☰

कांग्रेस बरेङ गाउँपालिका नयाँ कार्यसमितिको पदस्थापन 

  • कार्तिक ३०, २०८३

बागलुङ ।  नेपाली कांग्रेस बरेङ गाउँपालिकाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत गत भदौमा सम्पन्न गाउँपालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन गरिएको हो ।

कार्यक्रममा नवनिर्वाचित सभापति मोतिराम गौतमलाई निवर्तमान सभापति तुलसीराम पौडेलले पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले पार्टीले विगतमा गरेका काम, योगदान र राजनीतिक भूमिकाबारे चर्चा गर्दै अब गाउँपालिका तथा वडा तहका कार्यसमितिले निर्वाह गर्नुपर्ने जिम्मेवारी महत्पुर्ण रहेको बताए । उनले स्थानिय तहको निर्वाचत नजिकिएको कारण पार्टी भित्र छुट्टै रणनिति तयार पारेर अगाडी बढ्न आग्रह गरे ।  शर्माले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न स्थानीय तहमा सक्रिय हुनुपर्नेमा जोड दिए । कांग्रेस सबैको साझा पार्टी भएको उल्लेख गर्दै उनले पार्टीभित्र सबै विचार, वर्ग र समुदायलाई समेटेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्क थापा मगर र महाधिवेशन प्रतिनिधि चिरञ्जीवी गौतमले पार्टीभित्र केही समानान्तर गतिविधि देखिए पनि अन्ततः सबै एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे । उनीहरूले आपसी मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनको एकता र मजबुतीमा ध्यान दिनुपर्ने धारणा राखे।

कार्यक्रममा महासमिति सदस्य उमाकान्त शर्मा ‘बाबु’, महाधिवेशन प्रतिनिधि उमाकान्त पौडेल, क्षेत्रीय सदस्यहरू रुद्रहरि शर्मा र दलबहादुर थापा, स्थानीय जनप्रतिनिधि, वडा सभापति, पार्टीका नेता तथा कार्यकर्तालगायतको उपस्थिति रहेको थियो।

नवनिर्वाचित सभापति मोतिराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उप–सभापति अमर बहादुर शेरबुर्जाले गरेका थिए भने सञ्चालन सचिव अमृत गौतमले गरेका थिए ।

 

प्रतिक्रिया