नारायण रिजाल - बागलुङ ! धवलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा प्रस्ताव सहित छलफल बढाईको छ । बागलुङका स्थानिय सरोकारवाला र सर्वपक्षियको भेलाले क्याम्पसलाई विश्वविद्यालयको रुपमा निर्माण गर्ने प्रस्ताव अगाडी सारेको हो ।
यहाँका समाजसेवी एवं कालिगण्डकी उत्तरगंगा शैक्षिक कोषका संस्थापक कृष्ण केसीको नेतृत्वमा बुधबार आयोजना गरिएको भेलामा क्याम्पसलाई विश्वविद्यालयको बनाउने प्रस्ताव आएपछि यस विषयमा छलफल गरिएको हो । छलफलमा क्याम्पस स्वायत्त भएको र यसलाई विश्वविद्यालको रुपमा विकास गर्नका लागि बृहत छलफलका साथ अगाडी बढ्नुपर्ने सहभागीको भनाई थियो । ‘धवलागिरी क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्नका लागि क्याम्पसलाई मानित विश्वविद्यालय बनाउने लक्ष्य क्याम्पसले पञ्चबर्षिय योजनामा समेटेर अगाडी बढेको छ क्याम्पस प्रमुख डा. सुदर्शन सिलवालले भने,–‘भविश्यमा यसलाई विश्वविद्यालयको रुपमा विकास गर्न यो क्षेत्रका सवै नागरिक अगुवा, राजनितिक दल, र सरोकारवालाले जोड गरेमा सम्भव पनि छ । जुन विषय अहिले चलेको छ यसले सार्थकता पाउने गरी हामीले काम गर्नुपर्दछ ।’ उनले क्याम्पसले हरेक कार्यक्रमलाई निरन्तरता सँगै नविनता दिँदै आएको हुँदा विश्वविद्यालय बनाउने विषय नविनता भएकोले सर्वपक्षिय छलफल गरी नितिगत रुपमा नै अगाडी बढाउनका लागि आवश्यक रहेको बताए ।
छलफलमा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले विश्वविद्यालय बनाउने विषय सजिलो विषय नभएको हुँदा यसलाई बृहत्तर छलफलका साथ कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिए । उद्देश्य प्राप्तीका लागि ठुलो मेहनत गर्नुपर्ने छ र भविश्यलाई सोचेर निर्णय गर्न जरुरी रहेको उनले बताए ।
विश्वविद्यालयको रुपमा संचालन गर्नका निम्ती नागरिक समाज राजनितिक दल लगायतले अगुवा गरेमा मात्र यसको लक्ष्य प्राप्ती हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. दिनबहादुर थापाले बताउँछन ।‘क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा कल्पना गरेर हामीले कार्ययोजना गराएका छौं ।, मानित विश्वविद्यालय त बन्ने नै छ । अध्यक्ष थापाले भने,–‘विश्वविद्यालयको रुपमा विकास गर्नका निम्ती पहिलो नितिगत निर्णय गरेर अगाडी बढ्नुप¥यो, यसका साथै पूर्वाधार र संरचना त झनै आवश्यक रहेको छ । ’
धवलागिरी क्षेत्रमा विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्ने अभियानका साथ नेतृत्व गरेका युवा समाजसेवी कृष्ण केसीले शिक्षा क्षेत्रको विकासका निम्ती सवै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले धवलागिरी क्षेत्रका चार जिल्लाका स्थानिय तहले आफ्नो अपनत्व लिएर अगाडी बढेमा प्रदेश र संघ सरकारबाट अपनत्व लिनका लागि दबाब सिर्जना हुने बताए । ‘धवलागिरी क्षेत्रमा राज्यले गौरव गर्ने काम गरौैँ भन्ने उद्देश्यले विश्वविद्यालय संचालन गर्नुपर्छ भन्ने अभियानका साथ हिडेका छौं केसीले भने,–‘यस क्षेत्रका सवै सरोकारवालाले यसमा साथ दिएमा तिन तहकै सरकारबाट सहयोग पुग्ने छ, ५ वर्ष लाग्ला १० वर्ष लाग्ला तर विश्वविद्यालय संचालनमा आउँछ । संभावना भएकै कारण परिकल्पना गरिएको हो ।’
छलफलमा सहभागीले विश्वविद्यालय बनाउनका लागि मेघा प्रोजेक्टको आवश्यकता रहेको र सोही अनुसारका योजना बनाउनुपर्ने बताएका थिए । उनिहरुले हाल क्याम्पसमा संचालन भएका संकायमा विद्यार्थीको संख्या घट्दै गएका कारण पहिले यही क्याम्पस रोज्ने वातावरण सिर्जना गर्नुपर्ने कुरामा समेत जोड दिएका थिए । उनिहरुले आवश्यक संरचना बनाउनका निम्ती हाल रहेको पूर्वाधार र संरचनाले नपुग्ने हुँदा उपयुक्त स्थानको पनि खोजी गर्न जरुरी रहेको बताएका थिए ।
छलफलमा संविधान सभा सदस्य मना के.सी. सहायक क्याम्पस प्रमुख डिल्लीराज गौतम, क्याम्पस व्यवस्थापन समितिका सदस्य टिकाराम गौतम, उपप्रध्यापक धुव्रराज गौतम, त्रिवी प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, उपप्रध्यापक विप्लब शर्मा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, पूर्व अध्यक्ष श्याम श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल, स्ववियु अध्यक्ष आश्मिन शेख धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशन, लगायतले आफ्ना धारणा राखेका थिए ।
छलफलले क्याम्पसको गौरवपूर्ण इतिहास र भौतिक पुर्वाधारलाई समेत मध्यनजर गरी यस क्षेत्रको उत्पादन, विकास र नवनिर्माण गर्दै समृद्ध नेपालको राष्ट्रिय लक्ष्यलाई साकार गर्ने उद्देश्यले कृषि, पर्यटन र उद्योग क्षेत्रसँग सम्बन्धित नविनतम सिप र प्रविधिमा आधारित पाठ्यक्रम निर्माण गर्दै मानित विश्वविद्यालय हुँदै धवलागिरी विश्वविद्यालय निर्माण गर्र्ने लक्ष्यतर्फ अग्रसर हुन बृहत्तर छलफल र गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि यही भदौ २ गते क्याम्पसको स्थापना दिवसको अवसर पारेर छलफल गरिने क्याम्पस प्रमुख सिलवालले जानकारी दिए । छलफलमा धौलागिरी क्षेत्रका सवै स्थानिय तह, सवै क्याम्पसहरुको समेत सहभागिता हुने बताईएको छ ।