☰

काँग्रेस महाधिवेशन:केन्द्रीय समितिमा बागलुङका १४ जनाको उम्मेदवारी घोषणा

  • असोज १९, २०८३

बागलुङ-   नेपाली काँग्रेसको १५औं महाधिवेशन आईतबार देखी काठमाण्डौमा चलिरहेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व चयन हुँदै गर्दा केन्द्रीय कार्यसमितिमा आफ्नो उम्मेदवारी घोषणा गर्ने आकंक्षीहरुको लर्को नै रहेको छ । 
महाधिवेशनको कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि मंगलबार विहान १० बजे देखी  ३ बजे सम्म समय निर्धारण गरिएको छ ।  त्यसको पूर्व सन्ध्यामा भने बागलुङ जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेका १३ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । 
केन्द्रीय कार्यसमितिका लागि पार्टीको पदाधिकारी देखी सदस्य सम्म आफ्नो उम्मेदवारी घोषणा गर्ने हालसम्म १४ जना पुगेका छन । 

पार्टीको सह–महामन्त्रीका लागि गण्डकी प्रदेश सभा सदस्य एवं युवा नेता डिल्लीराम सुवेदीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । सुवेदी बागलुङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका थिए । नेपाल विद्यार्थी संघको तर्फबाट काठमाण्डौ शिक्षा क्याम्पसको स्ववियु सभापती बनेका सुवेदी नेविसंघको केन्द्रिय उपाध्यक्ष समेत बनेका थिए । उनि बागलुङबाट तेस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका छन भने हाल गण्डकी प्रदेश सभा सदस्य समेत हुन । 
सह–महामन्त्रीकै लागि टेकराज पौडेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका पौडेलले यस पटक सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन । उनि बागलुङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रनिनिधि बनेका छन । नेविसंघ, नेपाल तरुणदलको केन्द्रीय समितिमा बसेर अनुभव समालेका  पौडेल गत प्रतिनिधि सभाको निर्वाचनमा यसै क्षेत्रमा झिनो मतान्तरले पराजित बनेका थिए । 
वर्तमान केन्द्रीय सदस्य जगदिशचन्द्र उपाध्यायले केन्द्रीय सदस्य खस आर्य तर्फ आफ्नो उम्मेदवारी घोषणा गरेका छन। उनि बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बनेका छन भने बागलुङ काँग्रेसको सहसचिव, उपसभापती हुँदै दुई पटक सम्म सभापतीका लागि भिडेका थिए । उपाध्याय विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन । यसपटक पनि पुनः केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । 
हालका केन्द्रीय सदस्य भिम बहादुर श्रीसले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । उनले केन्द्रीय सदस्य जनजाती खुल्ला तर्फ आफ्नो उम्मेदवारी रहने पिपुल खबरलाई बताए । श्रीस गत प्रतिनिधिसभाको निर्वाचमा बागलुङ क्षेत्र नं. १ को काँग्रेसको उम्मेदवार थिए । यसै क्षेत्रबाट पटक पटक महाधिवेशन प्रतिनिधि बनेका श्रीष विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन । 
 
केन्द्रीय सदस्यका लागि द्रोर्ण  कुमार कुँवरले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बागलुङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि बनेका कुँवर हाल गण्डकी प्रदेश सभा सदस्य समेत हुन । उनि बागलुङ क्षेत्र नं. २ को क्षेत्रीय सभापती हुँदै १४ औं महाधिवेशनमा जिल्ला सभापतीका लागि समेत भिडेका थिए । 
केन्द्रीय सदस्कै लागि बागलुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक मात्र संघिय सांसद रेणुका काउचा मगरले पनि आफ्नो उम्मेदवारी केन्द्रीय सदस्य जनजाती  महिला तर्फ घोषणा गरेकी छन । उनि बागलुङ क्षेत्र नं. २ बाट सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी छन । काउचासँग नेपाल मगरसंघ, नेपाल महिला संघको केन्द्रीय तहको नेतत्वमा बसेर काम गरेको अनुभव छ भने उनि गलकोट नगरपालिकाको उपप्रमुख समेत बनिसकेकी छन । 
केन्द्रीय सदस्यका लागि महाधिवेशन प्रतिनिधि हरि आचार्यले पनि आफ्नो उम्मेदवार घोषणा गरेका छन । उनले खुल्ला तर्फ आफ्नो उम्मेदवारी रहने बताएका छन । त्रिचन्द्र क्याम्पसमा वर्तमान काँग्रेस सभापती गगन कुमार थापासँग नेविसंघको इकाईमा नेतृत्व समालेका आचार्यले यस पटक गगनकै नेतृत्वमा बस्ने गरी आफ्नो उम्मेदवारी रहेको बताएका छन । 
त्यसैगरी बागलुङ १ बाट महाधिवेशन प्रतिनिधि बनेका युवा नेता सुजन सापकोटा र उषा सापकोटाले पनि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । सुजन नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन भने उषा अघिल्लो १४औं महाधिवेशनमा बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधि बनेकी थिइन । 
केन्द्रीय सदस्यमा युवा नेता सागर परियारले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि बनेका परियारले केन्द्रीय सदस्य दलित समावेशी तर्फ आफ्नो उम्मेदवारी रहने बताएका छन ।  परियार नेविसंघका पूर्व उपाध्यक्ष हुन भने बागलुङ काँग्रेसका पूर्व जिल्ला सदस्य हुन । उनि १३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि रहेका थिए ।  बागलुङ क्षेत्र नंं २ बाट महाधिवेन प्रतिनिधि बनेका ऋषिराम कंडेलले पनि केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । 

लामो समय युरोपमा रहेर नेपाली कांग्रेसको संगठन निर्माणमा जुटेका युवा नेता शालिक गौतमले पार्टीको १५औँ महाधिवेशनमा युरोप क्लस्टर अन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । बागलुङ नगरपालिका ११ रायडाँडाका  गौतम बेल्जियबाट पार्टीको १३औँ महाधिवेशनका केन्द्रीय प्रतिनिधि र १४औँ महाधिवेशनमा महासमिति सदस्य रहेका छन ।  गौतम जारी १५औँ महाधिवेशनमा पनि महासमिति सदस्य छन् ।  नेपाली जनसम्पर्क समिति बेल्जियमको सहमहामन्त्री र जनसम्पर्क समिति नेदरल्यान्ड्सको महामन्त्री हुँदै सभापति बनेर काम गरेको अनुभव उनीसँग छ ।
केन्द्रीय सदस्य एसिया प्यासिफिक क्षेत्रबाट डण्डपाणी कंडेल डिपीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बागलुङको काठेखोलाका कंडेल लामो समयदेखी जापानमा बस्दै आएका छन । उनि नेपाली नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापती समेत हुन । त्यसैगरी केन्द्रीय सदस्यका लागि पूर्ण बहादुर हमालले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बागलुङको काठेखोला गाउँपालिकाका हमाल लामो समयदेखी युरोपमा बस्दै आएका छन । उनले केन्द्रीय सदस्य युरोप कल्ष्टरबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन । यस बाहेक वर्तमान केन्द्रीय सदस्य चम्पादेवी खड्काले भने हाल सम्म आफ्नो उम्मेदवारी घोषणा गरेकी छैनन । उनले मंगलबार जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिको सल्लाह पछि मात्र आफ्नो उम्मेदवारी घोषणा गर्ने र मनोनयन गर्ने बताएकी छन । 

मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको हुँदा त्यस बेलासम्ममा लागि अन्य नेताहरुले पनि उम्मेदवारी दर्ता गराउने आंकलन गरिएको छ । विशेष महाधिवेशनबाट काँग्रेस सभापती गगन थापाको नेतृत्व आएसँगै काँग्रेसमा केन्द्रीय समितिमा बसेर काम गर्ने आकंक्षीहरु बढ्दै गएका छन । उम्मेदवारी घोषणा गरेपनि मंगलबार ३ बजेसम्म क कसले दर्ता गर्ने हुन त्यो भने हेर्न बाँकी नै रहेको छ । 

 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय