☰

सहिद थिरबमका नाती मञ्जेश कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

  • असोज २१, २०८३

बागलुङ ।  नेपाली कांग्रेसको  १५औँ महाधिवेशन काठमाण्डौंमा जारी रहेको छ । आइतबार देखी सुरु भएको महाधिवेशनमा यति बेला केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गरेर आफ्नो पक्षमा भोट माग्नेको भिड नै रहेको देखिन्छ । यही भिडमा छन २००७ सालका सहिद थिरबम मल्लका नाती मञ्जेशबम मल्ल । उनि केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन् ।

बागलुङको गलकोट नगरपालिका–५ का मल्लले सहिद परिवार क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । मञ्जेश २००७ सालको प्रजातान्त्रिक आन्दोलनका सहिद थिरबम मल्लका नाती हुन् । थिरबम मल्ल नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने अग्रणी व्यक्तित्व मध्येका एक थिए । सहिद थिरबमको राजनीतिक योगदान र बलिदानसँग जोडिएको मल्ल परिवारको कांग्रेससँगको सम्बन्ध पुस्तौँदेखि निरन्तर रहँदै आएको छ ।
मञ्जेशको जीवनमा भने राजनीतिक संघर्षसँगै द्वन्द्वको पीडा पनि जोडिएको छ । सशस्त्र द्वन्द्वका क्रममा उनका पिता माधवबम मल्ललाई तत्कालीन माओवादीले गोली हानी हत्या गरेको थिया े। पिताको हत्यापछि मल्ल परिवार विस्थापित हुनुपरेको थियो ।  माधवबम मल्लको हत्या भएको स्थान आज पनि मल्ल परिवारका लागि पीडाको गहिरो सम्झना बनेर रहेको छ । स्थानीयका अनुसार उनको हत्या भएको स्थानमा लामो समयदेखि जमिनको एउटा भाग अस्वाभाविक रूपमा खाली छ । वरिपरि हरियाली भए पनि त्यहाँ घाँससमेत नउम्रिएको दृश्यले मल्ल परिवारले भोगेको पीडा र द्वन्द्वको त्रासदीलाई अझ मार्मिक बनाउने गरेको छ । त्यो खाली ठाउँ मञ्जेशका लागि केवल एउटा जमिनको टुक्रा होइन, बुबाको रगत, परिवारले भोगेको विस्थापन र हिंसाको कहिल्यै नमेटिने सम्झना बनेको छ ।

शान्ति प्रक्रियापछि मञ्जेश पुनः आफ्नो गाउँ फर्किए । उनले ऐतिहासिक गलकोट दरबारको संरक्षण तथा मर्मतसम्भार गर्दै त्यहीँ बसेर दरबारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास गरिरहेका छन् । ऐतिहासिक सम्पदाको संरक्षणसँगै उनी कांग्रेसको राजनीतिमा पनि निरन्तर सक्रिय रहँदै आएका छन् ।

मल्ल परिवारको राजनीतिक इतिहास पनि कांग्रेससँग लामो समयदेखि जोडिएको छ । उनका जिजुबुवा भरतबम मल्लले चौबिसे राज्यअन्तर्गत रहेको गलकोट राज्यको राजगद्दी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनले २०१५ सालको निर्वाचनमा विजयी हुँदै संसदीय राजनीतिमा प्रवेश गरेका थिए । उनकै अगुवाइमा कांग्रेसले २०१५ सालमा राजारजौटा हटाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको बताइन्छ।
राज्यसत्ताको परम्परागत विरासत त्यागेर प्रजातान्त्रिक आन्दोलनमा होमिएको मल्ल परिवारको चौथो पुस्ताका प्रतिनिधिका रूपमा मञ्जेश अहिले कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने प्रयासमा छन् ।  मञ्जेशको उम्मेदवारीलाई कांग्रेसका नेता तथा कार्यकर्ताले केवल एउटा राजनीतिक उम्मेदवारीका रूपमा नभई मल्ल परिवारले पुस्तौँदेखि बोकेको राजनीतिक योगदान, सहिदको बलिदान र द्वन्द्वपीडित परिवारको पीडाको सम्मानका रूपमा लिनुपर्ने बताएका छन । 

बागलुङ क्षेत्र नं. २ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका मल्लले पार्टीभित्र सहिद तथा द्वन्द्वपीडित परिवारको आवाजलाई संस्थागत रूपमा उठाउने अपेक्षा गरिएको छ ।
काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सहिद परिवारको तर्फबाट मल्लसहित पाँच जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । बागलुङबाट केन्द्रीय सहमहामन्त्री पदमा डिल्लीराम सुवेदीसहित अन्य १९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दताए गराएका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय