बागलुङ- नेपाली काँग्रेसको १५औं महाधिवेशन काठमाण्डौमा चलिरहेको छ । केन्द्रीय महाधिवेशनमा जिल्लाका २ वटै क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि बाहेक पार्टीको केन्द्रीय कार्यसमितिबाट ८ जना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन ।
नेपाली काँग्रेसको विधान २०१७(एघारौं संशोधन सहित)को धारा ५१ १(क) बमोजिम सभापतीले मनोनित गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार ८ जनालाई मनोनित गरिएको छ । काँग्रेसको महाधिवेशनको निर्वाचन समितीले अन्तिम मतदाता नामावली प्रकाशनमा बागलुङ क्षेत्र नं. १ बाट ६ जना र क्षेत्र नं. २ बाट २ जनाको थप गरी ८ जनाको नाम सार्वजनिक गरेको छ ।
मनोनित हुनेमा प्रकाश शर्मा पौडेल, बसन्त कुमार श्रेष्ठ, पार्वती आचार्य, जगन्नाथ आचार्य दिलिप पौडेल, यामलाल कंडेल रहेका छन उनिहरु प्रतिनिधि सभा क्षेत्र नं. १ का रहेका छन । महाधिवेशन प्रतिनिधिमा मनोनित पौडेल काँग्रेस बागलुङका पूर्व सभापती एवं संविधान सभा सदस्य हुन । उनि १३ औं र १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार समेत रहेका थिए ।
काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष तथा बागलुङ नगरपालिकाका नगरप्रमुख समेत रहेका बसन्त कुमार श्रेष्ठ पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन । उनि अघिल्लो १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य समेत रहेका थिए । पार्वती आचार्य नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य हुन । उनि नेपाल महिला संघका केन्द्रीय सदस्य समेत बनेकी थिइन । यस अघिका महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएकी थिइन ।
काँग्रेस बागलुङका जिल्ला कार्यसमिति सदस्य रहेका जगन्नाथ आचार्य १३औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि थिए । आचार्यसँग नेपाल शिक्षक संघ, शिक्षक युनियन, नेपाल प्रेस युनियन लगायतका संस्थामा नेतृत्व समालेको अनुभव रहेको छ । आचार्यले विभिन्न सामाजिक संस्थामा पनि नेतृत्व समालेका छन ।
महाधिवेशन प्रतिनिधिको रुपमा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल पनि मनोनित भएका छन । पौडेल नेपाल प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष समेत हुन । त्यसैगरी जिल्लाको काठेखोलाका यामलाल कंडेल पनि महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन । काँग्रेस सभापती गगन थापाका नजिकको साथीको रुपमा चिनिने कंडेल काठमाण्डौमा बसेर व्यवसाय संचालन गर्दै आएका छन ।
जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदा दिलिप पौडेल बाहेक अन्य मनोनित भएका सवैजनाले महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । पछि प्रकाश बसन्त, पार्वती, जगन्नाथ र यमलालले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए । आफ्नो उम्मेदवारी फिर्ता गरेपछि पुन केन्द्रीय कार्यसमितिबाट मनोनित भएको प्रति जिल्लाका नेता तथा कार्यकर्ताले यसमा टिप्पणी समेत गरेका छन । उनिहरुले अधिवेशनबाट बाहिरिएर पुन मनोनित भएको प्रति असन्टुष्टी समेत पोखेका छन ।
क्षेत्र नं. २ बाट काँग्रेस बागलुङका कार्यबाहक सभापती तारानाथ आचार्य र घमबहादुर थापा मगरलाई महाधिवेशन प्रतिनिधिको रुपमा मनोनित गरिएको छ । काँग्रेसको महाधिवेशन निर्वाचन समितीले मंगलबार विहान सार्वजनिक गरेको मनोनित महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ मा दुई जना पार्वती आचार्य र जगन्नाथ आचार्यको मात्र नामावली समावेश गरिएको थियो । साँझ प्रकाशित गरिएको अन्तिम नामावलीमा प्रकाश पौडेल, बसन्त कुमार श्रेष्ठ, दिलिप पौडेल र यमलाल कंडेलको नाम समावेश गरिएको छ । क्षेत्र नं. २ मा समावेश गरिएको भिमकुमारी क्षेत्रीको नामावली साँझ भने काटिएको छ । यस क्षेत्रमा तारानाथ र घमबहादुरको नाम समावेश गरिएको छ ।
सभापतीबाट मनोनित सहित बागलुङबाट केन्द्रीय महाधिवेशनमा सहभागी हुने क्षेत्र नं. १ बाट ४६ क्षेत्र नं. २ बाट ४५ जना कुल ९१ जना महाधिवेशन प्रतिनिधि हुने भएका छन । जिल्लाबाट केन्द्रीय कार्यसमितिका लागि भने डेढ दर्जन नेताहरुले आफ्नो घोषणा गरेका थिए । ति मध्ये दर्ता क कसले गरे त्यो विवरण आउन बाँकी रहेको छ ।