बागलुङ । क्षयरोगको जोखिमयुक्त समुदायमा रोगको पहिचान, रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बागलुङमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित एक्सरे स्क्रिनिङ शिविर सञ्चालन गरिने भएको छ ।
बागलुङ नगरपालिका कार्यालयको आयोजना, प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग र प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको सहजीकरणमा शिविर सञ्चालन गर्न लागिएको हो । सिमान्तकृत तथा जोखिमयुक्त समुदायलाई लक्षित गरी असोज २७ गते बागलुङ नगरपालिका–१२ अमलाचौरमा १२, १३ र १४ का नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ ।
बागलुङ नगरपालिका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालका अनुसार शिविरमा विशेषगरी मधुमेहका बिरामी, कुपोषित बालबालिका तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर क्षयरोगको खोजपडताल गरिनेछ । क्षयरोगको जोखिम बढी भएका समुदायमा लक्षण देखिएका तथा रोगको शङ्का लागेका व्यक्तिको समयमै पहिचान गरी उपचारको दायरामा ल्याउन शिविर सञ्चालन गर्न लागिएको उनले बताए ।
खनालका अनुसार बागलुङ नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ४१ जना क्षयरोगका बिरामी पहिचान भएका थिए । गत आर्थिक वर्षमा २८ जना बिरामी फेला परेका थिए भने चालु आर्थिक वर्षमा हालसम्म ८ जना क्षयरोगका बिरामी पहिचान भएका छन् । पहिचान भएका बिरामीले नियमित औषधि सेवन गरिरहेको उनले जानकारी दिए ।
क्षयरोगको समयमै पहिचान र उपचार हुन नसक्दा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै समुदायमा रोग फैलिने जोखिमसमेत रहने भएकाले जोखिमयुक्त क्षेत्र र समुदायमा लक्षित खोजपडताललाई प्रभावकारी बनाउन आवश्यक रहेको हुँदा स्किृत शिविर संचालन गरिएको खनालले बताए ।
शिविर सञ्चालनको तयारी स्वरूप बागलुङ नगरपालिका–१२ अमलाचौरमा अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको छ । कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराका निर्देशक डा. मनमोहन मिश्रले एआई प्रविधिमा आधारित एक्सरे क्षयरोगको शंकास्पद अवस्था पहिचान गर्न उपयोगी माध्यम भएको बताए । उनका अनुसार एआई प्रविधिले छातीको एक्सरे तस्बिरको विश्लेषण गरी क्षयरोगसँग मिल्दोजुल्दो असामान्य अवस्था पहिचान गर्न सहयोग गर्छ । यसबाट धेरै व्यक्तिको परीक्षण छोटो समयमा गर्न, रोगको शंका भएका व्यक्तिलाई प्राथमिकताका आधारमा थप परीक्षणका लागि छनोट गर्न र समुदायस्तरमा क्षयरोगको खोजपडताललाई प्रभावकारी बनाउन सकिन्छ ।
विशेषगरी स्वास्थ्य सेवाको पहुँच कम भएका, नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका तथा क्षयरोगको जोखिम बढी भएका समुदायमा यस्तो प्रविधि उपयोगी हुन सक्ने उनले बताए । यद्यपि एआई एक्सरेबाट मात्रै क्षयरोगको अन्तिम निदान नहुने भएकाले एक्सरेमा शंकास्पद अवस्था देखिएका व्यक्तिको आवश्यकता अनुसार खकार परीक्षण लगायत थप परीक्षण गरी रोगको पुष्टि गर्नुपर्ने हुन्छ ।
क्षयरोग न्यूनीकरणका लागि समयमै रोग पहिचान, नियमित औषधि सेवन, उपचार पूरा गर्ने बानी, बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण तथा जनचेतना अभिवृद्धि आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । दुई साताभन्दा बढी खोकी लाग्ने, लामो समयसम्म ज्वरो आउने, राति पसिना आउने, तौल घट्ने तथा खानामा रुचि कम हुनेजस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । जोखिममा रहेका व्यक्तिमा स्पष्ट लक्षण नदेखिए पनि स्वास्थ्य परीक्षण आवश्यक पर्न सक्ने भएकाले लक्षित समुदायलाई शिविरमा सहभागी हुन आग्रह गरिएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्रीले क्षयरोगको खोजपडताल र नियन्त्रणका लागि सबै समुदायको सहयोग आवश्यक रहेको बताए । रोग लुकाउने वा परीक्षण गर्न हिचकिचाउने प्रवृत्तिले समयमै पहिचान र उपचारमा समस्या हुन सक्ने भन्दै उनले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार जिल्लामा यसअघि बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका–९ मा एआई प्रविधिमा आधारित स्क्रिनिङ शिविर सञ्चालन भइसकेका छन् । आगामी असोज २६ गते काठेखोला गाउँपालिकाको पालामा र असोज २७ गते बलेवा क्षेत्रका जोखिमयुक्त समुदायलाई लक्षित गरी अमलाचौरमा शिविर सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रममा बलेवा क्षेत्रका तीनवटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो । कार्यक्रम बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष कोपिलामणि शर्माको अध्यक्षता तथा अमलाचौर स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।