बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अभियानअन्तर्गत ‘हामी आउँदै छौँ’ कार्यक्रम शुक्रबार बागलुङमा सम्पन्न भएको छ । रास्वपा बागलुङ नगर समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय प्रतिनिधि एवं प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले ‘हामी आउँदै छौँ’ अभियान जनतासँग प्रत्यक्ष जोडिने र उनीहरूका समस्या, गुनासा तथा अपेक्षा सुन्ने अभियान भएको बताए ।
उनले जनताको आवाज सुन्ने, उनीहरूका समस्या बुझ्ने र परिवर्तनको यात्रालाई थप मजबुत बनाउने साझा संकल्पका साथ पार्टीले देशव्यापी रूपमा अभियान सञ्चालन गरेको बताए । जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको आवश्यकता र अपेक्षालाई पार्टीका नीति तथा कार्यक्रमसँग जोड्नु अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा रास्वपाकी केन्द्रीय सदस्य सविना विकले अभियानका केन्द्रीय नीति तथा नियमका विषयमा जानकारी गराएकी थिइन् । त्यस्तै, गण्डकी प्रदेश समितिकी सदस्य तारा कार्कीले अभियानको उद्देश्य, महत्व र सञ्चालन प्रक्रियाबारे प्रकाश पारेकी थिइन् । साथै कार्यक्रममा रास्वपाले ल्याएको क्यान्डिनेट क्लबका बारेमा जानकारी गराइएको थियो ।
रास्वपा बागलुङ नगर समितिका सभापति रोशन खड्काले नगर क्षेत्रका पार्टी गतिविधि तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै संगठनलाई थप मजबुत बनाउन जनताका समस्यालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले जनताका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने र पार्टीका गतिविधिलाई जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा रास्वपा बागलुङ जिल्ला समितिका पदाधिकारी तथा सदस्य, नगर समिति र नगरका १४ वटै वडा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम रास्वपा बागलुङका उपसभापति खिमानन्द पौडेलको अध्यक्षता, बागलुङ नगरसमितिका सल्लाहकार अस्मिता खड्काको स्वागत र बागलुङ नगर समितिका सहसचिव महेन्द्र रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।