बागलुङ । गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेला यस पनि संचालन हुने भएको छ । ‘गन्तव्य बागलुङ कालिका, स्थानीय उत्पादनको प्रबर्धन, कला संस्कृति र समृद्धिको आधार धार्मिक पर्यटन’ भन्ने मूल नाराका चैत्राष्टमी मेला यही चैत्र १० देखि चैत्र १४ गतेसम्म संचालन हुने बताइएको छ ।
प्रत्येक वर्ष बडा दशै र चैत्राष्टमीको बेलमा बागलुङ कालिका मन्दिरमा भक्तजनहरुको घुईँचो लाग्ने गर्दछ ।त्यसै अवसरमा हरेक वर्षझै यसवर्ष पनि नवरात्रको पहिलो दिनदेखिनै मेलाको तयारी थालिएको आयोजक कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक भुपेन्द्र खड्काले जानकारी दिए ।
चैत्राष्टमीको समयमा कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन । चैत्राष्टमीमा स्थानीय उत्पादनका सामाग्रीहरुको ठूलो संख्यामा प्रवरद्धन र कारोबार हुने पर्वको रुपमा समेत लिइन्छ ।
चैत्रशुक्ल अष्ठमीका दिन अर्थात चैते दशैंमा बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा अर्चना हुन्छ । यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेशकै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ ।
मेलाको अवसरमा राष्ट्रिय खुल्ला लोक तथा दोहोरी प्रतियोगिता, कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, स्थानिय लोक संस्कृति प्रर्दशन र रथयात्रा गरिने अध्यक्ष खड्काले बताउनुभयो ।
मेलाकै अवसरमा रमाईलो मेला राख्नुका साथै १६० व्यापारिक स्टल र २० वटा स्थानीय उत्पादको प्रर्वद्धनका निम्ती स्टलको व्यवस्थापन गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी जानकारी दिए ।
चैत्राष्टमी मेलाको अवसरमा हुने कालिका कप खुल्ला पुरुष भलिब प्रतियोगितामा प्रथम हुनेले ३ लाख रुपैयाँ पाउनेछ । द्धितीय हुनेले १ लाख ५० हजार रुपैयाँ र सेमिफाइनल उप विजेताले ५० हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।
कालिका कप खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ पाउनेछन् । द्धितीय हुनेले ५० हजार रुपैयाँ, सेमिफाइनल उप विजेता हुनेले १० हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । द्धितीय हुनेले एक लाख, तृतीय हुनेले ५० हजार रुपैयाँ र सर्वोत्कृष्ट गायनलाई ५ हजार रुपैयाँ दिइनेछ । छेलो प्रतियोगितामा बिजयी हुनेले ३० हजार रुपैयाँ पाउनेछन् ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतीसमेत रहने छ । मेला सम्पन्न गर्न करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
परम्परादेखि कालिका मन्दिर परिसर क्षेत्रमा लाग्दै आएको मेलालाई बागलुङ बजारसम्म जोड्ने गरी क्रियाकलापहरु संचालन गर्ने तयारी गरिएको खड्काले बताउनुभयो ।मेलामा करिब २० लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलालाई व्यवस्थित रुपमा संचालन गर्नको लागी आयोजक कालिका भगवती गुठीसहित सरोकारवाला निकाय तथा संघ सस्थाहरुसंग समन्वय र सहयोग रहने मेला आयोजक समितिले जनाएको छ ।
मेलाको अवसरमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने बताइएको छ ।कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले गरेका थिए ।