स्वास्थ्य विमाका कारण उपचारमा सहज 

  • ब‌ैशाख २९, २०८०

गंगा शर्मा बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटाका रमा शर्मा आफ्नो आमालाई उपचारका लागि धौलागिरी अस्पताल पुगिन ।  आमाका लागि लाग्ने उपचार खर्च  न साथमा छ न कतैबाट जोहो गरेकी छन । उनको साथमा केबल स्वास्थ्य विमाको सेतो कार्ड छ । उनले विमाको कार्ड देखाएर आमाको सम्पुर्ण उपचार गरिन खर्च त्यहीबाट काटियो । गत वर्ष ३ हजार ५ सय रकम तिरेर स्वास्थ्य विमा गरेकी शर्मा र उनको परिवारले अहिले सहज रुपमा सेवा लिँदै उपचार गर्दै आएका छन । उनि र उनको परिवारले स्वास्थ्य विमा गरे सँगै अस्पताल जाँदा कहिलै पनि पैसा बोक्दैनन । ‘विगतमा अस्पताल जाँदा पैसा बोकेर जानु पथ्र्यो,’ शर्माले भनिन्, ‘अहिले बिमा कार्ड बोकेर गएपछि उपचार हुन्छ ।’ आर्थिक अवस्था कमजोर भएकालाई निकै सजिलो भएको उनले बताइन् । ‘३५ सय रुपैयाँ तिरेर बिमाको सदस्य बनेका थियौं,’ शर्माले भनिन्, ‘अस्पतालमा उपचारका लागि झण्डै २० हजार बराबर त खर्च भै सके होला १ लाख रुपैयाँ सम्म निःशुल्क उपाचार हुन्छ यसले हाम्रो परिवारलाई ठुलो राहत दिएको छ । शर्मा जस्तै अहिले धौलागिरी अस्पतालमा दैनिक न्युनतम ३०० जना विमित सदस्य नियमित सेवा लिएका छन ।
 
४० प्रतिशत नागरिक हाल स्वास्थ्य विमामा आवद्ध
    पछिल्लो समयमा जिल्लामा स्वास्थ्य विमा गर्ने लहरनै चलेको छ । स्वास्थ्य बिमाबाट विमित परिवारलाई १ लाख रुपैयाँ बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भए पछि बिमा कार्यक्रममा सहभागी हुनेको संख्या पनि उल्लेखनिय बृद्धि भएको छ ।  जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य विमामा आवद्ध रहेका छन । अहिले सम्म ३१ हजार ९१० परिवारका ९७ हजार ९८९ जना विमित सदस्य रहेको स्वास्थ्य विमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायण प्रसाद पौडेलले जानकारी दिए । गएको वर्ष भन्दा यस वर्ष विमा गर्नेको संख्या झण्डै ७ प्रतिशतले बृद्धि भएको छ । विमित सदस्य मध्ये जिल्लामा ५१ हजार ७ सय ७३३ जना महिला र ४६ हजार २६१ जना पुरुष रहेको पौडेलले जानकारी दिए । ‘बिपन्न समुदायको लागि स्वास्थ्य बिमा निकै प्रभाबकारी बनेको छ,’ पौडेलले भने, ‘बिमित सदस्य बन्ने लहरनै चलेको छ ।’ बिमा गराएपछि वर्षको एक पटक आफ्नो स्वास्थ्य अवस्था जाँच गर्ने पनि बढेका छन, सानो लगानीबाट धेरै फाइदा हुने भएकाले सबै आकर्षित भएका हुन्,यो वर्ष ५० प्रतिशत पु¥याउने  नागरिकलाई बिमाका आबद्ध गराउने योजना छ ।’

स्थानिय तहले विमालाई प्राथमिकता
पछिल्लो समयमा स्वास्थ्य विमा प्रति स्थानिय तह उत्तरदायी बन्दै गएका कारण विमामा आवद्ध हुने सदस्य पनि बढ्दै गएको पौडेल बताउँछन । स्वास्थ्य विमाका लागि जिल्लाको निसीखोला गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा नै समावेश गरी सवै नागरिकलाई स्वास्थ्य विमामा आवद्ध गराउन निःशुल्क स्वास्थ्य विमा कार्यक्रम अगाडी सारेको छ । त्यस्तै काठेखोला गाउँपालिका तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका जैमिनी नगरपालिकाले पनि गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य विमा गर्ने नितिगत निर्णय गरेरै कार्यक्रम अगाडी बढाएको छ । यसले जिल्लामा स्वास्थ्य विमा गर्नेको संख्या झनै बढ्दै गएको दर्ता अधिकारी पौडेलले बताए । विगतका वर्षमा भन्दा यस वर्ष ७५ प्रतिशत विमित सदस्यले आफ्नो सदस्यता नविकरण समेत गरेको उनले बताए । बिमा कार्यक्रममा सहभागी गराउनको लागि जिल्लामा ७८ जना दर्ता सहयोगी खटाईएको स्वास्थ्य  विमा बार्डले जनाएको छ । 

स्वास्थ्य बिमा गरेका बिरामीका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पताल, ढोरपाटनमा रहेको बुर्तिबाङ प्रास्वाके, गल्कोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पताल प्रथम सेवा विन्दुको रुपमा रहेर बिमितहरूलाई उपचार सेवा दिइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा बताउँछन ।  प्रथम सेवा विन्दुबाट रिफर गर्दा  पोखरा, बुटबलमा रहेका सरकारले तोकेका अस्पतालमा रेफर गरी त्यहाँबाट विरामीले सेवा लिँदै आएका छन । स्वास्थ्य बिमा लागु भएका अरु जिल्लाको तुलनामा बागलुङमा धेरै जना सदस्य बनाउन सफल भएको शर्माले बताए । 
अस्पतालमा दैनिक ८० प्रतिशत विमा गरेका विरामी
विमाले जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन ईसीजी र अटोएलाईजर लगायतका उपकरण प्रदान गरेको छ । अस्पतालमा मात्रै दैनिक ८० प्रतिशत विरामी स्वास्थ्य बिमाका विमित सदस्य आउने गरेको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले बताए । ‘विमा कार्यक्रम अस्पतालमा दैनिक सेवा लिन आउने बिरामीको संख्या दैनिक ३ सयको हाराहारी छ ।,’ प्रधानले भने, ‘ यहाँ आउने विरामी विपन्न मात्र नभएर सवै प्रकारका छन, स्वास्थ्य बिमाका अस्पतालमा छुट्टै फार्मेसी पनि छ, सेवा र औषधी निशुल्क पाउँदा आम नागरिकलाई उपचारमा सहज भएको छ ।’ उनले ग्रामिण क्षेत्रका विपन्न परिवारलाई अझै पनि विमाको बारेमा जानकारी हुन नसक्दा उनिहरु विमित हुन नसकेको बताए । विमाको बारेमा जान्ने बुझ्नेलाई मात्र बढि थाहा छ यहाँ आउने विरामी मध्ये विपन्न परिवारकाले कमै विमा गरेको पाईएको छ प्रधानले भने, अझै पनि यो कार्यक्रम लक्षित वर्ग सँग पुग्न सकेको छैन लक्षित वर्गमा पुगे अझै प्रभावकारी बन्ने थियो ।’  विमित सदस्यले १ हजार १५० औषधी निशुल्क रुपमा प्राप्त गर्दछ । बिमा कार्यक्रम निम्न र मध्यमवर्गीय परिवार बढि आकर्षित गर्न खोजिए पनि उनिहरु समावेश हुन नसकेको डा. प्रधान बताउँछन । 
३५ सय तिरेर १ लाख सम्मको उपचार
पाँच जनाको परिवारले ३ हजार ५ सय रुपैयाँ तिरेमा एक वर्ष सम्मका लागि १ लाख रुपैयाँ सम्मको उपचारका लागि रकम तिर्नु पर्दैन । यदी परिवारमा थप संख्या भए १ जना बराबर ७ सय थप गर्नुपर्छ । विमा कार्यक्रममा जेष्ठ नागरिक, अति गरिब परिवार, एचआईभि एड्स संक्रमित र क्षयरोगका विरामीलाई निःशुल्क गरिएको छ । 
 

प्रतिक्रिया