म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।
प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।
चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।
म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।
सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।
मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो ।
घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् ।
प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।
पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।
अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।
(पोखरामा विमान दुर्घटना भएकोस्थल नजिकैका बासिन्दा बस्यालसँग अनलाइनखबरकर्मी विकास रोका मगरले गरेको कुराकानीको सम्पादित अंश)