मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका उपाय

  • भदौ २०, २०८२

पूर्णप्रसाद शर्मा - मानव वेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवस, २०८२ यही भाद्र २० गते देशैभरी विभिन्न कार्यक्रम गरी मनाउने उदेश्यका साथ यस वर्ष तीनै तहका सरकार मिलि गरौं हातेमालोः मानव बेचबिखनको हटाऔं दुस्चक्रको जालो भन्ने मूल नारा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरी सवै जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी सम्पन्न गर्न निर्देशन गरेको छ ।

मानिसको बेचबिखन तथा ओसारपसार मानिस विरुद्धकै एउटा परम्परागत गंभिर अपराध हो । मानव वेचविखन भन्नाले कुनै पनि व्यक्तिलाई शोषण गर्ने उद्देश्यले बलपुर्वक वा अपहरण, ठगी, धोका, शक्तिको दुरुपयोग, व्यक्तिको कमजोरीको अवस्थाको फाइदा उठाई, लोभ लालसा देखाई वा आर्थिक लेनदेन गरी व्यक्ति माथिको नियन्त्रणका लागि सहमति प्राप्त गरी जस्ता अन्य तरिकाले प्रभावमा पारी भर्ती गर्ने ओसारपसार गर्ने, सञ्चिति गर्ने वा प्राप्त गर्ने कार्यलाई बुझाउँछ ।

यातायात, संचार लगायतका विज्ञान प्रविधिको विकसित नयाँ स्वरुपहरुले संसारलाई खुम्च्याएर विश्व गाउँ (Global Village) वनाएसँगै यो अपराध हुने तौर तरिका र उद्देश्य लगायत यसबाट हुने पीडितका पनि नयाँ स्वरुप र आयाम देखिएका छन् । यो कुनै एउटा समाज अथवा राष्ट्रमा हुने अपराध मात्र नभएर विश्वव्यापी अपराधका रुपमा विकसित भएको छ । त्यसैले यो अपराध कुनै एउटा राष्ट्रको मात्र नभएर सम्पूर्ण विश्व समूदायकै सरोकारको विषय बन्न पुगेको छ । शुरुका अवस्थामा मानिसको व्यापार मुख्यतया दासत्वका लागि र महिलाको व्यापार बेश्यावृत्तीका लागि हुने गरेकोमा हालको विकसित स्वरुप हेर्दा अप्राकृतिक मैथुनका लागि हुने यौन शोषण, मानव अङ्ग व्यापार, मानव जिव कोष तथा वीर्य व्यापार, कोख भाडा, दासत्व लगायतका श्रम शोषण, अश्लिल फोटो तथा चलचित्र व्यापार, आतंकवाद लगायतका विभिन्न आपराधिक संजालमा जवर्जस्ती भर्ना गर्ने उद्देश्यका लागि मानिसको ओसारपसार र व्यापार हुने गरेको देखिन्छ । तसर्थ यो अपराधबाट विशेषतः दासत्वमा रही श्रम गर्न सक्ने वलिष्ठ मानिस र पुरुषलाई यौन सन्तुष्टि दिन सक्ने उमेर भएका महिला मात्र पीडित हुने पुरानो स्वरुप भन्दा फरक हाल माथि उल्लेख गरिएका विभिन्न उद्देश्यका लागि बालबालिका, महिला, पुरुष, वृद्धवृद्धा जो सुकै मानिस पीडित हुने गरेको देखिन्छ । फलस्वरुप यो अपराधको व्यापकता झन् बढ्न गई यो अपराध एक सीमा विहिन संगठित अपराधका रुपमा विकसित हुन पुगेको छ । अहिलेको विश्व समूदायले यो अपराधलाई आधुनिक दासत्वका रुपमा लिएको छ । यो अपराध गर्ने व्यक्ति वा समूहले मुख्यतः आर्थिक फाइदाकै लागि नै यो अपराध गर्ने गरेको देखिन्छ ।

मानव बेचबिखन तथा ओसारपसार अपराधको माथि उल्लेखित तत्वहरुलाई हेर्दा यो अपराध केवल महिला र बालिका उपर मात्र हुने होइन ।यस अपराधबाट पुरुष र बालकहरु पनि पीडित हुन्छन् भन्ने स्पष्ट छ । तसर्थ यो अपराधलाई महिला तथा बालिका विरुद्धको अपराधका रुपमा मात्र हेरिने परम्परागत दृष्टिकोणमा परिवर्तन भई आधुनिक अपराधिक विधिशास्त्रले यसलाई लैङ्गिक रुपमा तटस्थ अपराधका रुपमा लिने अवधारणा विकास भएको छ ।

 मानव बेचबिखन तथा ओसारपसार अपराधका मूख्य प्रकारमा यौन व्यापार वा यौन शोषणका लागि हुने अपराध जस्तै जवरजस्ती विवाह गराईदिएर, जवरजस्ती बेश्यावृत्तिमा लगाएर अथवा अन्य तरिकाले यौन शोषण गरे गराएर आर्थिक फाइदा लिनका लागि देशभित्रै तथा देश बाहिर महिला तथा बालिकाहरुलाई ओसारपसार र बेचबिखन गर्ने क्रियाकलाप यस अन्तर्गत पर्दछन् । पुरुष तथा बालकहरुलाई अप्राकृतिक मैथुन गर्ने क्रियाकलाप गरी गराई आर्थिक फाइदा लिनका लागि पनि यो अपराध गर्ने गरेको देखिन्छ । त्यसैगरी श्रम व्यापार वा श्रम शोषणका लागि हुने मानव बेचबिखन तथा ओसारपसार जस्तैः घरेलु नोकर, वधुँवा मजदुर, कृषि कार्य, निर्माण कार्य, कलकारखाना, मनोरञ्जनात्मक क्रियाकलाप आदिमा जवरजस्ती सेवा वा श्रम गराएर आर्थिक फाइदा लिनका लागि देशभित्र वा बाहिर गरिने मानव बेचबिखन रओसारपसार गर्ने कार्य पर्दछ भने हाल पछिल्लो समयमा जवरजस्ती कोख भाडा सहित मानव अङ्ग व्यापारका लागि गरिने मानव बेचबिखन तथा ओसारपसार जस्तै पीडितले थाहा नपाउने गरी उसको कुनै अङ्ग वा मानव सेल झिक्ने, अरुको बच्चा जन्माउनको लागि जवरजस्ती रुपमा महिलाको कोख प्रयोग गर्ने वा पीडितलाई थाहा दिएरै पनि थोरै पैसा दिएर जवरजस्ती त्यस्ता कार्य गर्ने सन्दर्भमा हुने मानव ओसारपसार तथा बेचबिखनका क्रियाकलाप यस अन्तर्गत पर्दछन् ।

नेपाल सरकारले विभिन्न अन्तराष्ट्रिय सन्धी सम्झौतामा पक्ष भइसकेपछि त्यस्ता महासन्धिहरुले मानव वेचविखन तथा ओसारपसार नियन्त्रणको लागि मानव बेचबिखन र ओसारपसारजन्य कार्यलाई अपराधिकरण गर्नुपर्ने, पीडकलाई कानूनको दायरामा ल्याउनुपर्ने, कसूरदारको सुपुर्दगी गर्नुपर्ने, पीडितहरुको अधिकार संरक्षण गर्नुपर्ने, न्यायिक कार्यविधिमा पीडितको गोपनियतामा ध्यान दिनुपर्ने, कानून कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धि गर्नुपर्ने, अन्तराष्ट्रिय समन्वय र सहयोगमा जोड दिनुपर्ने, प्रभावकारी कानूनी उपचारको व्यवस्था गर्नुपर्ने लगायतका दायित्वहरु सिर्जना गरेको देखिन्छ ।

नेपालमा मानव बेचबिखन तथा ओसारपसार अपराध बेश्यावृत्ति लगायतका यौन शोषण, श्रम शोषण र मानव अङ्ग व्यापारका लागि हुने गरेको यस सम्बन्धी घटनाक्रमले देखाएको छ । वैदेशिक श्रम रोजगारमा पठाउने नामबाट यो अपराध हुन पुगेमा वैदेशिक रोजगार ऐन, २०६४ र मानव अङ्ग व्यापारका नामबाट यो अपराध हुन पुगेमा मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ र स्वदेश भित्रै श्रम शोषणका नामबाट यो अपराध हुन पुगेमा श्रम ऐन, २०७४, बाल श्रम (निषेध र नियमित) गर्ने ऐन, २०५६ र कमैया श्रम (निषेध) ऐन, २०५८ एवं मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले समग्र रुपमा मानव वेचविखन एवं ओसार पसारलाई नियन्त्रण गर्ने उदेश्य राखेको देखिन्छ ।

देश संघीयतामा गैसकेपश्चात गठित तीनै तहका सरकारहरुले मानव वेचविखन एवं ओसारपसारलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन । मानव बेचबिखन (Human Trafficking) गम्भीर अपराध र मानवअधिकार उल्लंघन हो। यसको न्यूनीकरणका लागि राज्यक तीनै तहका सरकार एवं सम्बन्धित निकायले यस्तो अपराधको निवारणको लागि गाउँ सहर, विद्यालय, युवा समूहमा मानव बेचबिखनका जोखिम, झुट्टा रोजगार/विवाह प्रस्ताव, वैदेशिक रोजगारका नाममा हुने प्रलोभनबारे शिक्षा र जनचेतना फैलाउने, महिलालाई आयआर्जनका सीप र रोजगारीको अवसर दिने, गरिबी न्यूनीकरणको लागि आर्थिक सशक्तीकरण गर्ने, वैदेशिक रोजगार व्यवस्थापन र सुरक्षित आवागमन लगायतका क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता छ ।

मानव बेचबिखनमा परेका मानिसहरुको उद्धार र पुनःस्थापना गर्ने, पीडित मैत्री कानूनी सहायता प्रदान गर्ने र पीडितलाई समाजमा पुनःएकीकरण गर्नको लागि तीनै तहका सरकारको भूमिका आवश्यक छ । बेचबिखनमा परेका व्यक्तिहरूलाई सुरक्षित उद्धार गर्ने, अस्थायी आवास, स्वास्थ्य, परामर्श र पुनःस्थापना कार्यक्रम दिने, पीडितलाई सजिलै उजुरी गर्न मिल्ने वातावरण बनाउने, गोपनीयता र सम्मान कायम गर्ने, सीप प्रशिक्षण, रोजगारीको अवसर, मनोपरामर्श र सामाजिक समर्थन गरी पीडकलाई कडा कानूनी कारवाहीको दायरामा ल्याउन अन्तरदेशीय सहकार्य गर्नको लागि भारत, खाडी मुलुकलगायतसँग सहकार्य र द्विपक्षीय सम्झौता गर्नुपर्ने, सरकार-गैरसरकारी संस्थाको सहकार्य एनजिओ, आईएनजिओ, स्थानीय सरकार, समुदायसँग मिलेर सचेतना र पुनःस्थापना कार्यक्रम संचालन गर्न सकेमा मावन बेचबिखनको दुस्चक्रको जालोलाई हटाउन सकिएला ।

जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी वकील कार्यालय, बागलुङ

 
 
 

प्रतिक्रिया