गुमा र शर्मिलालाई जेसीज युवा सम्मान

  • भदौ १९, २०८२

बागलुङ- बागलुङ जेसीजले प्रदान गर्ने युवा सम्मान २०२५ बाट गुमादेवी शर्मा र सर्मिला पौडेल सम्मानित भएका छन् । बुधबार जेसिजको सप्ताहको उद्घाटन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । बागलुङ जेसिजले हरेक वर्ष उदाहरणीय कार्य गर्दै आएका युवाहरुलाई युवा सम्मानबाट सम्मान गर्दै आएको छ । यस वर्ष यातायात व्यवस्था कार्यालय बागलुङकी कार्यालय प्रमुख गुमादेवी शर्मा र युवा व्यवसायी बागलुङ ड्राई क्लिनरकी सञ्चालक सर्मिला पौडेललाई यो सम्मान प्रदान गरिएको हो । 
हाल यातायात व्यवस्था कार्यालय बागलुङमा कार्यरत शर्मा २०४९ सालमा बागलुङ नगरपालिका—१३ पैयुँपाटामा डिल्लीप्रसाद रिजाल र पार्वती रिजालको कोखबाट जन्मिएकी हुन् । परिवारका ६ छोरी र १ छोरामध्ये चौथो सन्तानको रुपमा उनको जन्म भएको हो । २०७४ मंसिर २५ गते शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेपछि उनले पर्यटन तथा उद्योग कार्यालय बागलुङको कार्यालय प्रमुख भएर काम गरेकी थिईन् ।
 हाल उपसचिव पदमा कार्यरत उनी २०८० पुस १६ गतेदेखि यातायत व्यवस्था कार्यालय बागलुङको प्रमुखको रुपमा कार्यभार सम्हाल्दै आएकी छिन् । उनले विविएस, एमपिए र एलएलबीको अध्ययन पूरा गरेकी छिन् । उनलाई गण्डकी प्रदेश सरकारले प्रदेश प्रोत्साहन पुरस्कार समेत प्रदान गरिसकेको छ । उनले हाल उच्च अदालत सरकारी वकिल कार्यालय पोखरामा कार्यरत उपसचिव तुलबहादुर खड्कासंग विवाह गरेकी छिन् । उनीहरुको तीन वर्षकी छोरी छिन् ।
 अर्का सम्मानित सर्मिला पौडेल पर्वतको फलेवास नगरपालिका—६ घर भई हाल बागलुङ नगरपालिका—२ मा व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । २०४२ साल चैत १ गते बुबा खेमराज शर्मा र आमा भगवती शर्माको माईली छोरीको रुपमा सर्मिलाको जन्म भएको थियो । 
उनका एक भाई र तीन दिदी बहिनी छिन् । २०६० सालमा मनोजकुमार पौडेलसंग विवाह गरेकी उनले २०७० सालदेखि बागलुङ नगरपालिका—२ मा बागलुङ कालिका ड्राई क्लिनर सञ्चालन गर्दै आएकी छिन् । उनीहरुको दुई सन्तान निशान पौडेल र इशान पौडेल छन् । श्रीमानको भने मृत्यु भैसकेको छ । उनलाई नेपाल सरकारको उद्योग मन्त्रालयले उत्कृष्ट महिला उद्यमीको रुपमा २०७४ सालमा सम्मान गरिसकेको छ ।  
उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले युवाहरुको क्षमता र नेतृत्व विकासमा जेसिजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘किशोर अवस्था पार गरेपछि युवापुस्ताको व्यक्तित्व र नेतृत्व विकासका लागि जेसिजले निकै प्रशंसनीय कार्य गर्दै आएको छ,’उनले भने,‘जेसिजले आफ्नो आस्थापाठमा भन्दै आएको शासन व्यक्तिको नभई विधिको हुन्छ भन्ने भनाईलाई साँच्चिकै व्यवहारमा आत्माथ गर्नुपर्नेछ ।’ 
पछिल्लो समय युवा पलायन बढेको भन्दै उनले युवाहरु गुण र ज्ञान सिक्नका लागि जेसिजमा आवद्ध हुने वाताबरण बनाउन आग्रह गरे । ‘युवाहरु विदेश पलायन हुनेक्रम बढेको छ,’उनी भन्छन्,‘युवाले गुण र ज्ञान सिक्ने ठाउँ जेसिजलाई बनाउनुपर्छ । युवाले आफुले सिकेको कुरा अरुलाई सिकाएर स्वदेशमै रहनका लागि प्रेरित गर्नुपर्छ ।’ 
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व गुमादेवी शर्माले युवा सम्मानले आफुहरुलाई थप इमानदार भएर आफ्नो पेशामा लाग्न प्रेरित गरेको बताईन् । कार्यक्रममा राष्ट्रिय जेसिजका कार्यकारी उपाध्यक्ष शौरभ श्रेष्ठ, बागलुङ नगरपालिका—२ का वडाध्यक्ष सुरज बोसेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, धवलागिरी बहुमुखी क्याम्पस बागलुङकी स्ववियु अध्यक्ष आस्मिन शेख, बागलुङ जेसिजका लिडर्स अध्यक्ष ऋषिराम गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
बागलुङ जेसिज वर्ष २०२५ का अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष गणेश महतो र सञ्चालन स्वीकृति भारीले गरेकी थिईन् । कार्यक्रममा मूल संयोजक प्रेमप्रसाद ढकालले सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सम्मानित व्यक्तिहरुको बारेमा ताराप्रसाद शर्मा र रोहन जिसीले जानकारी गराएका थिए ।
२४ गतेसम्म सञ्चालन हुने जेसिज सप्ताह अन्तर्गत दोस्रो दिन भदौ १९ गते लोकतान्त्रिक चोकमा दिउँसो २ बजेदेखि सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता, तेस्रो दिन भदौ २० गते बिहान ११ बजेदेखि होटल दि राजनमा महिलाहरुका लागि भाषणकला तालिम, चौथो दिन २१ गते बिहान ८ बजे बागलुङ जेसीज र पत्रकार महासंघको कार्यसमितिबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको मुल संयोजक प्रेमप्रसाद ढकालले जानकारी दिए ।
 पाँचौ दिन बिहान ७ बजेदेखि होटल दि राजनमा मेयरसंग विद्यार्थी कार्यक्रम, छैटो दिन बिहान ११ बजे धौलागिरि अस्पतालमा हेल्दी बेवी प्रतियोगिता र सातौ दिन बिहान ११ बजेदेखि होटल पिस प्यालेसमा स्वर्गीय प्रगति कुमार श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता, पुरस्कार वितरण तथा समापन समारोह हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए । 

 

प्रतिक्रिया