सामीको सहजीकरणमा ४९ उजुरी समाधान, १ करोड ९४ लाख आर्थिक सहायता

  • असार १०, २०८३

बागलुङ- वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोगेका पीडितका लागि सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङ ‘साथी’ बनेको छ। सामी कार्यक्रम मार्फत जिल्ला प्रशासन कार्यालय बागलुङसँग समन्वय गरी निःशुल्क कानुनी सहायता तथा सहजीकरण सेवा प्रदान गरिँदै आएको छ । स्रोत केन्द्रको सहजीकरणमा पीडितहरूले चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म १ करोड ९४ लाख ८ हजार ४४ रुपैयाँ आर्थिक सहायता प्राप्त गरेका छन् ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म स्रोत केन्द्रमा कानुनी सहायता तथा सहजीकरणका लागि परेका ९८ वटा उजुरीमध्ये ४९ वटा उजुरी समाधान भएका छन्। ती उजुरीमार्फत पीडितहरूले उक्त रकम आर्थिक सहायताका रूपमा प्राप्त गरेका हुन् ।

विशेषगरी वैदेशिक रोजगारीका क्रममा ठगिएका, बिरामी परेका तथा मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन कार्यक्रममार्फत सहजीकरण गरिँदै आएको छ ।

यस वर्ष बागलुङ नगरपालिकामा परेका ३० उजुरीमध्ये ९ वटा समाधान भई २९ लाख ६० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध भएको छ । त्यसैगरी जैमिनी नगरपालिकामा परेका १८ उजुरीमध्ये १० वटा समाधान भई ६३ लाख ७२ हजार ४२८ रुपैयाँ, काठेखोला गाउँपालिकामा परेका १५ उजुरीमध्ये ९ वटा समाधान भै २१ लाख ५९ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध भएको सामी कार्यक्रमका जिल्ला संयोजक मीनप्रसाद उपाध्यायले जानकारी दिए।

कार्यक्रममार्फत ताराखोला गाउँपालिकामा परेको १ उजुरी शतप्रतिशत समाधान भई १ लाख २८ हजार १९ रुपैयाँ आर्थिक सहायता उपलब्ध भएको छ । बडीगाड गाउँपालिकामा परेका ४ उजुरीमध्ये २ वटा समाधान भै ३८ हजार ९९७ रुपैयाँ आर्थिक सहायता उपलब्ध भएको छ। त्यसैगरी निसीखोला गाउँपालिकामा परेका २ उजुरीमध्ये १ वटा समाधान भई २ लाख ६२ हजार ३८३ रुपैयाँ तथा बरेङ गाउँपालिकामा परेका ३ उजुरीमध्ये २ वटा समाधान भई १ लाख ४१ हजार ६६९ रुपैयाँ आर्थिक सहायता उपलब्ध भएको उपाध्यायले बताए ।

जिल्लाका अन्य स्थानबाट परेका ८ उजुरीमध्ये सबै उजुरी समाधान भै ७३ लाख ४५ हजार ५४८ रुपैयाँ आर्थिक सहायता उपलब्ध भएको छ । यसरी चालु आर्थिक वर्षमा कुल १ करोड ७१ लाख ८ हजार ४४ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउन सामी कार्यक्रमले सहजीकरण गरेको हो ।

यसबाहेक गलकोट नगरपालिकामा परेका १४ उजुरीमध्ये ४ वटा समाधान भएका छन् भने ढोरपाटन नगरपालिकामा परेका २ उजुरीमध्ये १ वटा समाधान भएको छ। त्यसैगरी तमानखोला गाउँपालिकामा परेको १ उजुरी भने हालसम्म समाधान हुन सकेको छैन।

नगरपालिका तथा गाउँपालिकाका रोजगार शाखा, आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सामी कार्यक्रमले आर्थिक सहायता उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन कार्यक्रमले खेलेको भूमिकाबाट लक्षित व्यक्ति तथा पीडित परिवारले राहत महसुस गरेका छन्।

सामी कार्यक्रममार्फत यस वर्ष २ हजार ५७८ महिला र ३ हजार ४३८ पुरुष गरी कुल ६ हजार १६ जनालाई सूचना प्रवाह तथा परामर्श सेवा प्रदान गरिएको छ । जसमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकाका १ हजार ९१८ जनाले सेवा लिएको स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता जनक गैरेले जानकारी दिए ।  वैदेशिक रोजगारीमा जान चाहने ३ हजार १५३ जना रहेको केन्द्रमा तथ्याङक रहेको छ । 

जिल्लाको पश्चिम बुर्तिबाङस्थित इलाका प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत उपकेन्द्रमार्फत २ हजार ३४८ जनालाई परामर्श सेवा उपलब्ध गराइएको स्रोत केन्द्रले जनाएको छ ।

सामी कार्यक्रमअन्तर्गत सामुदायिक सिकाइ केन्द्रका सहजकर्तामार्फत २ हजार ५०२ जनालाई सेवा प्रदान गरिएको छ भने २ हजार ८२२ जना सेवाग्राहीलाई समुदायस्तरमै वैदेशिक रोजगारीसम्बन्धी सचेतना प्रदान गरिएको जिल्ला संयोजक उपाध्यायले जानकारी दिए ।

कार्यक्रम मार्फत यस वर्ष कुल १४१ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । जसमध्ये परामर्शपश्चात ६१ जना सहज जीवनमा फर्किन सफल भएका छन् ।

सामी कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन । यस वर्ष १ हजार ९९४ जनाले वित्तीय साक्षरता प्राप्त गरेका छन ्। जसमा २१ हप्ते, ३ दिने, ९० मिनेट तथा १ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

विभिन्न समस्या र चुनौतीको सामना गर्दै तिनको समाधान खोज्न तथा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि सहाराको रूपमा सामी कार्यक्रम क्रियाशील रहेको छ ।

कार्यक्रमका क्रममा वैदेशिक रोजगारीसम्बन्धी ठगीका घटनामा रकम बुझाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ । वैदेशिक रोजगारीका नाममा ठगी हुने अधिकांश घटनामा रकम बुझाएको व्यक्तिसँग प्रत्यक्ष चिनजान नहुनु, सामाजिक सञ्जालको भरमा रकम लेनदेन गर्नु तथा तेस्रो व्यक्तिको खातामार्फत कारोबार गर्नु प्रमुख समस्या रहेको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना तथा परामर्शकर्ता गंगा शर्मा रिजालले बताइन् ।

उनका अनुसार विश्वासका आधारमा नगद रकम, चेक वा बैंकिङ माध्यमबाट कारोबार गर्दा तथा तेस्रो व्यक्तिको खाता प्रयोग गर्दा वैदेशिक रोजगारीका नाममा ठगिएको रकम फिर्ता गराउन कठिन हुने गरेको छ । साथै रकम लिने व्यक्ति जिल्लाबाहिरको हुँदा प्रशासन तथा प्रहरीमार्फत सहजीकरण गर्न पनि चुनौती हुने गरेको उनले बताइन् ।

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रले प्रशासन, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहका रोजगार शाखा तथा सामी कार्यक्रमसँग समन्वय गर्दै पीडितलाई न्याय दिलाउन र आर्थिक सहायता उपलब्ध गराउन निरन्तर सहजीकरण गर्दै आएको जनाएको छ।

प्रतिक्रिया