बागलुङ- गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै निर्वाचित जनप्रतिनिधिहरु पदबहाली पनि गरिसकेका छन । पदबहाली सँगै उनिहरुले पहिलो निर्णय केही लोकप्रिय र फरक पनि गरेका छन । जिल्लाका १० स्थानिय तह मध्ये बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र उपाध्यक्ष भिमसेन वनले सोमबार पदबहाली गरेका छन । पदबहाली पश्चातको पहिलो निर्णय गाउँपालिका भित्रका जो नागरिक स्वास्थ्य बिमा गर्न छुटेका छन उनिहरुलाई गाउँपालिकाको तर्फबाट बिमा गरिने भएको छ ।
स्वास्थ्य सेवा सहज रुपमा पाउनु आम नागरिकको नैसर्गिक अधिकार भएका कारण सरकारले लागू गरेको स्वास्थ्य बिमामा विभिन्न कारणले छुटेका पालिका भित्रका नागरिकलाई बिमा गरिने भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी जानकारी दिईन ।
गाउँपालिकाले स्थानीय विवादहरुको दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन सवै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने भएको छ । गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक भिमसेन अनुसार मेलमिलाप सम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरी न्यायमा समुदायको सहज पहुँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेने निर्णय गरिएको छ । समुदायमा हुने विवादलाई न्यायिक समितिबाट वडामा सञ्चालित मेलमिलाप केन्द्रमा आवद्ध मेलमिलापकर्ताले सहजीकरण गरी दुवै पक्षहरूको सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग केन्द्रले सहयोग गर्ने छ । स्थानीयस्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गरी स्थानीय विकास प्रकृयालाई टेवा पु¥याउन महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तिकरण गरी सहभागिता मूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवअधिकार र नागरिक हितको सम्वर्द्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ । गाउँपालिकाले प्रारम्भिक सिकाई केन्द्र बालविकासहरुको व्यवस्थापन गर्ने भएको छ । बालबालिका भनेको भबिस्यका कर्णधार हुन, उनिहरुको सिकाइ प्रभावकारी हुनुपर्ने भएकाले बालविकास केन्द्रहरुलाई आवश्यक शैक्षिक सामाग्री सहित व्यवस्थापन गरिने अध्यक्ष अधिकारीले बताईन ।