बागलुङ । जिल्लाका हरके विषयगत कार्यालयका बार्षिक कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वय गर्नुपर्ने सरोकारवालाले बताएका छन । जिल्ला समन्वय समिति बागलुङले बुधबार देखी बागलुङमा आयोजना गरेको आर्थिक वर्ष २०८२।०८३ को बार्षिक प्रगती समिक्षा गोष्ठीमा सहभागीले सो कुरा बताएका छन । सहभागी सरोकारवालाले विशेष गरी विकास निर्माणका कार्यक्रमलाई अझै प्राथमिकतामा राखेर चुस्त दुरुष्त ढंगले कार्यान्वय गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीले सडक पुर्वाधार निर्माणका क्रममा भै राखेका संरचना विग्रिएको र त्यसको पूर्ननिर्माणका निम्ती सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका थिए । सहभागीले पछिल्लो समयमा बाढि र पहिरोका कारण जिल्लाका मुख्य सडकका साथै ग्रामिण सडकहरु पनि क्षतविक्षत भएका कारण त्यसको मर्मत संभारका निम्ती सम्बन्धित कार्यालय जोड गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य सोम शर्माले केही दिन पहिले जिल्लामा आएको विपत्तिबाट भएको क्षतीको पूर्न निर्माणका लागि प्रदेश स्थानिय सरकार र संघिय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । उनले जिल्ला स्तरीय प्रगति समिक्षा गोष्ठी जिल्लाको सवै वस्तुस्थिती बुझ्ने कार्यक्रम भएको हुँदा यहाँबाट भावी कार्ययोजना पनि कोरिने बताए । शर्माले जनताका हरेक आवश्यकता पुरा गर्नका निम्ती तिन तहकै दायित्व भएको बताए । “संघ प्रदेश र स्थानिय सरकार विच समन्वय हुन जरुरी रहेको छ ।, नागरिकका समस्यालाई सवैभन्दा सिरमा राखेर हामीले काम गर्नुपर्दछ शर्माले भने,–‘ नागरिकप्रति उत्तरदायि भयौ भने हामी सवैको लक्ष्य प्राप्त हुनेछ । यहाँ सवै जनताको काम गर्न आएका हौं यो त्यो र उ नभनि जनताकै काममा तल्लिन बनौं । ” उनले अन्तर समन्वयमा समस्या आउन नहुने बताए । यदी तिन तहको सरकारमा समन्वयको समस्या आएमा नागरिकलाई यसको असर पर्ने उनको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाले नागरिकका समस्यालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने बताईन । उनले सवै नागरिकलाई समान हेसियतमा राखेर सवै कार्यालयले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जिल्ला स्थित सवै कार्यालयले गरेका प्रगतीको समिक्षाले आगामी कार्यदिशा तय गर्ने बताए ।
तिन दिन सम्म संचालन हुने गोष्ठीमा जिल्ला स्थित स्थानियतहहरु, संघिय तथा प्रादेशिक कार्यालयहरु र गैर सरकारी संस्थाहरुद्धारा आर्थिक वर्ष २०८२।०८३ मा संचालित विकास निर्माण तथा कार्यक्रमको प्रगति समिक्षा तथा आगामी योजना समेत निर्माण गरिने छ ।
पहिलो दिन जिल्ला समन्वय समितिको कार्यालय, पूर्वाधार विकास कार्यालय, सधन सहरी कालिगण्डकी करिडोर आयोजना, मध्यपहाडी लोकमार्ग खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लगायतका १८ वटा कार्यालयले आफ्नो बार्षिक प्रगती प्रस्तुत गरेका थिए । विहिबार बाँकी कार्यालय र स्थानिय तहको प्रस्तुती हुने छ भने शुक्रबार गैरसरकारी संस्थाको प्रस्तुतीकरण हुने जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्माले जानकारी दिए ।
गोष्ठीको अवसरमा जिल्लामा उत्कृष्ट हुने सरकारी कार्यालय र स्थानिय तहलाई सम्मान गरिएको छ । सरकारी कार्यालय अन्तरगत संघिय कार्यालय तर्फ राष्ट्रिय कृषि आधुनिकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाइ बागलुङ र प्रादेशिक कार्यालय तर्फ प्रदेश जनस्वास्थ्य कार्यालय उत्कृष्ट भएका छन । जिल्लामा भएको अनुगमन निरिक्षणको क्रममा कार्य सम्पादन, सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा जिल्ला समन्वयको अनुगमनका क्रममा उत्कृष्ट देखेपछि सम्मान गरेको हो ।
त्यसैगरी जिल्लामा दश स्थानिय तहमध्ये गलकोट नगरपालिका र तमानखोला गाउँपालिका उत्कृष्ट भएका छन । स्थानिय तहको वित्तिय अवस्था मूल्याङ्कनका लागि तयार गरिएका सूचकका आधारमा एक नगरपालिका र एक गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।
कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक अमरबहादुर थापाको अध्यक्षता, उपसंयोजक होमनाथ सापकोटाको स्वागत र सूचना अधिकारी दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।