड्ने कालीगण्डकी कोरिडोरको मुख्य केन्द्र हो । यही पुल हुँदै दुई वटा राजमार्गमा यात्रुले यात्रा गर्दै आएका छन् । पुल संचालनमा आएसँगै बागलुङका व्यवसायी पनि खुसी भएका छन । बाढि पहिरोका कारण सुस्ताएको व्यवसाय अब पून संचालन हुनेमा उनिहरु विस्वस्त रहेका छन ।