बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार भीम श्रीसको चुनावी प्रतिवद्धता सार्वजनिक गरिएको छ । मंगलबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा एक कार्यक्रम गरी जातिय सद्भाव झल्काउँदै प्रतिवद्धता जारी गरिएको हो । विभिन्न जातिय भेषभुषामा सजिएका जेन्जी समुहका युवा, उम्मेदवार भीम श्रीस र नेपाली काँग्रेसका नेताहरुले उक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए । प्रतिवद्धता पत्रमा श्रीसले बागलुङ क्षेत्र नम्बर १ को ३७ वडा भित्रको ३७ सम्पदालाई ध्यानमा राखेर ३७ बुँदामा प्रतिवद्धता जनाएका छन् ।
श्रीसले जनप्रतिनिधिको रूपमा आफ्नो निर्वाचन क्षेत्रको विकास तथा जनसरोकार, राष्ट्र, जनता र सुशासनका भावनाहरुको पक्षमा दृढतापूर्वक देख्ने, सुन्ने र महसुस हुनेगरी उपस्थित हुने, कानुन निर्माण कार्यमा राष्ट्र र जनताको सर्वोपारी हित र समुन्नतिलाई शिरोधार्य गरी नागरिकसँग डिजिटल तथा प्रत्यक्ष परामर्शबाट प्राप्त सुझाव बमोजिम सशक्त विधायकी भूमिका निर्वाह गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
श्रीसको प्रतिवद्धता पत्रमा सरकारका गतिविधिलाई आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण तथा समस्याको सम्बोधनसँगै राष्ट्रिय हित अनुकूल बनाउन पहल, अनुगमन तथा ध्यानाकर्षणका कार्य प्रभावकारी रूपमा गर्ने, मुलुकको राजश्व सुदृढीकरणका साथै विकास कार्यमा अन्तरसरकार निजी क्षेत्र, सहकारी, समुदाय तथा गैरसरकारी क्षेत्रसँगको सहकार्य विस्तार गरी योजना अनुशासन, विनियोजना कुशलता र कार्यान्वयन दक्षता अभिवृद्धिमार्फत आफ्नो निर्वाचन क्षेत्रभित्र प्राथमिकता क्षेत्रको पहिचान र सो क्षेत्रमा न्यायोचित बजेट विनियोजनको सुनिश्चिताका लागि प्रभावकारी भूमिकामा रहने उल्लेख गरिएको छ ।
श्रीसले संसदीय समितिमा समितिको सदस्यको रूपमा प्रस्तुत हुने विषयहरुमा विस्तृत रूपमा अध्ययन, छलफल र निर्देशन दिने कार्य दक्षतापूर्वक गर्ने, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको संसदीय सुनुवाइमा तथ्यपरक रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने छु । राष्ट्रिय हितलाई सर्वोपरि मानी अन्तर्राष्ट्रिय संसदीय मञ्च तथा कार्यक्रमहरूमा सशक्त रुपमा हुने बताएका छन् । यसका अतिरिक्त यस क्षेत्रको चौतर्फी विकासका लागि देहायका मुख्य प्रतिबद्धता पूरा गर्न पहल र अग्रसरतासँगै समर्पित रहने कुरालाई प्रतिवद्धताको रुपमा उल्लेख गरेका छन् ।
काँग्रेसले सुधाछाँ राज्यका संस्था, बदल्छौ नागरिकको अवस्था भन्ने उद्घोष गर्दै संघ प्रदेश र स्थानीय तहमा संरचानागत दोहोरोपनका कारण बढ्दो चालु खर्च र सेवा प्रवाहमा हुने झञ्झट अन्त्य गर्न चुस्त संरचना हुने गरी समावेशिक सुधार र व्यवस्थापकका लागि आवश्यक नीति कानुन निर्माण गर्ने, धवलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति गरी विशिष्टिकृत उपचारका लागि भौतारिनु पर्ने बाध्यता अन्त्य गर्न विशेषज्ञ डाक्टर, आधुनिक उपकरण आईसियु पर्याप्त बेड र २४ घण्टा आकस्मिक सेवा सुनिश्चित गर्दै एमडी अध्ययन अध्यापनका लागि पहलसँगै प्रदेश सरकारद्धारा स्वीकृत नर्सिङ अध्ययनलाई यथासीघ्र सञ्चालनका लागि आवश्यक सहजीकरण र यस अस्पताललाई गुणस्तरीय स्वास्थ्य प्रवाह एवम् मध्यस्तरीय तथा उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा विकसित गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी गराई क्यान्सर, उच्च रक्तचाप, मुटुरोग, मधुमेह, मृगौला रोग जस्ता घातक दीर्घ रोगको नियन्त्रणका लागि सचेतनाका साथै बृहतर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्दै रोगहरुका लागि निशुल्क एवम् सहुलियतपूर्ण उपचारका लागि व्यवस्था मिलाउनुका साथै स्थानीय उत्पादनमा आधारित स्वस्थ, पोषणयुक्त, विषादीमुक्त तथा सुरक्षित खानपान सम्बन्धमा सचेतना विस्तारका लागि सहकार्य गर्ने, गाँजाको औषधीय व्यावसायिक उत्पादन र स्थानीय मदिरालाई व्यावसायिक उत्पादन गरी नागरिकको आयआर्जन वृद्धिका लागि आवश्यक नीति तथा कानुन निर्माणमा अन्तरसरकार सहकार्यका साथै सहजीकरण गर्ने, शिक्षक आन्दोलनको मर्म समेतलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको परामर्शमा सङ्घीय शिक्षा ऐन मार्फत विद्यालय शिक्षा व्यवस्थित गर्ने प्रतिवद्धता जनाईएको छ ।
उच्च शिक्षामार्फत प्रतिस्पर्धी बजारलाई दिशा निर्देश गर्ने जनशक्ति निर्माण, अनुसन्धान, सिप विकास र स्थानीय ज्ञानको उपयोग गर्न सकिने शिक्षा प्रणाली विकाससँगै एसटिइएम क्षेत्रमा गुणात्मक सुधार गर्न पहल गर्ने, स्थानीय उत्पादनमा आधारित स्वस्थ पोषणयुक्त विषाधीमुक्त सुरक्षित खानपान तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने, समावेशीताको अभ्यासबाट तरमारा वर्ग लाभान्वित भइरहेको परिदृष्यलाई पहिचान गरी दलित, महिला, जनजाति, लैङ्गिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सामाजिक तथा आर्थिक रुपले पछाडि परेका खस आर्य समुदाय तथा वर्गको नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता र सशक्तिकरणका साथै सकारात्मक विभेदलाई प्रभावकारी बनाउन सर्वोच्व अदालतले दिएको आदेश अनुरूप नयाँ कानुनी तथा संरचनागत प्रबन्ध गरी, तरमारा वर्ग पहिचानका लागि एकीकृत सूचना प्रणाली र सामाजिक न्यायलाई परिष्कृत गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
श्रीसले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा ज्ञान, श्रम र संस्कृतिको सुन्दर संयोजन, हाम्रा वैज्ञानिक शिल्पकलाको संरक्षण र प्रवद्र्धन“ दलित समुदायको ज्ञान, सिप र व्यवसायको समुचित प्रयोग तथा उत्थानका निमित्त विशेष कार्यक्रमका साथै दलित समुदायले उत्पादन गरेको दुग्धजन्य वस्तुको बजारीकरणमा भोगिरहेको सांस्कृतिक समस्यालाई व्यावहारिक र कानुनी समस्या समाधान गर्ने, बागलुङको बाङ्गेचौरमा कालिका बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्न पहल कदमी लिंदै अन्य खेल पूर्वाधार र कबड्डी, भलिबल, फुटबल, क्रिकेट मार्सल आर्टलगायतका खेलको स्तर अभिवृद्धिका लागि प्रशिक्षण, सामग्री तथा प्रोत्साहन गर्ने, बागलुङ बजारको सांस्कृतिक पुनर्जागरणअन्र्तगत बागलुङको मौलिक सांस्कृतिक पहिचान पुनस्थापना गरी कालिका मन्दिरका भक्तजन तथा पर्यटकलाई बागलुङ बजारतर्फ आकर्षित गर्दै युवालाई सांस्कृतिक उद्यमशीलतासँग आवद्ध गर्ने, सूचना प्रविधिमा आधारित गिग र अर्थतन्त्रले उपलब्ध गराएका विश्वव्यापी अवसरसँग आबद्ध गरी ज्ञान, सिप र नवप्रवर्तनमा आधारित उत्पादनशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने जनाईएकोछ ।
सूचना प्रविधिले सिर्जना गरेका विश्वव्यापी अवसरहरुलाई नवयुवा (जेनजि) ले सदुपयोग गर्नसक्ने परिस्थिति निर्माण गर्न सूचना प्रविधिमा आधारित (सफ्टवयर तथा एप डेभलपमेन्ट, कोडिङ एआइ डिजिटल मार्केटिङ राइड सेयरिङ) व्यावसायिक क्षमता विकास र वातावरण निर्माण गर्न नीतिगत सहजीकरण गर्दै अबको दशकलाई ज्ञान अर्थतन्त्रका ) रुपमा मनाउनुका साथै आधुनिक पत्रकारितालाई पर्यटन तथा आर्थिक पत्रकारितालगायत नवोदित क्षेत्रमा भूमिका विस्तारसँगै हित प्रवद्र्धन गर्ने लेखिएको छ ।
विदेशमा हासिल गरेको ज्ञान, अनुभव र पुँजीलाई मुलुकको विकासमा परिचालन गर्न र विप्रेषण र गैर आवासीय नेपालीको लगानीलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न उपयुक्त वातावरण तयार गर्दै नीतिगत र व्यवहारिक सुधारका लागि पहल गर्ने, विकास कार्यक्रमलाई आय आर्जन, रोजगारी सिर्जना र राजश्व विस्तारको आधार फराकिलो बनाउन डिजिटल सेवा, सरल प्रशासन र नागरिकमैत्री सेवा प्रणाली विकास गर्ने, विना सालैजो, मारुनी, सालैजो, झाम्रे, चट्का, पञ्चेबाजा, भजन र रत्यौलीको संरक्षण तथा प्रवद्र्धनसँगै जातजातिगत सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदा संरक्षणसँगै पर्यटन विकाससँग आवद्ध गर्दै बुट्टे नली सिस्नोको पाउडरलगायतका अर्गानिक उत्पादनको ब्रान्डिङ गर्ने श्रीसको प्रतिवद्धतामा छ ।
सहकारी क्षेत्रमा देखिएको समस्या र नियोजित ठगीका कारण पीडित बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न निर्णायक हस्तक्षेप गर्ने र सहकारी संस्थालाई विश्वसनीय बनाउन नियमनकारी बलियो संरचना बनाउने, निर्वाचित जनप्रतिनिधिले जनतासँगको निरन्तर सम्बन्ध, सम्पर्क र सुझाव प्राप्त गरिरहन निर्वाचन क्षेत्रमा सांसदको कार्यालय र सामूहिक रूपमा सार्वजनिक सुनुवाइ गर्ने, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्णायक हस्तक्षेप गर्नुका साथै दुवै लोकमार्गमा आधारित रही आर्थिक अवसर सिर्जना गर्न व्यावसायिक कृषि तथा पशुपालन, उच्च मूल्यका कृषि वस्तु र स्थानीय कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योग स्थापना गर्ने उल्लेख छ ।
कृषि, पर्यटन र उद्योगबीच अन्तरसम्बन्ध कायम गरी उच्च आय, रोजगारी र आयात प्रतिस्थापनयोग्य वस्तुहरूको पहिचान र उत्पादन वृद्धि गरी मूल्य श्रृङ्खला विकासको माध्यमबाट प्रशोधन, ब्रान्डिङ र बजार विस्तार गर्ने, उद्यम गर्न चाहने युवाका लागि २५ वर्षे सहुलियत कर्जा उपलब्ध गराउन नीतिगत व्यवस्था गर्ने, व्यवसायी र विद्यार्थी बिच सहकार्य स्थापित गर्दै अर्न ह्वाईल यु लर्न कार्यक्रम लागू गर्न पहल गर्ने जनाएका छन् । श्रीसले बागलुङको कृषि पर्यटन, विकास निर्माण बाँदर नियन्त्रण लगायतका विषयलाई प्राथमिकता राखेर पतिवद्धतापत्र बनाएका छन् ।
विद्यमान वनलाई उत्पादनशील वनमा रूपान्तरण र सामुदायिक वन र बाँझो जमिनलाई आयमूलक वनमा रुपान्तरण गर्न बाँदर प्रतिकूल टिमुर, ओखर, अम्रिसो लगायतका वनस्पतिको विस्तारमा सहयोग बाँदर प्रतिकूल खेती माहुरीपालन पकेट क्षेत्र, बाख्रापालन पकेट क्षेत्र तथा टिमुर पकेट क्षेत्रको विकास गर्ने र यसका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न पहल गर्ने उनले बताए । प्राकृतिक श्रोत तथा वातावरण संरक्षण सँगै खानी तथा खनिज उत्खननलाई व्यवस्थित गरी जलवायु परिवर्तन अनुकूलनका लागि अन्तर सरकार तथा समुदाय सहकार्यलाई सुदृढ तुल्याउन पहल गर्ने बताए ।
कालीगण्डकी सभ्यता संरक्षण र कालीगण्डकी क्षेत्रको प्राकृतिक सामाजिक तथा सांस्कृतिक विशेषता झल्काउने सङ्ग्रहालयका साथै दलित सांस्कृतिक सङ्ग्रहालय र मगर सांस्कृतिक संग्रहालय निर्माण गर्ने उनको योजना छ । अक्षेते – गल्कोट सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा वैकल्पिक यातायातका पूर्वाधार विकासका लागि पहल गर्नुका साथै १० वटै वडामा बाह्रै महिना सञ्चालन हुने सडक निर्माण र बलेवा विमानस्थल सञ्चालन वा वैकल्पिक उपयोग गर्न आवश्यक पहल गर्ने बताएका छन् ।
सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र जनमैत्री गराउन नीतिगत र व्यवहारिक सुधार गर्न पहल गर्ने उनले बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले प्रतिज्ञापत्रबारे जानकारी गरएका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव जयराम भारीले गरेका थिए ।