नारायण रिजाल, बागलुङ - बैशाख महिनाको टंटलापुर घाम, जस्ताले छाएको सानो छाप्रो, हातमा गुलेली (मट्याङ्ग्रा), नजिकै कालो भोटे कुकुर, नजर भने मकैबारीतिर । यो दृश्य कुनै चलचित्रको होइन, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी हो ।
हरेक बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म उनको एउटै जिम्मेवारी बनेको छ —बाँदर धपाउने । बाँदरको आतंकले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा यस्तै ‘डियुटी’मा खटिँदै आएका छन् । “बाँदर आयो भने म एक्लैले धपाएर सक्दिनँ, कुकुरको सहारा लिनुपर्छ,” उनी भन्छन्, “कतिपटक त कुकुरलाई पनि टेर्दैनन् ।”
सिरुबारीको गैराबारी खेतमा उनको करिब सात मुरी मकै फल्ने जमिन छ । वरपरका छिमेकीका खेतबारीमा पनि राम्रो उत्पादन हुने हुन्छ । उनको खेत अलि छेउमा परेको हुँदा बाँदर आतंकबाट मकै जोगाउन लक्ष्मीदत्त नै अग्रसर हुनपर्दछ । पछिल्ला चार÷पाँच वर्षदेखी बाँदरको बथानले खेतमा पाक्न लागेको अन्नबाली सखाप पार्न थालेपछि लक्ष्मीदत्त मात्र हैन यहाँका अन्य किसानलाई पनि हैरानी भएको छ ।
लक्ष्मीदत्तका अनुसार बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेका छन् । “मेहनत गरेर लगाएको बाली र फलफुल आँखा अगाडि नष्ट हुँदा मन रुन्छ,” उनी भन्छन् । मकै उम्रिएपछि नै बाँदरले लुछ्न थाल्छ अनि पहरा लागउनुने प¥यो एकछिन छाड्ने हो भने सवै विद्यंस बनाउँछ । कुन दिशाबाट आउँछ पत्तो नै हुँदैन हामीलाई त हैरानी बनाएको छ लक्ष्मीदत्तले भने ।
उनका अनुसार बाँदर बिहान सबेरैदेखि साँझसम्म खेतबारीमा पुगेर दुःख दिन्छन् । त्यसैले श्रीमान–श्रीमतीले खाना खाने समयसमेत पालो मिलाउनुपर्छ । एकजना खेत हेर्न बस्दा अर्कोले खाना खान्छ । “खाना खाने बेला पनि ढुक्क छैन,” उनी भन्छन्, “कुकुरले संकेत गर्छ, बाँदर आयो भनेर । ठुलो बथान आयो भने एक्लै धपाउन पनि सकिँदैन बाँदरकै कारण कुकुर पाल्नुपरेको छ ।” उनले एउटा गाईको बाच्छालाई भन्दा बढि अन्नपानी दिएर कुकुर पाल्नुपरेको सुनाए ।
केही वर्ष पहिले नजिकैको भडार गाउँबाट सिरुबारी सरेका लक्ष्मीदत्तको परिवारमा अहिले श्रीमान–श्रीमती र जेठो छोरा मात्र गाउँमा छन् । अन्य छोराहरू परिवारसहित बसाइँसराइ गरेर अन्यत्र गइसकेका छन । गाउँका धेरै घर पनि यस्तै गरी रित्तिएका छन् । उनी भने गाउँ छोड्ने पक्षमा छैनन् ।
“जति दुःख भए पनि जन्मेको गाउँ छोड्दिनँ,” उनी दृढ सुनिन्छन्, “तर बाँदरका कारण धेरै जमिन बाँझो राख्नुपर्ने अवस्था आएको उनेको गुनासो रहेको छ ।
‘वन बढे, बाँदर बढे, किसान घटे’
पछिल्ला समयमा गाउँघरवरीपरी खेतबारीमा समेत रुखहरु भरिँदै जाँदा बाँदर आतंक झनै बढ्दै गएको स्थानियको भनाई रहेको छ । यस क्षेत्रमा बढ्दो बसाईसराईको प्रभाव समेत रहेको हुँदा खेतीयोग्य जमिन बाँझो हुँदै गएको रुख बुट्यानहरु बढ्दै गएका कारण बाँदरले झन् खुला अवसर पाएका छन ।
सिरुबारी र आसपासका क्षेत्रमा बाँदर आतंक अहिले किसानका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् भने कतिपय उत्पादन हुने आशा नगरी पनि बाध्यतावश खेती गरिरहेका छन् ।
बाँदर बंगैचा बनाउने तयारीमा जैमिनी
जैमिनी नगरपालिकाका सवै वडामा बाँदर आतंकले हैरानै बनाएको छ । स्थानिय तहका जनप्रतिनिधि होस वा अन्य सवैका मुद्धा नै बाँदर आतंक कम गर्ने बन्छन तर केही निती तथा कानुनी अपठ्याराले भने यो सहज नभएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन । जैमिनी नगरपालिकाले ४ वर्ष पहिले नै बाँदर नियन्त्रणका लागि जैमिनी नगरपालिका वडा नं. ८ मा रहेको पुरानो गाउँको जंगलमा बाँदर बंगैचा बनाउनका निम्ती सम्भावना अध्ययन गरेको थियो । नगरपालिका र गण्डकी प्रदेशको तत्कालिन पर्यटन तथा वन मन्त्रालयबाट केही रकम छुट्टिएर केही संरचना समेत बनाउने तयारी भयो । तर त्यो योजना सफल हुन धेरै समय लाग्ने अनुमान गरिएको छ । नगरपालिकाले २७ करोडको डीपीआर तयारी गरेर केही काम पनि अगाडी बढायो । विभिन्न अध्ययन र योजना तयार गरिएको छ । तर ठुलो रकम लाग्ने कानुनी समस्याका कारण समस्या भै रहेको छ उपप्रमुख शर्माले भने ।
उनले बाँदरलाई निश्चित क्षेत्रमा केन्द्रित गर्ने अवधारणासहित पर्यटकीय पूर्वाधार निर्माणको डीपीआर तयार गरिएको बताए । पुरानो गाउँको पल्लो भागमा ‘बाँदर बगैँचा’ निर्माण गर्ने, रंगशाला लगायतका संरचना बनाउने र बाँदरका लागि आवश्यक खानेकुरा तथा पानीको व्यवस्थापन गर्ने योजना बनाइएको थियो । “बाँदर व्यवस्थापनका लागि करिब २०–२५ हजार बाँदरलाई लक्षित गरी अवधारणा अघि सारिएको थियो, पानीका लागि पोखरी निर्माण गर्ने योजना पनि थियो,” शर्मा भन्छन्, “तर कानुनी जटिलताका कारण काम अघि बढ्न सकेन । ”
बाँदर आतंक कम गर्न रुखकाट्ने अभियान तर कानुनी जटिलता
नगरपालिकाले बाँदर नियन्त्रणका निम्ती विभिन्न उपायहरु पनि प्रयो गर्ने विषयमा छलफल भएको शर्माले बताए । जैमिनी–१ का वडा अध्यक्ष विष्णु आचार्यले बाँदर नियन्त्रणका लागि वडा कार्यालयले विभिन्न विकल्पमा काम गर्न खोजेको बताए । “नगरपालिकासँग समन्वय गरेर धेरै प्रयास गरियो,” उनले भने, “तर कुनै पनि उपाय प्रभावकारी हुन सकेन।” आचार्यका अनुसार बाँदर लुक्ने झाडी तथा बुट्यान हटाउने अभियान सञ्चालन गर्ने तयारीसमेत गरिएको थियो । टोल भेलाले निर्णय गरेर अगाडि बढ्न खोजिए पनि कानुनी समस्याका कारण कार्यान्वयन हुन सकेको छैन । “केही कानुनी जटिलताका कारण बाँदर आतंक नियन्त्रण गर्न निकै कठिन भएको छ,” आचार्यले बताए ।
बाँदर आतंककै कारण जैमिनीका केही बस्तीहरु नै बसाइसराइको प्रभावमा परेका छन । खेतमा बाली लगाउनेभन्दा त्यसलाई जोगाउन बढी समय खर्चिनुपर्ने अवस्था छ । राज्यका विभिन्न निकायले समाधान खोज्ने आश्वासन दिए पनि किसानले अहिलेसम्म राहतको अनुभूति गर्न सकेका छैनन् ।