बागलुङ- बागलुङमा ४४ औं मगर दिवस मनाईएको छ । नेपाल मगर संघको ४४ औं स्थापना दिवस फागुन १५ को अवसरमा मगर एकता दिवस तथा मगर दिवस २०८२ मनाईएको हो । नेपाल मगर संघ बागलुङ नगरसमितिको मुख्य आयोजना र नेपाल मगर विद्यार्थी संघ बागलुङ, नेपाल मगर विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाई समिति बागलुङ, मगर समाजसेवा गुठी, भकुण्डेटोल मगर समुह, नेपाल मगर सांस्कृतिक संघ बागलुङ, मिनाम लाङ्घाली बागलुङ, उद्यमशिल मगर महिला समुह बागलुङ, करवाकेली पुन मगर समाज बागलुङ देउरालीचोक मगर आमा समुह लगायतका संघ संस्थाको सहआयोजनामा मगर दिवस मनाईएको हो ।
मगर दिवसको अवसरमा आयोजित ¥याली नेपाल मगर संघ बागलुङको सभाहलमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै नेपाल मगर संघ बागलुङका सल्लाहकार एवं पूर्व केन्द्रीय सदस्य तेजेन्द्र थापाले मगर समुदायको हक अधिकारका लागि मगरहरु संगठित भएको दिनलाई उत्सवको रुपमा मनाउनुपर्ने बताए । ‘राज्यको मूल प्रवाहीकरणबाट पछाडि पारिएका मगरहरुले आफ्नो हक अधिकारका लागि आजाज उठाउन सुरु गरेको दिन हो, यसलाई हामीले उत्सवको रुपमा मनाउनुपर्छ,’उनले भने,‘यो दिनमा उत्सव मात्रै मनाउने होईन हामीले प्रेरणा लिएर अगाडि पनि बढ्नुपर्छ । हाम्रो भाषा संस्कृतिमाथि भएको अतिक्रमणलाई रोक्नका लागि हामी आफै लाग्नुपर्छ ।’ मगर समुदायले प्राप्त गर्ने आफ्नो हक अधिकार अझै पनि पूर्ण रुपमा प्राप्त नभईसकेकाले थप एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो । नेपाल मगर संघ बागलुङ नगर समितिका अध्यक्ष हिराबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठारे मगर र सञ्चालन नेपाल मगर सांस्कृतिक संघका सचिव यामदिप पुनले गरेका थिए । नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार पनि कुल २० लाख १३ हजार चार सय ९८ अर्थात ६.९ प्रतिशत कुल जनसंख्या रहेको छ । यो नेपालको जातिगत जनसंख्यामा तेस्रो धेरै जनसंख्या जाति हो ।
नेपालको एकीकरणपूर्व आफ्नै भाषा, आफ्नै राज्य आफ्नै संस्कार संस्कृति र चालचलन रहेको मगर समुदाय त्यसपछि एकीकरणपछि बिस्तारै किनारामा पर्दै आएको मगर समुदायले महसुस गरेका छन् । पृथ्वीनाराण शाहकै राज्य विस्तार अभियानलाई सहयोग गरिरहेका मगर समुदायलाई राज्यले नियोजित रुपमा अतिक्रमण गरेर भाषा, कला संस्कार संस्कृति र पहिचानलाई मेट्ने काम गरेको उनीहरुको गुनासो छ । राज्यको बहिस्करणमा परेका मगर समुदायले २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक मगर संघको महाधिवेसन भएको दिनलाई स्मरण गर्दै मगर दिवस मनाउने गरेका छन् । मगरहरुको इतिहास गर्विलो छ । राणा शासनको विरुद्धमा पहिलो पटक आम नागरिकलाई गोलबन्द गर्दै प्रजातन्त्रका लागि आफ्नो ज्यानको बलिदानी दिएका प्रथम सहिद क्याप्टेन लखन थापा समुदायकै हुन् । मगर अगुवाहरुले १९९७ देखि नै मगरहरुलाई गोलबन्द गर्ने प्रयास भने गर्दै आएका भेटिन्छ । १९९७ मा दार्जिलिङमा मगरहरु संगठित हुने प्रयास गरेका थिए । २०१२ सालमा गुल्मीको भार्सेको मगरगाउँमा गिरीप्रसाद बुढाथोकीको अध्यक्षतामा मगर सुधार संघ गठन भयो ।
२०१३ सालमा म्याग्दीमा विपत्तीमापरेकालाई सहयागग र्ने उद्देश्यले मेजर टेकबहादुर पुनमगरको नेतृत्वमा मगर भेला भएको थियो । २०१४ साल फागुनमा मगर सुधार संघको पश्चिमाञ्चल सम्मेलनले गिरीप्रसाद बुढाथोकीमगरलाई सभापति बनायो । २०१३ सालमा रणबहादुर आलेमगरले गोर्खामा मगर भेला गरेका थिए भने २०१३ मै एकदेव आलेमगरले तनहुँमा मगर भेला गरे । २०१४ मा तनहुँको कुलुङ गाउँमा एकदेव आलेमगरकै नेतृत्वमा मगर सम्मेलन भयो । २०१७ को पञ्चायती शासन सुरु भएपछि राजनीतिक र सामाजिक संघ संस्थाहरुमाथि प्रतिवन्ध लाग्यो । त्यो बेला वनभोज लगायतका कार्यक्रम गरेर मगरहरुलाई प्रशिक्षित गर्ने काम भए । २०२८ मा अध्यक्ष खिलध्वज थापामगर, उपाध्यक्ष माया रानामगर र महासचिव कुलबहादुर रानामगर (केवि राना) रहेको लाङ्घाली परिवार काठमाडौंमा गठन भयो । २०३२ सालमा कानुङ लाङ्घाली परिवार रुपन्देहीमा बन्यो । २०३५ सालतिर बागलुङ, सुर्खेत, बाँके, दैलेख, पाल्पा लगायतका जिल्लामा मगर सुधार समिति बने कास्कीमा लाङ्घाली परिवार बन्यो । २०३६ मा काठमाडौंमा अध्यक्ष डा. हर्षबहादुर बुढामगर रहेका लाङ्घाली परिवार बन्यो ।
२०३८ साल माघ २८ देखि २९ गते रुपन्देहीको बुटवलमा भएको भेलाले बाबुराम रानामगरको अध्यक्षतामा कानुङ लाङ्घाली परिवारको केन्द्रीय तदर्थ समिति बनायो । २०३८ सालमा कानुङ लाङ्घाली परिवार र लाङ्घाली परिवारलाई गाभेर नेपाल लाङ्घाली परिवार संघको केन्द्रीय तदर्थ समिति बन्यो । त्यही तदर्थ समितिले पञ्चायती शासनको घेरबन्दीका बीच २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा हजार मगर समुदायको उपस्थीतिमा ऐतिहासिक प्रथम अधिवेसन गरी म्याग्दीका हेमबहादुर पुन मगरको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समिति निर्माण ग¥यो । जससको सदस्यमा बागलुङका यामबहादुर श्रीस मगर पनि थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन १५ मा मगर दिवस मनाउँदै आईएको छ ।