बागलुङमा एचआईभी संक्रमित बढे 

  • ब‌ैशाख १९, २०८०

बागलुङ -     बागलुङमा एच.आई.भी. संक्रमितको संख्या बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संक्रमितको पहिचाहन हुने दर बढ्दै गएको हो । जिल्लामा हाल कुल १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन । अघिल्लो वर्षको असार मसान्त सम्म कुल १ सय ६९ संक्रमित रहेको यस आर्थिक वर्षको फागुन मसान्त सम्म १२ जना संक्रमित धौलागिरी अस्पताल एआरटी सेन्टरका प्रमुख प्रदिप आचार्यले जानकारी दिए । संक्रमित मध्ये सवै भन्दा बढि बागलुङ नगरपालिकामा ८९ जना रहेका छन भने सवै भन्दा कम बरेङ गाउँपालिकमा १ जना रहेका छन । 
    एआरटी सेन्टरको तथ्यांक अनुसार काठेखोला गाउँपालिकामा २२ जना संक्रमित रहेका छन भने ताराखोला गाउँपालिकामा ७ जना संक्रमित रहेका छन । त्यसै निसीखोलामा ६ जना, तमानखोलामा ३ जना, बडिगाडमा १० जना, ढोरपाटन नगरपालिकामा ५ जना, गलकोट नगरपालिकामा १९ जना र जैमिनी नगरपालिकामा १६ जना रहेको एआटी प्रमुख आचार्यले जानकारी दिए । जिल्ला भित्र बसोबास गर्ने र अन्य जिल्ला ठेगाना भएका ३ जना संक्रमित रहेका छन ।  
    संक्रमित मध्ये पुरुष भन्दा महिला नै बढि रहेका छन । जिल्लामा कुल ७९ जना पुरुष संक्रमित रहेका छन ९६ जना महिला संक्रमित रहेका छन । यहाँ रहेको एचआईभी संक्रमितको क्षेत्रमा काम गर्ने धौलागिरी पोजेटिभ समुह मार्फत २१ जना बालबालिकाले सेवा लिएका छन जसमा बागलुङका ६ जना बागलुङका रहेका छन भने अन्य छिमेकी जिल्लाका बालकालिका रहेको धौलागिरी पोजेटिभ समुहका अध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए । 
    संस्थाले संचालन गरेको कावा कार्यक्रम अन्तरगत संक्रमित बालबालिकाका लागि मासिक १ हजार रुपैयाँ सहयोग गर्दै आएको छ । संक्रमित बालबालिकाको पोषण र अन्य सुविधाका लागि संस्थाले राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल साझेदारीमा सेभ द चिल्डेन र ग्लोबल फण्डको सहयोगमा कावा कार्यक्रम संचालन गर्दै आएको छ । धौलागिरी अस्पतालमा एआरटी सेवा लिन आउने संक्रमितका लागि खान बस्नको समेत व्यवस्था गर्न पोजेटिभ समुहले हेरचाह केन्द्र संचालन गर्दै आएको संस्थाका अध्यक्ष खत्रीले बताए । ‘हामीले कावा कार्यक्रम सँगै हेरचाह केन्द्र पनि सँगै संचालन गरेका छौं, बालबालिकाको खातामा मासिक रुपमा १ हजारका दरले राखिदिन्छौं । अन्यका लागि हेरचाह केन्द्रमा खाना बस्नको व्यवस्था गरेका छौं । उहाँहरु अस्पतालमा आउँदा यहाँ बस्नुहुन्छ । संस्थाका कर्मचारी संग समन्वय गरेर सेवा लिएर फर्कनुहुन्छ ।’ जिल्लामा संक्रमित सवैले नियमित एआरटी लिएका छन ।
     संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण अहिले पनि थुप्रै एचआईभी संक्रमितहरुले खुलेर जीवन जिउन नपाएको उनको भनाई छ । समाजमा संक्रमितका लागि अझै पनि लान्छना तथा भेदभाव रहेको खत्री बताउँछन । ‘ म आफै पनि नेपाल प्रहरीको जागिरे थिए । त्यहाँ पनि विभेद हुने डरले जागिरबाट अवकास लिएँ खत्री भन्छन्, मैले त बल्ल तल्ल हिम्मत जुटाएर सार्वजनिक भएँ तर म जस्ता कैयौं एचआईभी संक्रमितहरु अहिले पनि समाजको डरले खुल्न सकेका छैनन् ।’ संक्रमितलाई समाजले हेर्ने नजर गलत हुँदा एचआईभी संक्रमितहरुले रोग लुकाएर राख्ने गरेको र त्यसले भित्रभित्रै भयानक रुप लिने गरेको उनको बुझाई छ ।
विगतका समयमा भन्दा संक्रमितहरु खुल्दै गएको र संख्या पनि बढदै गएको स्वास्थ्य कार्यालय बागलुङका एचआईभी एड्स फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । समाजले गर्ने छिःछि र दुरःदुरको व्यवहारले अधिकाँस रोग लुकाएर बस्ने गरेका छन् । घिमिरेले भने, तै पनि हाम्रा स्वास्थ्यकर्मीको नियमित परामर्शले पछिल्लो समयमा केही खुल्नेको दर पनि बढदै गएको छ । एचआईभी एड्स हुँदैमा जीवन समाप्त हुन्छ भन्ने सोच अझै पनि केहीमा रहेको र समाजले हेर्ने दृष्टीकोणका डरले संक्रमितहरु खुल्न डराएको उनले बताए । विषेशत धेरैजसो असुरक्षित यौन व्यवहारका कारण एचआईभी संक्रमित हुने गरेको पाईएको उनको भनाई छ । समाजमा एचआईभी कसरी सर्छ र कसरी सर्दैन भन्नेबारेमा भ्रमहरु रहेका कारण पनि संक्रमित हुनेहरुको संख्या बढि हुने घिमिरे बताउँछन । 
एचाईभी एड्सको न्युनिकरणका निम्ती स्वास्थ्य कार्यालय, धौलागिरी अस्पताल, एआरटी सेन्टर, धौलागिरी पोजेटिभ समूह र एड्स हेल्थ केयर फाउण्डेशन तथा स्थानीय तहले नियमित क्रियाकलापहरु गर्दै आएका छन । 
संघियता लागु भए सँगै सवै अधिकार स्थानिय तहमा गए पश्चात एचआईभि एड्स न्युनिकरणका काम कम हुन लागेको पिडितहरुको गुनासो रहेको छ । जिल्लाका १० स्थानिय तह मध्ये अहिले सम्म ४ वटा स्थानिय तहले मात्र केही कार्यक्रमका लागि सहयोग गरेको खत्रीले बताए । 
 

प्रतिक्रिया