नारायण रिजाल , बागलुङ ! बिहान उज्यालो नहुँदै खेतबारी पुग्ने, दिनभरि माटोसँग पसिना साट्ने र साँझ गोठमा रहेका गाईभैँसी तथा बाख्राको स्याहारसुसार गर्ने गंगाधर सापकोटाको दैनिकी हो । खेती किसानी गरेर परिवार पाल्ने सपना बोकेका जैमिनी नगरपालिका–२ दमेकका सापकोटाका लागि पछिल्लो समय यही खेतीपाती र पशुपालन दुःखको कारण बनेको छ । खेतमा लगाएको अन्नबाली बाँदरले सखाप पार्छन् भने गोठमा दुःख गरेर पालेका बाख्रा चितुवाको आहार बन्ने गरेका छन् । ‘खेती गरौँ बाँदरले खान्छ, बाख्रा पालौँ चितुवाले मार्छ यो सापकोटालाई चिन्ता रहेको छ ।
सापकोटाले गाउँमै बसेर कृषि र पशुपालनलाई जीविकोपार्जनको मुख्य आधार बनाएका छन् । गोठमा गाईभैँसीसँगै व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका उनले खेतीपाती र पशुपालनबाट परिवारको भविष्य खोजिरहेका छन् । तर, उनको मेहनतको फल कहिले खेतबारीमा बाँदरले नष्ट गर्छन् त कहिले गोठमा चितुवाले खोसेर लैजान्छ ।
दिनरात गरेको मेहनत आँखै अगाडी नष्ट
“बाँदरले दैनिक जसो खेतबारीमा हैरानी बनाएको छ, अझ गोठमा पालेका बाख्रा चितुवाले मार्न थालेपछि हामी किसानलाई त्यो भन्दा पिडा के चाहियो सापकोटाले आफ्नो दुःख सुनाउँदै भन्छन् –‘आफूले दिनरात गरेको मेहनत आँखै अगाडी नष्ट हुँदा निरीह बन्नुपर्ने अवस्था छ । ” यस वर्ष उनि र उनका छिमेकीका ३ वटा बोका तथा बाख्रा चितुवाले मारेको छ । उनले परिवारको आम्दानीको स्रोतका रूपमा पालेका बाख्रा एकपछि अर्को गर्दै चितुवाको सिकार बन्न थालेपछि आफु चिन्तीत रहेको बताए ।
सापकोटाको मात्र हैन यो पिडा जैमिनीका अधिकांश किसानको हो । सोमबार जैमिनी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकांश किसानले बाँदर र चितुवा आतंक र बढ्दो बसाइसाराईको चिन्ता व्यक्त गरे । नगरप्रमुख नरबहादुर पुन र उपप्रमुख हरिहर शर्मा सामु उनिहरुले आफ्नो समस्या सुनाउँदै भने, “जैमिनीका सबैजसो वडामा बाँदर आतंक बढिरहेको छ । खेतबारीमा लगाएको अन्नबाली जोगाउन नसकिने अवस्था छ । त्यसमाथि चितुवाले गोठमै पसेर बाख्रा मार्न थालेको छ । दुःख गरेर पालेका पशुचौपाया यसरी गुमाउनुपर्दा किसानलाई निकै समस्या भएको छ ।”
क्षतीपूर्तीका लागि वनकार्यालले प्रमाण खोज्छ बाख्रा चितुवाले वनमा लुकाउँछ
सापकोटाले चितुवाले बाख्रा मारेपछि क्षतिपूर्तिका लागि वन कार्यालयमा आग्रह गर्दा फोटो सहित प्रमाण आवश्यक पर्ने तर चितुवाले जंगलमा लगेको बाख्रा नपाए पछि प्रमाण नपुग्दा क्षतीपूर्ति पाउन नसकेको गुनासो गरे । खोरबाटै थुतेर चितुवाले बाख्रा मारेर लगेपछि खोज्दा पनि पत्ता लाग्दैन न बाख्राको अवशेष भेटिन्छ, न क्षतिको प्रमाण जुटाउन सकिन्छ । प्रमाण नभएपछि क्षतिपूर्ति पाउने प्रक्रिया समेत अघि बढाउन नसकिएको उनको गुनासो छ । उनले नगरपालिकालाई किसानको गोठमा क्षती भएको विपद व्यवस्थापनबाट उचित क्षतीपूर्ती उपलब्ध गराउन आग्रह समेत गरेका छन ।
गाउँमा बढ्दो बसाइँसराइका कारण बाँदर र चितुवा आतंक
सापकोटाले वन्यजन्तुको आतंक बढ्नुमा गाउँमा बढ्दो बसाइँसराइ पनि एउटा कारण रहेको बताए । गाउँका धेरै घरपरिवार बसाइँ सरेर गएपछि खाली भएका घर र खेतबारी वरिपरि झाडी बढेको छ । वर्षौंदेखि सफा नगरिएका झाडी र जंगलले वन्यजन्तुलाई लुक्ने तथा बस्ती नजिकै आउने वातावरण बनाएको उनको बुझाइ रहेको यसले गर्दा खेतबारीमा बाँदरको आतंक र गोठमा चितुवाको जोखिम झनै बढेको सापकोटा बताउँछन ।
“गाउँमा मानिसको चहलपहल घट्दै गएको छ । खेतबारी बाँझिँदै छन्, घरआँगन झाडीले ढाकिँदै छन ्। गाउँमा बसेर खेतीकिसानी गर्ने थोरै किसानले पनि आफ्नो उत्पादन र पशुधन जोगाउन नसक्ने अवस्था आउनु दुःखद भएको उनको भनाइ छ ।”
सापकोटाको पीडा एउटा कृषकको व्यक्तिगत समस्या मात्रै होइन, गाउँमा बसेर कृषि र पशुपालनमा भविष्य खोजिरहेका धेरै किसानको साझा पीडा हो । कृषि उत्पादन बढाउनुपर्ने, गाउँमै रोजगारी र आम्दानीको वातावरण बनाउनुपर्ने चर्चा भइरहँदा किसानले लगाएको बाली र पालेका पशु नै सुरक्षित नहुने अवस्था छ । उनले बसाइसराइ गरेर गएका घरवरीपरिको बनजंगल फडानीमा नगरपालिकाले सहजीकरण गरिदिनुपर्ने बताएका छन ।
नगरपालिकालाई कुकुर उपलब्ध गराउन किसानको माग
सापकोटाले बाँदर र चितुवा आतंक रोक्नका लागि नगरपालिकासँग दुई वटा जर्मन सेफर कुकुर उपलब्ध गराइदिन माग समेत गरेका छन । उनले गत वर्ष नै नगरउपप्रमुख हरिहर शर्मालाई गाउँमा बाँदर र चितुवाले हैरानै बनाएको भनि कुकुर उपलब्ध गराईदिन आग्रह गरेको बताउँछन । एउटा जर्मन सेफर कुकुर भयो भने त्यसले बाँदर सहित चितुवा पनि लखेट्छ भन्ने सुनेको छु आफ्नो त्यो कुकुर किन्नका लागि त्यो अनुसारको अवस्था छैन सापकोटाले भने,–“नगरपालिकाले केही रकम उपलब्ध गराएमा केही थप गरेर भएपनि किन्न हुन्थ्यो त्यसका लागि आहार विहार आँफै व्यवस्थापन गर्ने थिए । घरमा ठुलो कुकुर पाल्न पाए कम्तीमा घरवरीपरिको अन्नबाली र गोठका बाँख्रा जोगिन्थे की ?” उनले यस वर्ष नगरपालिकाले व्यवस्थापन गर्नेमा विश्वास रहेको बताए ।
जैमिनीका अधिकाशं वडामा बाँदर आतंककै कारण बसाईसराइ बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्र १९९ घर परिवारले बसाईसराई गरेका छन भने जम्मा ३ घर परिवार मात्र बाहिरबाट जैमिनी क्षेत्रमा बसाइसराई गरेर आएका छन । नगरपालिकाले बसाईसराई गरेकालाई फर्काउनका निम्ती विशेष कार्यक्रम पनि ल्याएको नगरउपप्रमु हरिहर शर्माले जानकारी दिए ।
सार्वजनिक सूनुवाई कार्यक्रममा नगरपालिका भित्रका सडक निर्माणको काम अलपत्र परेका गुनासो, कृषि एम्बुलेन्स संचालन नियमित संचालन गर्नुपर्ने, स्वास्थ्य शिविर संचालन गर्नुपर्ने, श्रम बल गठन गरी श्रमिकलाई उचित सम्मान गर्नुपर्ने, विद्यालयमा स्थानिय पाठ्यक्रम लागु भएता पनि पाठ्यपुस्तक नभएको बालविवाह रोकथाम गर्नुपर्ने जस्ता नागरिकले गुनासो र समस्या राखेका थिए । नागरिकको गुनासोलाई सम्बोधन गर्दै नगरप्रमुख नरबहादुर पुनले नगरपालिकाले सवै क्षेत्रलाई समेटेर काम गर्न खोजेको बताए । उनले नगरभित्रका सवै सडक पुर्वाधार निर्माणमा प्राथमिकताका आधारमा हुने बताए ।
कार्यक्रममा स्थानिय संगम सापकोटा, दर्शना सापकोटा, कृष्ण सापकोटा, मात्रिका प्रसाद शर्मा, शोभा हमाल, दिपेन्द्र परियार, अमर बहादुर परियार, रमेश परियार धनप्रसाद सुवेदी, नारायण सापकोटा विक्रम थापा, दिपिल प्रतेल लगायतले नगरपालिकाको काम प्रति गुनासो र सुझाव राखेका थिए । नागरिकको गुनासो र प्रश्नलाई नगरप्रमुख पुन, उपप्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकिय अधिकृत रमेश पाण्डेय, शिक्षा शाखा प्रमुख मिरा शर्मा, रोजगार शाखा प्रमुख सुरेश पुन र स्वास्थ्य शाखा प्रमुख तिर्थ प्रसाद शर्माले जवाफ दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पाण्डेयले आर्थिक वर्ष २०८३।०८४ को हाल सम्म भएको प्रगतीको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम वडा नं. २ का अध्यक्ष एवं सुसासन समितिका संयोजक प्रेम सापकोटाको अध्यक्षता पत्रकार महासंघका सचिव नारायण रिजालको नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदन महासंघका सल्लाहकार पत्रकार तारानाथ आचार्यको टिप्पणी र महासंघका सहसचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।