☰

पत्रकार महासङ्घ बागलुङमा १० लाखको लेखनवृत्ति कोष स्थापना

  • असोज २६, २०८३

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले खोजी र विश्लेषणात्मक समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले १० लाख रुपियाँको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ ।

पहिलो चरणको अभियानबाट १० लाख रुपियाँको लक्ष्य पूरा गरी कोष सञ्चालनमा ल्याइएको शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले जानकारी दिए । 

विसं २०८१ मङ्सिर २८ गते भएको शाखाको आठौँ अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको पहिलो बैठकले पत्रकार लेखनवृत्ति कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय बमोजिम विसं २०८१ माघ २६ मा औपचारिक समारोहमार्फत लेखनवृत्ति कोषको घोषणा गरिएको थियो । शाखाका पदाधिकारी र सदस्यहरूबाट योगदान रकम जम्मा गरी सुरु गरिएको उक्त कोषमा स्वतःस्फूर्त रूपमा अन्य दाताहरूको पनि सहयोग जुटेको कोषाध्यक्ष गौतमले बताए  । 

उहाँका अनुसार शुभेच्छुक सङ्घसंस्थाहरूबाट कोषमा सहयोग प्राप्त भएको हो । शाखाका सचिव नारायण रिजालले कोषबाट आउने ब्याज रकमबाट बागलुङलाई कार्यक्षेत्र बनाई खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई ५० हजार रुपियाँका दरले लेखनवृत्ति प्रदान गरिने बताए ।

कोष सञ्चालनका लागि कार्यविधि निर्माणको काम भइरहेकाले यथाशक्य चाँडो लेखनवृत्ति प्रदान गरिने उनको भनाइ छ । लेखनवृत्ति छनोटका लागि विज्ञ सम्मिलित समिति गठन हुने र सोही समितिले गरेको निर्णयका आधारमा लेखनवृत्ति प्रदान गरिने सचिव रिजालले बताए । 

शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रकारिता क्षेत्रको गुणात्मक विकास सँगसँगै खोज पत्रकारिताप्रति आकर्षण बढाउने उद्देश्यले लेखनवृत्ति कोषको अवधारणा ल्याइएको बताए ।

“सार्वजनिक सरोकारका विषयमा प्रभावशाली रिर्पोटिङ गर्ने पत्रकारलाई लक्ष्य गरी लेखनवृत्ति कोषको स्थापना गरिएको हो”, उनले भने, “यसबाट पत्रकारहरुबिच खोजी रिर्पोटिङमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत हुनेछ ।”

प्रतिक्रिया