बागलुङ — जिल्लाका १० स्थानीय तहमध्ये गलकोट नगरपालिका र तमानखोला गाउँपालिका उत्कृष्ट स्थानीय तह घोषित भएका छन् । जिल्ला समन्वय समिति बागलुङले स्थानीय तहको वार्षिक कार्यक्रम कार्यान्वयन तथा वित्तीय अवस्थाका आधारमा मूल्याङ्कन गर्दा नगरपालिका तर्फ गलकोट र गाउँपालिका तर्फ तमानखोलालाई उत्कृष्ट घोषणा गरेको हो ।
जिल्ला समन्वय समितिको कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम कार्यान्वयन, वित्तीय प्रगति तथा बेरुजुको अवस्था लगायतका सूचकका आधारमा जिल्लाका सबै स्थानीय तहको मूल्याङ्कन गरेको थियो । मूल्याङ्कनमा गलकोट नगरपालिका र तमानखोला गाउँपालिका आ–आफ्नो समूहमा उत्कृष्ट भएका हुन् ।
समन्वय समितिले स्थानीय तहको मूल्याङ्कनका लागि विभिन्न ७ वटा सूचक निर्धारण गरेको थियो । कानुनले तोकेको समयमा गाउँ तथा नगरसभाबाट बजेट पेश तथा पारित भए÷नभएको, आर्थिक वर्ष २०८२/८३ को पुँजीगत खर्च प्रगति, आन्तरिक राजस्व संकलनको प्रगति प्रतिशत, कुल खर्च प्रगति, आर्थिक वर्ष २०८१/८२ को बेरुजु प्रतिशत, गत आर्थिक वर्षको अन्त्यसम्म असुलउपर हुनुपर्ने बेरुजु रकममध्ये असुलउपर भएको प्रगति तथा हालसम्मको कुल सञ्चित बेरुजुको अवस्थालाई मूल्याङ्कनको आधार बनाइएको थियो ।
जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गाप्रसाद शर्माका अनुसार जिल्लाका सबै १० स्थानीय तहलाई समान सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो । मूल्याङ्कनमा नगरपालिका तर्फ गलकोट नगरपालिका र गाउँपालिका तर्फ तमानखोला गाउँपालिका उत्कृष्ट भएका हुन् । जिल्ला समन्वय समितिले वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा उत्कृष्ट स्थानीय तहलाई सम्मानसमेत गरेको छ ।
गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरपालिकाले वर्षभरि सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा जनमुखी कार्यक्रमको प्रभावकारी कार्यान्वयनलाई उत्कृष्ट नतिजाको आधारका रूपमा लिन सकिने बताएका छन् । नगरपालिकाले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै योजना तथा कार्यक्रमलाई निर्धारित समयमै कार्यान्वयन गर्ने, नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने तथा विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उनको भनाइ छ ।
नगरपालिकाले वित्तीय अनुशासन, पारदर्शिता र कार्यसम्पादनलाई प्राथमिकता दिँदै वार्षिक कार्यक्रम कार्यान्वयनमा सुधार गर्दै आएको नगर प्रमुख गैरेले बताए । स्थानीय तहको समग्र मूल्याङ्कनमा गलकोट उत्कृष्ट हुनु नगरपालिकाको समग्र टिमको कार्यसम्पादन र निरन्तर प्रयासको परिणाम भएको गैरेको भनाई रहेको छ । यसमा सवै कर्मचारी र जनप्रतिनिधिको प्रयासले उत्कृष्ट हुन सफल भएको नगरप्रमुख गैरेले बताए ।
नगरपालिकाले बेरुजु घटाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको हुँदा आज जिल्लामा नै उत्कृष्ट बन्न सफल भएको नगरपालिकाका प्रमुखन प्रशासकिय अधिकृत डम्बर बहादुर जि.सीले बताए । विगतमा देखिएका बेरुजुको नियमित फछ्र्योट, आवश्यक कागजात तथा प्रमाण जुटाउने, लेखा प्रणालीलाई व्यवस्थित बनाउने र आगामी दिनमा बेरुजु सिर्जना हुन नदिने गरी कार्यालय व्यवस्थापनमा सुधार गरिएको उनले बताए ।
“बेरुजु घटाउनुका साथै वित्तीय अनुशासन कायम गर्न नियमित अनुगमन, कागजात व्यवस्थापन र जिम्मेवारी अनुसार काम गर्ने प्रणालीलाई प्रभावकारी बनाएका छौँ,” प्रमुख प्रशासकीय अधिकृतले भने –यसलाई हामी निरन्तरता दिनेछौं । नगरपालिकालाई उत्कृष्ट बनाउने भुमिका जनप्रतिनिधि र कर्मचारी सवैको रहेको छ ।
उनका अनुसार विकास निर्माणका योजना कार्यान्वयन, कार्यालय व्यवस्थापन, आर्थिक प्रशासन तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लगिएको छ । नगरपालिकाले विकास निर्माणका काममा गुणस्तर र समयलाई प्राथमिकता दिनुका साथै आर्थिक पारदर्शिता कायम गर्ने प्रयास गरिरहेको उनले बताए ।

गलकोट नगरपालिका बेरुजु कम हुने स्थानीय तहमध्ये जिल्लामै अगाडि रहेको छ । बेरुजु न्यूनीकरणका लागि गरिएको निरन्तर प्रयास, पुरानो बेरुजु फछ्र्योट तथा नयाँ बेरुजु हुन नदिने कार्यप्रणालीले वित्तीय अवस्थालाई सुधार गर्न सहयोग पुगेको नगरपालिकाले जनाएको छ ।
जिल्ला समन्वय समितिले तय गरेका वित्तीय तथा कार्यसम्पादनका सूचकमा राम्रो नतिजा ल्याउँदै नगरपालिका तर्फ गलकोट उत्कृष्ट बन्न सफल भएको हो । उत्कृष्ट पालिकाको सम्मानले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र वित्तीय अनुशासन कायम गर्दै अघि बढ्न थप जिम्मेवारीबोध भएको नगरप्रमुख गैरेले बताए ।
गाउँपालिका तर्फ तमानखोला गाउँपालिका उत्कृष्ट भएको छ । जिल्ला समन्वय समितिले गरेको मुल्याङ्कनमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको बताईएको छ ।
समन्वय समितिले जिल्लामा दुई कार्यालयलाई पनि उत्कृष्ट घोषणा गरेको छ । संघिय कार्यालय तर्फ राष्ट्रिय कृषि आधुनिकरण परियोजना कार्यक्रम कार्यान्वयन इकाइ बागलुङ र प्रादेशिक कार्यालय तर्फ प्रदेश जनस्वास्थ्य कार्यालय उत्कृष्ट भएका छन ।