• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम, ‘एक बोट, सयको नोट’देखि ‘नगरको छोरी’लाई १० हजारसम्म (पूर्ण पाठ)

  • असार १७, २०८३

बागलुङ, । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधारलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलाई उच्च प्राथमिकतामा राखिएको छ।

नीति तथा कार्यक्रममा छोरी जन्म प्रोत्साहनका लागि सञ्चालन हुँदै आएको ‘नगरको छोरी’ कार्यक्रम अन्तर्गत दिइँदै आएको पाँच हजार रुपैयाँलाई बढाएर १० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरिएको छ। त्यसैगरी बाँझो जमिनमा फलफूल, कफी, टिमुर वा जडीबुटीका बिरुवा रोपेर संरक्षण गर्ने किसानलाई ‘एक बोट, सयको नोट’ कार्यक्रममार्फत पहिलो वर्ष प्रतिजीवित बिरुवामा १०० रुपैयाँ प्रोत्साहन अनुदान दिने व्यवस्था गरिएको छ।

नगरपालिकाले आगामी आर्थिक वर्षभित्र वडा नम्बर ९, १० र ११ लाई कालोपत्रे सडक सञ्जालमा जोड्ने, बागलुङ बजारको भेलपानी व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने तथा बजारका मुख्य तथा सहायक सडकहरू स्तरोन्नति गर्ने लक्ष्य पनि लिएको छ।

कृषि उत्पादन प्रवर्द्धनका लागि सुन्तलामा प्रतिकेजी १० रुपैयाँ, हरियो तरकारीमा प्रतिकेजी ५ रुपैयाँ, दूधमा प्रतिलिटर ५ रुपैयाँ तथा अण्डामा प्रतिक्यारेट २० रुपैयाँ प्रोत्साहन अनुदान दिने नीति लिइएको छ। भैँसीबाट जन्मिएका पाडा–पाडी संरक्षण गर्ने किसानलाई प्रतिपशु १० हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम पनि समावेश गरिएको छ।

शिक्षातर्फ प्रत्येक माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड, डिजिटल सिकाइ प्रणाली, एआई र रोबोटिक्समा आधारित शिक्षण तथा प्रत्येक वडाबाट कृषि प्राविधिक अध्ययन गर्ने एक–एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख छ।

स्वास्थ्य क्षेत्रमा बागलुङ नगर अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अन्तरङ्ग सेवा सञ्चालन, विशेषज्ञ चिकित्सक व्यवस्थापन, पूर्ण खोप सुनिश्चितता, मानसिक स्वास्थ्य कार्यक्रम तथा विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

पर्यटन प्रवर्द्धनका लागि ‘जाऊ है बागलुङ’ अभियान विस्तार गरिने, राँयराँयकोटमा अन्तर्राष्ट्रियस्तरको रक क्लाइम्बिङ पूर्वाधार निर्माणका लागि पहल गरिने तथा होमस्टे सञ्चालन गर्नेहरूलाई वार्षिक १५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइने नीति लिइएको छ।

सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन, उत्कृष्ट रूपमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने परिवारलाई सम्मान, बेसहारा सडक मानवमुक्त पालिका घोषणा गर्ने अभियान तथा विपन्न परिवारलाई दाहसंस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग उपलब्ध गराइने कार्यक्रम पनि समेटिएको छ।

नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने, अनलाइन कर प्रणाली लागू गर्ने, पेपरलेस प्रशासनतर्फ अघि बढ्ने तथा ड्रोनमार्फत सुरक्षा निगरानी र विपद् उद्धार प्रणाली विकास गर्ने लक्ष्य पनि लिएको छ।

नगरप्रमुख श्रेष्ठले विगत चार वर्षमा सुशासन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पर्यटन र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गर्दै आगामी वर्ष उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, दिगो पूर्वाधार र नागरिकमैत्री सेवामार्फत समृद्ध बागलुङ निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे। निति तथा कार्यक्रमको विस्तृत पूर्ण पाठ । 

मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर, समृद्ध, सांस्कृतिक बागलुङ नगर”

बागलुङ नगरपालिकाको १९ औँ नगर सभामा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को
नीति तथा कार्यक्रम

सभा उपाध्यक्षज्यू,
सभा सदस्यज्यूहरू,

नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई हृदयङ्गम गर्दै, स्थानीय सरकार सञ्चालन ऐन, सोह्रौँ योजना र दिगो विकासका लक्ष्यहरूलाई मार्गदर्शक मान्दै, बागलुङ नगरको भविष्यको रूपरेखा कोर्ने खाकासहित आज म यस ऐतिहासिक एवं गरिमामय सभामा बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमसहित उपस्थित भएको छु।

सयौँ विशेषताले समृद्ध मेरो प्रिय बागलुङ र यही बागलुङ जिल्लाको सदरमुकाममा अवस्थित धार्मिक एवं सांस्कृतिक चिनारीसहितको मेरो बागलुङ, हाम्रो बागलुङ र हामी सबैको बागलुङ नगरको विकास र समृद्धिको साझा सपनालाई साकार पार्न आदरणीय नगरवासीहरूले दिनुभएको निरन्तर साथ, सहयोग र भरोसाकै जगमा आज हामीले अनेकौँ चुनौतीहरूलाई चिर्दै जनभावना अनुरूप काम गरेको चार वर्ष पूरा भएको छ। यो यात्रा हाम्रो संकल्पहरूलाई कार्यरूप दिने एउटा साझा चौतारी बनेको छ।

यो ऐतिहासिक घडीमा, नेपालको युगान्तकारी परिवर्तन, राष्ट्रको रक्षा र अग्रगमनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात/अज्ञात अमर शहीदहरूप्रति शिर झुकाउँदै भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु। साथै, परिवर्तनका संवाहक अग्रज नेतृत्व, लोकतन्त्रका अथक योद्धाहरू र नागरिक समाजप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।

हामीलाई विश्वासको अमूल्य मत दिएर नगरको सेवा गर्ने पवित्र अवसर सुम्पनु हुने सम्पूर्ण आदरणीय नगरवासीहरूमा हार्दिक नमन गर्दछु। तपाईँहरूको यो विश्वास केवल एउटा मत मात्र होइन, हाम्रो काँधमा सुम्पिएको पवित्र जिम्मेवारी, आशा र एउटा अटल भरोसा हो। यहाँहरूले हामीमाथि राख्नु भएको अगाध माया र सद्भावलाई साक्षी राखेर, म नगरको समग्र विकास, सुशासन र समृद्धिका लागि पूर्ण इमान्दारिता, निष्ठा र समर्पणका साथ खटिरहने दृढ संकल्प पुनः स्मरण गर्न चाहन्छु। हाम्रो स्पष्ट मान्यता छ— विकास केवल तथ्याङ्क र कागजको दराजमा सीमित हुनुहुँदैन। यसको वास्तविक प्रतिफल हरेक नागरिकले आफ्नै घरदैलोमा, आफ्नै चुल्हो र जीवनमा अनुभूत गर्न पाउनुपर्छ। यही मूल मन्त्र र भावनालाई आत्मसात् गर्दै, सिङ्गो बागलुङ नगरको रूपान्तरण र समृद्धिका लागि यो नीति तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु।

सर्वप्रथम यस पूर्व हामीले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनको क्रममा प्राप्त गरेका मुख्य मुख्य उपलब्धिहरूलाई संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  1. नगरपालिकाले सुशासन, सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक विकास तथा आर्थिक समृद्धिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सीमित स्रोत–साधन, न्यून बजेटका चुनौती तथा विभिन्न संरचनागत कठिनाइका बीच पनि नगरपालिकाले नागरिकमैत्री शासन प्रणाली स्थापित गर्दै संस्थागत सुदृढीकरण गरी प्रशासनिक सेवामा सुधार, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग तथा सहज पहुँचको सुनिश्चितता गरेको छ। नागरिकता सिफारिस, घटना दर्ता, सामाजिक सुरक्षा, राजस्व तथा नक्सापास लगायतका सेवाहरूलाई अनलाइन प्रणालीमा आबद्ध गरी प्रविधिमैत्री बनाइएको छ। सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षणमार्फत जवाफदेहिताको अभ्यासलाई संस्थागत गरिएको छ। चार वर्षको अवधिमा ७२ वटा कानुन निर्माण गरी स्थानीय शासन प्रणालीलाई थप व्यवस्थित बनाइएको छ। पदबहाल गर्दाको समयमा संघीय मन्त्रालयले स्थानीय तहलाई मापन गर्ने स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (LISA) मा ३७.५ अङ्कसहित कमजोर मूल्याङ्कनमा रहेको अवस्थाबाट क्रमशः सुधार गर्दै ८४ र ८७.५ अङ्कसहित जिल्लाको प्रथम र प्रदेशको तृतीय स्थान हासिल गर्न सफल भएको छ।

  2. आफ्नै कार्यालय भवन नहुँदा हिलो, धुलो, डुबान तथा अव्यवस्थित अवस्थामा रहेको हालको प्रशासनिक भवन तथा परिसरलाई सुधार र केही नयाँ संरचना थप गरी कार्यसम्पादनका लागि अनुकूल वातावरण निर्माण गरिएको छ। दीर्घकालीन समाधानका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ।

  3. स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्दै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गरिएको छ। स्वास्थ्य सूचना प्रणालीको सुदृढीकरण, ग्रामीण अल्ट्रासाउण्ड सेवा, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा तथा विशेषज्ञ स्वास्थ्य शिविरमार्फत नगरवासीलाई प्रत्यक्ष रूपमा स्वास्थ्यको लाभ लिन सक्ने वातावरण सिर्जना गरिएको छ। बर्थिङ सेन्टर, शहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरूमा ल्याब सेवा तथा अन्य स्वास्थ्य सेवाहरू विस्तार गरिएको छ। यो अवधिमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।

  4. विद्यालयहरूमा खानेपानी, शौचालय, बालमैत्री तथा विद्यार्थीमैत्री पूर्वाधार निर्माण गरिएको छ। विद्यालय समायोजन र पुनर्संरचनाबाट शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ। शिक्षक क्षमता विकास, छात्रवृत्ति कार्यक्रम, विद्यालय नर्स सेवा तथा सूचना प्रविधिमैत्री शिक्षण वातावरण विस्तार गरिएको छ।

  5. यस नगरलाई जिल्लाको दोस्रो, प्रदेशको चौथो र देशकै २५ औँ बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्न सफल भएका छौँ। यससँगै बालश्रम मुक्त, बालविवाह मुक्त नगरको रूपमा स्थापित गरिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा हिंसा प्रभावित समूहका लागि संरक्षण, परामर्श, सीप विकास तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी महिला सशक्तीकरण, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक न्याय प्रवर्द्धनमा विशेष जोड दिइएको छ।

  6. नगरपालिकाले सडक, खानेपानी, सिँचाइ, पदमार्ग तथा सामुदायिक भवन निर्माणलाई उच्च प्राथमिकता दिएको छ। अधिकांश वडा कार्यालयहरू कालोपत्रे सडक सञ्जालसँग जोडिएका छन्। कार्यकाल अवधिमा ४७.१ कि.मि. कालोपत्रे सडक, १३.२९ कि.मि. ढलान सडक, ३३.३ कि.मि. ग्राभेल सडक, १०.५ कि.मि. नयाँ सडक तथा ५४.०६ कि.मि. पक्की नाली निर्माण सम्पन्न गरिएको छ। खानेपानी तथा सरसफा क्षेत्रमा १,२७७ धारा, ४१ वटा ट्याङ्की, ३६ वटा इन्टेक तथा ६०.२० कि.मि. पाइपलाइन विस्तार गरी खानेपानी पहुँचमा उल्लेखनीय सुधार गरिएको छ। विभिन्न क्षेत्रमा विभिन्न भवन निर्माण, स्मार्ट शौचालय निर्माण, बालमैत्री उद्यानहरू निर्माण भएका छन्। सिँचा पूर्वाधार विस्तारबाट हजारौँ हेक्टर कृषि भूमिमा सिँचाइ सुविधा पुगेको छ।

  7. मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको उच्चतम फाइदा उपयोग गर्दै यस क्षेत्रमा ब्लुहिल पर्यटकीय गन्तव्य जस्ता पर्यटकीय क्षेत्रको पहिचान गरी निर्माण कार्य अगाडि बढेको छ। यसका साथै प्रसिद्ध कालिका भगवती, पञ्चकोट, भैरवस्थान, शालिग्राम सङ्ग्रहालय, गण्डकी स्वर्णिम झुला लगायत यस क्षेत्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार, पर्यटन सूचना केन्द्र, पर्यटन क्यूआर कोड, होमस्टे प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार निर्माणमार्फत यस नगरलाई महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको छ। नगरको खेलकुदलाई गौरवपूर्ण बनाउनका लागि प्रदेशस्तरीय प्रतियोगिताहरू सञ्चालन गरिएको छ। यसका साथै राष्ट्रपति रनिङ शिल्ड र मेयर कप प्रतियोगिताहरू मार्फत खेलप्रतिको जिम्मेवारीलाई अझै उचाइमा पुर्‍याइएको छ।

  8. कृषि तथा पशुपालन क्षेत्रमा उत्पादन वृद्धि, व्यवसायीकरण लगायत आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालन गरी ७२ वटा समूहमार्फत कुल १,९९३ महिलाहरूलाई समूहमा आबद्ध गरी बाख्रा, बोका, कृषि औजार वितरण, गोठ/खोर सुधार, आधारशिला, समूह व्यवस्थापन, पशुपालन, तरकारी उत्पादन लगायतका तालिम दिने कार्य सम्पन्न गरिएको छ। सुन्तला, किवी, ओखर तथा तरकारी खेती विस्तार, कृषि सामग्री वितरण, सीप विकास तथा पशु स्वास्थ्य सेवा विस्तारबाट कृषकको आय आर्जनमा सकारात्मक प्रभाव परेको छ।

  9. स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी एम्बुलेन्स तथा उद्धार सेवा सञ्चालन गरिएको छ। बजार क्षेत्रमा रात्रीकालीन सुरक्षाका लागि १० वटा हाईमास्ट सडक बत्ती लगायतका अन्य बत्तीहरु जडान, फोहोरमैला व्यवस्थापन तथा “क्लिन बागलुङ” अभियानमार्फत स्वच्छ र सुरक्षित नगर निर्माणमा योगदान पुगेको छ।

  10. समग्रमा, नगरपालिकाले सुशासन, सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा आर्थिक विकासका क्षेत्रमा हासिल गरेका उपलब्धिहरूले नगरवासीको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै आगामी दिनमा समृद्ध, सुशासित, समावेशी तथा दिगो नगर निर्माणतर्फ अघि बढ्ने प्रण गर्दछु।

सभा सदस्यज्यूहरू,

अब म, चालु आवको नीति तथा कार्यक्रम तयारीको क्रममा लिइएका आधारहरूलाई प्रस्तुत गर्न गइरहेको छु।

  • नेपालको संविधानले परिकल्पना गरेको स्थानीय सरकारको भूमिका तथा अधिकारहरू।

  • संघ तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरू।

  • दिगो विकास लक्ष्य (SDGs) तथा राष्ट्रिय विकासका प्राथमिकताहरू।

  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानुनहरू।

  • चालु (सोह्रौँ) पञ्चवर्षीय योजना र बागलुङ नगरपालिकाको आवधिक योजना।

  • नगरवासीका आवश्यकता, अपेक्षा र विभिन्न माध्यमबाट प्राप्त सुझावहरू।

  • विगतका नीति तथा कार्यक्रमहरूको समीक्षा तथा प्राप्त उपलब्धिहरू।

  • सूचना प्रविधिको उपयोग, प्रभावकारी सेवा प्रवाह र डिजिटल सुशासन।

नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्रहरू

  • आर्थिक विकास र उत्पादन वृद्धि।

  • रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन।

  • कृषि आधुनिकीकरण र खाद्य सुरक्षा।

  • पूर्वाधार विकास।

  • सुशासन, पारदर्शिता र सार्वजनिक सेवाको गुणस्तर वृद्धि।

  • शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा।

  • वातावरण संरक्षण, जलवायु अनुकूलन तथा दिगो विकास।

सभा सदस्यज्यूहरू,

विगतका वर्षहरूमा हामीले चालेका कतिपय कदमहरू केवल योजना मात्र थिएनन्, ती बागलुङको रूपान्तरणका प्रस्थानबिन्दु थिए। ती नीतिहरूको सफल कार्यान्वयनले विकास र समृद्धिको जग बलियो बनाएको छ। त्यसैले, हिजोका ती सफल र गौरवशाली नीतिहरूलाई निरन्तरता दिँदै, बागलुङको विकासलाई नयाँ उचाइमा पुर्‍याउने गरी “उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधारको वर्ष” का रूपमा आगामी आर्थिक वर्षका केही दूरगामी र महत्वाकांक्षी नीति तथा कार्यक्रमहरू म सर्वप्रथम यस सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु।

    1. छोरी सुरक्षित र आत्मनिर्भर नभएसम्म समृद्ध समाजको परिकल्पना अधुरो रहन्छ भन्ने सत्यलाई आत्मसात् गर्दै, समाजमा अझै पनि आमा र नवजात छोरीले भोग्नुपर्ने सामाजिक विभेद तथा अमानवीय दृष्टिकोणलाई जरैदेखि चिर्न र छोरीलाई उच्च शिक्षाको उज्यालोसम्म पुर्‍याउने सञ्चालित “नगरको छोरी कार्यक्रम” लाई थप परिष्कृत गरी निरन्तरता दिइनेछ। छोरीको जन्मलाई बोझ होइन, उत्सवका रूपमा मनाउने संस्कारको विकास गर्न यसअघि नगरपालिकाले दिँदै आएको रु. पाँच हजारमा शतप्रतिशत थप गरी रु. दश हजार पुर्‍याइनेछ। जसले बागलुङका छोरीहरूको आत्मसम्मान मात्र बढाउने छैन, बरु समाजको सोच बदल्ने एउटा ऐतिहासिक कोशेढुङ्गा साबित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ।

    2. विकास र समृद्धिको पहिलो र मुख्य आधार नै भौतिक पूर्वाधार हो भन्ने वास्तविकतालाई आत्मसात् गर्दै, समग्र नगर र नगरवासीको आर्थिक/सामाजिक रूपान्तरणका लागि हामीले सडक पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सर्वोच्च प्राथमिकतामा राखेका छौँ। नगरपालिकाको केन्द्रदेखि प्रत्येक वडा कार्यालयसम्म बाह्रै महिना चल्ने पक्की सडक पुर्‍याउने हाम्रो संकल्पलाई मूर्तरूप दिने क्रममा हामीले वडा नं. , , , १२, १३ र १४ मा पक्की सडक सञ्जाल पुर्‍याउन सफल भएका छौँ। हिजोका चुनौतीहरूलाई चिर्दै सफलतातर्फ अघि बढेको यो यात्रामा, अब पक्की सडकको व्यग्र प्रतीक्षामा रहेका वडा नं. , १० र ११ का नगरवासीहरूको सपनालाई चाँडै साकार पार्न, ती वडाहरूलाई आगामी वर्षभित्रै पक्की सडक सञ्जालमा जोड्ने दृढ अठोटका साथ अगाडि बढेका छौँ।

    3. हरेक वर्षायाम सुरु हुनासाथ भिरालो भू–भागबाट उर्लेर आउने भेलपानीका कारण बागलुङ बजार क्षेत्र जलमग्न हुने, हाम्रा आदरणीय नगरवासीका घर/आँगनहरू डुबानमा पर्ने, सडकहरू भत्किने र नागरिकको आवतजावत एवं दैनिक जीवन नै असुरक्षित र कष्टकर बन्ने दशकौँदेखिको नियतिप्रति हामी चिन्तित छौँ। नगरवासीले हरेक वर्षातमा भोग्नुपर्ने यो सास्ती, डर र पीडाको अब स्थायी अन्त्य हुनैपर्छ भन्ने दृढ मान्यताका साथ, बागलुङ बजारको भेलपानी व्यवस्थापनलाई एउटा चुनौतीपूर्ण तर अनिवार्य गौरवको आयोजनाका रूपमा दीर्घकालीन र स्थायी समाधानका लागि आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी द्रुत गतिमा अगाडि बढेका छौं।

    4. बागलुङ बजार क्षेत्रका जीर्ण बनेका सडक र खाल्डाखुल्डी परेका गल्लीहरूले एकातिर हाम्रो आफ्नै विकासको गतिलाई गिज्याइरहेका छन् भने, अर्कोतिर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका सामु हाम्रो साख र सुन्दरतालाई धमिलो बनाउँदै यात्रालाई कष्टकर र असहज बनाइरहेका छन्। बजारको यो कुरूप र जीर्ण अवस्थालाई सधैँका लागि अन्त्य गरी बागलुङ बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउनु हाम्रो प्रतिष्ठाको विषय हो भन्ने बोधका साथ, आगामी आर्थिक वर्षभित्र बजार क्षेत्रका सम्पूर्ण मुख्य तथा सहायक सडक र गल्लीहरूलाई अनिवार्य रूपमा पक्की तथा स्तरोन्नति गरिसक्ने दृढ अठोट र कार्ययोजनाका साथ यो अभियानलाई युद्धस्तरमा अगाडि बढाइनेछ। सडकमा देखिने साना खाल्डाखुल्डीहरूको तत्काल मर्मत–सम्भार कार्य गर्नका लागि आवश्यक पर्ने सानो आकारको मेसिन कार्यान्वयनमा ल्याइनेछ।

    5. हाम्रो आस्थाको धरोहर मानिने धरती माता र पर्यावरणको रक्षा गर्दै बाँझो जमिनलाई हराभरा बनाउन र किसानलाई सिधै उत्पादनसँग जोड्न आगामी आर्थिक वर्षदेखि पर्यावरणमैत्री नवप्रवर्तन नीतिका रूपमा “एक बोट, सयको नोट” कार्यक्रम सञ्चालन गरिनेछ। यस नीति अन्तर्गत पालिकाभित्रका बाँझो र खाली जमिनमा फलफूल, कफी, टिमुर वा बहुमूल्य जडीबुटीका बिरुवा रोपी संरक्षण गर्ने किसानलाई प्रोत्साहनस्वरूप प्रतिजीवित बोट पहिलो वर्ष रु. १००, दोस्रो वर्ष रु. ७५, तेस्रो वर्ष रु. ५० र चौथो वर्ष रु. २५ सिधै नगद अनुदान उपलब्ध गराइनेछ। कृषि वन (Agro-forestry) को अवधारणामा आधारित यो कार्यक्रमले एकातिर गाउँघरमा बढ्दै गएको बसाइँसराइ र बाँझो जमिनको चुनौतीलाई रोक्नेछ भने, अर्कोतिर किसानको श्रमको सम्मान गर्दै उनीहरूलाई आत्मनिर्भरत र दीर्घकालीन आर्थिक समृद्धिको बाटोमा डोर्‍याउनेछ भन्ने हाम्रो अटल विश्वास रहेको छ।

    6. हाम्रो गौरव, हाम्रो सुन्दर बागलुङ बजारलाई थप आकर्षक, सफा र व्यवस्थित बनाउन बजार क्षेत्रभित्र रहेका विद्युतीय पोलहरूमा राष्ट्रियताको पहिचान झल्किने नेपालको राष्ट्रिय झण्डा अंकित रंग पेन्टिङ गरिनुका साथै सरसफाइ र सकारात्मक चेतना जगाउने कलात्मक स्लोगन पेन्टिङ (Slogan Painting) गरिनेछ। यसका साथै, बागलुङको मुख्य प्रवेशद्वार मालढुङ्गा पुलदेखि बाङ्गेचौर खेलमैदानसम्मको सडक खण्डको दायाँ–बायाँ विभिन्न क्लब र नगरवासीको सहभागितामा रैथाने तथा आकर्षक फूल र बोटबिरुवा रोपी हरित करिडोरका रूपमा विकास गरिनेछ। यस हरित अभियानलाई सरकारी प्रयासमा मात्र सीमित नराखी, बिहानको समयमा Morning Walk मा निस्कने आदरणीय नगरवासीहरूको सक्रिय सहभागितामा अपनत्वका लागि “मर्निङ वाकको नयाँ बानी, बिरुवालाई एक बोतल पानी” भन्ने नवीन अभियान सञ्चालन गरी बिरुवा संरक्षण कार्यलाई नवीन र भावनात्मक अभियानका रूपमा सञ्चालन गरिनेछ।

    7. बागलुङ बजार र आसपासका क्षेत्रमा छाडा तथा सामुदायिक कुकुरहरूको बढ्दो सङ्ख्याका कारण पैदलयात्री र मोटरसाइकल सवारहरूले भोग्नुपरेको असुरक्षा र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न मानवीय र दीर्घकालीन समाधानका लागि विगतमा सुरु गरिएको कुकुर सेल्टर हाउस (Dog Shelter) लाई थप आधुनिक र व्यवस्थित बनाइनेछ। सामुदायिक कुकुरहरूको सङ्ख्या नियन्त्रण गर्न र रेबिज रोगको जोखिम शून्यमा झार्न भ्याक्सिनेसन, बन्ध्याकरण र खोप ट्यागिङ अभियान सञ्चालन गरिनेछ। यस कार्यमा नागरिकहरूको सहभागिता बढाउन सामुदायिक कुकुर एडप्टेसन, सशुल्क निजी कुकुर व्यवस्थापन अभियान र आफ्ना विशेष अवसर एवं पलहरूमा प्राणी सेवा गर्न प्रेरित गर्नका लागि “पुण्य कमाउने नयाँ बानी, भोका कुकुरलाई एक छाक खाना र पानी” जस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

    8. सक्षम विद्यालय, सक्षम नागरिक’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै, शैक्षिक गुणस्तरलाई समयसापेक्ष, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन आवासीय, लिड (Lead) तथा नमुना विद्यालयको अवधारणालाई नगरव्यापी रूपमा विस्तार गरिनेछ। भौगोलिक विकटता र आर्थिक विपन्नताका कारण बागलुङका कुनै पनि बालबालिका शिक्षाको उज्यालो प्रकाशबाट वञ्चित हुन नपरोस् भन्ने पवित्र हेतुले, वडा नम्बर ११ बाट सफलतापूर्वक सुरु गरिएको आवासीय विद्यालयको नमुना अवधारणालाई क्रमिक रूपमा प्रत्येक वडामा विस्तार गरिनेछ।

    9. यस नगरपालिका वडा नं. ३ स्थित कृषि सामग्री कम्पनी लिमिटेडको नाममा नापी दर्ता भएको साविकको गोदाम घरको जग्गालाई लिजमा लिने कार्य सम्पन्न भएको छ। त्यसमा आवश्यक पूर्वाधार विकास गरी व्यवस्थित कृषि उपज, फलफूल तथा मासु बजार स्थापना र सञ्चालन गरिनेछ। बजार क्षेत्रको अव्यवस्थित रूपमा रहेको फलफूल, तरकारी तथा मासुजन्य पदार्थको व्यापारबाट सृजित फोहोर तथा डोके–पोके व्यापारीहरूको उचित व्यवस्थापनलाई समेट्दै स्वच्छ, सुरक्षित, व्यवस्थित र दिगो बजार प्रणालीको विकासमार्फत स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा जोड दिइनेछ। कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि र किसानहरूलाई उत्पादनमुखी कार्यमा थप उत्प्रेरित गर्न सुन्तलामा प्रतिकेजी रु.१०, हरियो सागसब्जीमा प्रतिकेजी रु., दूधमा प्रतिलिटर रु.५ तथा अण्डामा प्रतिक्यारेट रु.२० का दरले प्रोत्साहनात्मक अनुदान उपलब्ध गराउने व्यवस्था गरिनेछ।

    10. नेपाल सरकार र चीन सरकार बीच मासु व्यापार तथा निर्यातका लागि विकसित सहकार्यबाट सिर्जित अवसरलाई उपयोग गर्दै तथा दुग्ध उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले “पाडा–पाडी संरक्षण कार्यक्रम” सञ्चालन गरिनेछ। भैँसीबाट जन्मिएका पाडा–पाडीको संरक्षण तथा व्यावसायिक पालनलाई प्रोत्साहन गर्नका लागि संरक्षण गर्ने किसान तथा व्यवसायिक कृषकलाई प्रति पाडा–पाडी रु. दश हजार प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ। विगतमा उपेक्षित र संरक्षणविहीन बन्दै गएका पाडा–पाडीलाई उत्पादन र समृद्धिको आधारका रूपमा स्थापित गर्दै यस कार्यक्रममार्फत संरक्षण नगर्ने परिपाटीको अन्त्य गरिनेछ। यसबाट पशुधन संरक्षण, दुग्ध तथा मासु उत्पादन वृद्धि, रोजगारी सिर्जना, किसानको आयआर्जन अभिवृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

    11. बागलुङको माटो, बागलुङको स्वाद, आमा–बच्चाको पोषणमा हाम्रो सरोकार” भन्ने नारालाई आत्मसात् गर्दै नेपाल सरकारको पोषण विशेष कार्यक्रममार्फत पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम तथा दिगो विकास लक्ष्यसँग आबद्ध भई गर्भवती, सुत्केरी आमा, किशोरी तथा पाँच वर्षमुनिका बालबालिकालाई लक्षित पोषण विशेष कार्यक्रमलाई थप प्रभावकारी र विस्तार गरिनेछ। स्थानीय स्तरमा उत्पादित पोषणयुक्त खाद्यवस्तुको उपयोग, पोषण शिक्षा, स्वास्थ्य सेवा तथा समुदायको सक्रिय सहभागितामार्फत कुपोषण न्यूनीकरण गरी स्वस्थ, सक्षम र समुन्नत भावी पुस्ता निर्माणमा जोड दिई पोषणलाई समग्र विकासको आधारका रूपमा स्थापित गर्दै आगामी आर्थिक वर्षभित्र बागलुङ नगरपालिकालाई “पोषणमैत्री पालिका” घोषणा गर्ने लक्ष्यका साथ कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। यसबाट स्वस्थ आमा, स्वस्थ बालबालिका र समृद्ध परिवार निर्माण हुँदै समग्र नगरको मानव विकास सूचकाङ्कमा गुणात्मक सुधार आउने विश्वास लिइएको छ।

    12. ज्येष्ठ नागरिकहरू समाजका जीवित इतिहास, अनुभवका भण्डार तथा हाम्रो संस्कार र मूल्यका संवाहक हुन्। उहाँहरूले जीवनभर आर्जन गर्नुभएको ज्ञान, सीप, अनुभव र जीवन दर्शनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै सम्मानपूर्ण, सक्रिय र आत्मीय जीवनयापनको वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो। बदलिँदो सामाजिक परिवेश, एकल परिवारको बढ्दो प्रवृत्ति तथा ज्येष्ठ नागरिकमा देखिने एकान्तपन र निराशालाई न्यूनीकरण गर्दै उहाँहरूबीच आपसी घुलमिल, मनोरञ्जन र अनुभव आदान–प्रदानको अवसर प्रदान गर्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ। त्यसैगरी, ज्येष्ठ नागरिकप्रति सम्मान र पारिवारिक उत्तरदायित्वको संस्कारलाई थप सुदृढ बनाउन आफ्ना ज्येष्ठ नागरिकको उत्कृष्ट रूपमा पालनपोषण, हेरचाह र सम्मान गर्ने परिवारलाई प्रोत्साहन स्वरूप प्रत्येक वर्ष उत्कृष्ट परिवारलाई प्रति परिवार रु. ५ हजार सहित सम्मान गर्ने परम्पराको थालनी गरिनेछ। यस कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मान, पारिवारिक सद्भाव र पुस्तान्तरणीय संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

    13. मानवता नै सभ्य समाजको सबैभन्दा ठूलो परिचय हो। कुनै पनि नागरिक बाध्यतावश सडकमा आश्रित जीवन बिताउनुपर्ने अवस्था मानव संवेदनामाथिको चुनौतीका रूपमा रहेको छ। सडकमा आश्रित, बेसहारा, असहाय तथा परिवारबाट विच्छेद भएका नागरिकहरूको उद्धार, संरक्षण, उपचार, पुनर्स्थापना तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राख्दै मानवसेवा आश्रम लगायत मानवीय सेवामा क्रियाशील संस्थाहरूसँग सहकार्य गरी “मानव सेवा नै माधव सेवा” भन्ने भावनालाई आत्मसात गर्दै सडक आश्रित नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्न आगामी वर्ष बागलुङ नगरपालिकालाई “बेसहारा सडक मानवमुक्त पालिका” घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ।

    14. संस्कारको मूल्य खर्चको भव्यतामा होइन, भावनाको गहिराइमा हुन्छ। प्रियजनको वियोगको पीडामा खर्चको प्रदर्शन होइन, आत्मीयताको सहारा चाहिन्छ। बिछोडको पीडासँगै आर्थिक भारको दोहोरो मार खेप्नुपर्दा धेरै परिवारहरू असहज अवस्थाबाट गुज्रिन बाध्य भएका छन्। यस्तो दुःखद घडीमा राहत र आत्मीयता प्रदान गर्ने उद्देश्यले मृत्यु संस्कारमा हुने खर्च तथा भेटी फर्काउने प्रचलनलाई समयानुकूल, व्यवस्थित र मर्यादित बनाउन आवश्यक पहल गरिनेछ।यसैगरी, आफन्तको अन्तिम संस्कार समेत गर्न आर्थिक कठिनाइ भोगिरहेका विपन्न परिवारहरूलाई दुःखको घडीमा राज्यले साथ दिएको अनुभूति दिलाउन दाहसंस्कारका लागि रु. ,५०० आर्थिक सहयोग उपलब्ध गराउने गरी कार्यविधि निर्माण गरिनेछ।हाम्रो समाजमा जन्म, मृत्यु, विवाह, व्रतबन्ध, पास्नी लगायतका संस्कारहरू केवल परम्परा होइनन्, ती परिवार र समुदायबीचको भावनात्मक सम्बन्धका आधारस्तम्भ हुन्। तर समयक्रममा यिनै पवित्र संस्कारहरूमा बढ्दो भड्किलोपन र अनावश्यक खर्चले धेरै परिवारलाई आर्थिक तनावको चक्रमा धकेलेको यथार्थलाई आत्मसात गर्दै सादगी, मितव्ययिता र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने व्यापक सामाजिक अभियान सञ्चालन गरिनेछ।

    15. नगर क्षेत्रभित्र होमस्टे सञ्चालन तथा प्रवर्द्धनलाई प्रोत्साहन गर्न विशेष व्यवस्था गरिनेछ। नयाँ होमस्टे स्थापना गर्न तथा हाल सञ्चालनमा रहेका होमस्टेहरूको दिगो व्यवस्थापन र प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले होमस्टे सञ्चालन गर्न इच्छुक व्यक्ति वा समूहलाई दर्ता, नवीकरण तथा वार्षिक शुल्क व्यवस्थापनका लागि प्रति होमस्टे वार्षिक रु. १५,००० सम्म अनुदान उपलब्ध गराइनेछ।त्यसैगरी, प्रदेश कानुन बमोजिम स्थानीय मदिरा उत्पादन तथा ब्रान्डिङ कार्यमा संलग्न व्यक्ति, फर्म वा कम्पनीलाई स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन तथा बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले वार्षिक रु. २०,००० प्रोत्साहन अनुदान उपलब्ध गराइनेछ।

अब म नगरपालिकाका प्राथमिकता सहितका विषयक्षेत्र अनुसारका नीति तथा कार्यक्रम पेश गर्ने अनुमति चाहन्छु।

      1. आर्थिक विकास

  1. माटोमा पसिना, भविष्यमा सुन, कृषिमा लगानी राष्ट्रलाई गुण” भन्ने नाराका साथ बाँझो जमिनको उपयोगलाई प्रोत्साहन गर्दै करार खेती, सामूहिक खेती तथा उत्पादन वृद्धि अभियान सञ्चालन गरी कृषि क्षेत्रको आत्मनिर्भरता अभिवृद्धि गरिनेछ। भूमि उपयोग सम्बन्धी आवश्यक कानुनी व्यवस्था गरी बाँझो जमिन उपयोग अभियान सञ्चालन गरिनेछ।

  2. कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यावसायिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउँदै “समृद्ध किसान, समृद्ध पालिका” को लक्ष्य हासिल गर्न प्रत्येक वडाको विशिष्ट सम्भावनाका आधारमा सुन्तला, किवी, कफी, अलैँची, तरकारी, मौरी, पुष्प, च्याउ तथा अन्य उच्च मूल्यका कृषि उत्पादनका विशेष क्षेत्र विकास गरिनेछ।

  3. निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक, आधुनिक तथा प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्दै हरेक उत्पादित वस्तुको ब्रान्डिङ, प्रशोधन र बजारीकरणमा विशेष जोड दिइनेछ।

  4. सामूहिक खेती, करार खेती, कृषिमा नवप्रवर्तन, कृषि स्टार्टअप तथा युवामैत्री कृषि उद्यमलाई प्रोत्साहन गरिनेछ। कृषि उत्पादनको मूल्य श्रृङ्खला विकास गर्दै संकलन केन्द्र, प्रशोधन केन्द्र, भण्डारण तथा डिजिटल बजार प्रणालीमार्फत किसानलाई उचित मूल्य सुनिश्चित गर्न पहल गरिनेछ।

  5. बसे पनि सहर, गाउँकै खाने रहर” भन्ने नाराका साथ रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा प्रोत्साहन गरिनेछ। जैविक तथा विषादीमुक्त कृषि उत्पादन, पोषणयुक्त खाद्य वस्तुको उत्पादनमा जोड दिँदै ग्रामीण अर्थतन्त्र र उद्यमसँग जोडेर स्थानीय स्रोत तथा परम्परागत सीपमा आधारित गुन्द्रुक, मस्यौरा, अचार, सुकुटी लगायतका खाद्य पदार्थहरूको उत्पादन तथा प्रवर्द्धनमा सहयोग गरिनेछ।

  6. कृषि योग्य जमिनमा क्रमशः सिँचाइ सुविधा विस्तार गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गरी चैते धान, हिउँदे मकै, फलफूल तथा नगदे बाली उत्पादनमा सघाउ पुर्‍याइनेछ।

  7. आधुनिक कृषि, आत्मनिर्भर अर्थतन्त्र” अभियानलाई सार्थक बनाउन आधुनिक कृषि औजार, उन्नत बीउबिजन तथा नवीन प्रविधिको पहुँच विस्तार, नवप्रवर्तन र सहकारी–निजी क्षेत्रको साझेदारी प्रवर्द्धन, युवा उद्यमशीलता प्रवर्द्धन, सीप विकास र व्यवसाय परामर्श सेवा, डिजिटल मार्केटिङ प्लेटफर्म जस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। यसबाट उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गरिनेछ।

  8. डिजिटल कृषि सेवा प्रणालीमार्फत किसानको तथ्याङ्क व्यवस्थापन, किसान परिचयपत्र वितरण र तथ्यमा आधारित कृषि सेवा सञ्चालन गरिनेछ। नगरपालिका बाट प्रदान गरिने सेवा तथा अनुदानका कार्यक्रमहरूलाई किसान परिचयपत्रसँग आवद्ध गरिनेछ।

  9. कृषि तथा पशुपंक्षी बीमा कार्यक्रमलाई साझेदारीमा विस्तार गरिनेछ। प्राकृतिक प्रकोप, रोगव्याधि तथा जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरणका लागि जलवायु अनुकूल कृषि बाली प्रवर्द्धन तथा एकीकृत शत्रुजीव व्यवस्थापन प्रणालीलाई प्रवर्द्धन गरिनेछ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि उपयुक्त कृषि अभ्यासलाई प्रोत्साहन गरिनेछ।

  10. आत्मनिर्भर कृषि, समृद्ध बागलुङ” अभियान अन्तर्गत सञ्चालनमा रहेको आत्मनिर्भर बागलुङ कार्यक्रमलाई निरन्तरता दिइनेछ।

  11. स्वस्थ पशु, समृद्ध किसान, आत्मनिर्भर पशुपालन हाम्रो अभियान” भन्ने नाराका साथ पशु स्वास्थ्य तथा पशुसेवालाई उत्पादनमुखी, व्यवसायिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउँदै दूध, मासु, अण्डा तथा अन्य पशुजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गर्न “समृद्ध किसान, समृद्ध पालिका” को लक्ष्य प्राप्त गर्न कार्यक्रमहरू लक्षित गरिनेछ।

  12. पशुपंक्षी क्षेत्रमा नेपाल सरकारको राष्ट्रिय प्राथमिकता, खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणको लक्ष्यलाई सहयोग पुग्ने गरी पशु स्वास्थ्य, उपचार, खोप, रोग निदान तथा प्राविधिक सेवाहरूलाई घरदैलो स्तरसम्म विस्तार गरिनेछ। उन्नत नस्ल सुधार, कृत्रिम गर्भाधान सेवा, प्रजनन व्यवस्थापन तथा प्राविधिक परामर्श सेवामार्फत गुणस्तरीय पशुसेवामा सबै किसानको पहुँच सुनिश्चित गरिनेछ।

  13. महामारीको समयमा पशु रोगको रोकथाम, नियन्त्रण तथा उपचार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। नियमित पशु स्वास्थ्य शिविर, खोप कार्यक्रम, प्रयोगशाला सेवा तथा आवश्यक औषधि व्यवस्थापनलाई सुदृढ बनाइनेछ।

  14. पशु स्वास्थ्य सेवालाई विशिष्टीकृत सेवाका रूपमा विकास गर्दै दूध, मासु तथा अन्य पशुजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गर्न किसान प्रोत्साहन कार्यक्रम अघि बढाइनेछ।

  15. पशु दानामा देखिएको निर्भरता घटाउन गुणस्तरीय आहार उत्पादन, उन्नत घाँस विकास, घाँस संरक्षण प्रविधि तथा स्थानीय स्तरमा उपलब्ध पोषण व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। पशुपालन व्यवसायलाई आधुनिक, दिगो र प्रतिस्पर्धी बनाउन कृषक क्षमता अभिवृद्धि, सीप विकास, फार्म आधुनिकीकरण तथा प्राविधिक सेवाको विस्तार गरिनेछ।

  16. लघु उद्यमलाई आयआर्जन र रोजगारीसँग जोड्दै स्थानीय स्रोत, सीप र सम्भावनाको खोजी गरिनेछ। उद्यमीहरूको क्षमता अभिवृद्धिका लागि उद्यमशीलता विकास तालिम, सीपमूलक तालिम, प्रविधि हस्तान्तरण तथा व्यवसाय विस्तारसम्बन्धी तालिम र परामर्श सेवा प्रदान गरिनेछ। महिला, युवा, दलित, विपन्न तथा लक्षित वर्गलाई विशेष प्राथमिकता दिइनेछ।

  17. उत्पादित वस्तु तथा सेवाको बजारीकरण, ब्रान्डिङ, प्रदर्शन र मूल्य श्रृंखला विकासका लागि सहकारी, निजी क्षेत्र तथा सम्बन्धित निकायहरूसँग समन्वय र साझेदारी गरिनेछ। स्थापित लघुउद्यमहरूको दिगोपन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उद्यम अनुगमन, स्तरोन्नति, वित्तीय पहुँच विस्तार तथा नवीन प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ।

  18. सहकारी क्षेत्रमा देखिने वित्तीय अनुशासनहीनता, अपचलन तथा जोखिम न्यूनीकरणका लागि नियमित अनुगमन र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाइनेछ। बचतकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै उद्देश्य, क्षमता र कार्यक्षेत्र मिल्ने सहकारी संस्थाहरूलाई एकीकरण तथा समायोजनमा प्रोत्साहन गरिनेछ भने निष्क्रिय तथा मापदण्ड पूरा नगर्ने संस्थाहरूलाई प्रचलित कानुन बमोजिम व्यवस्थापन गरिनेछ।

  19. सक्षम सहकारी, दिगो समृद्धि” भन्ने नाराका साथ सहकारी संस्थाहरूको व्यवस्थापकीय दक्षता, वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण प्रणाली तथा उत्तरदायित्व अभिवृद्धि गर्न क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ। सहकारीलाई बचत संकलनमा मात्र सीमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रको विकासमा केन्द्रित गरिनेछ। ग्रामीण क्षेत्रका कृषक तथा उद्यमीहरूलाई सहकारीमार्फत उत्पादन र वित्तीय सेवासँग आबद्ध गरिनेछ।

  20. नगरपालिकाभित्रका सबै सहकारी संस्थाहरूको अभिलेखीकरण, प्रतिवेदन, वित्तीय विवरण तथा सेवा प्रवाहलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरिनेछ। सहकारी संघ तथा सरोकारवालासँग नियमित संवाद, समन्वय र सहकार्यलाई सुदृढ बनाइनेछ। सहकारी क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत क्षमता, सेवा सुविधा तथा व्यवसायिक दक्षता अभिवृद्धिका लागि आवश्यक पहल गरिनेछ।

  21. धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनलाई नगरको आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गरिनेछ। ओझेलमा परेका पर्यटन क्षेत्रको पहिचान, संरक्षण तथा पूर्वाधार विकास गरी नयाँ गन्तव्यहरू निर्माण गरिनेछ। साहसिक पर्यटन, पिकनिक स्पट, पार्क, उद्यान तथा मनोरञ्जनात्मक पूर्वाधार विकासमा जोड दिइनेछ।

  22. बलेवा, कालिका भगवती, पञ्चकोट, मालिका भगवती, कुवेरथाम, सालिग्राम संग्रहालय, गण्डकी स्नानघाट लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ। QR कोडमा आधारित डिजिटल पर्यटन सूचना प्रणाली विकास गरिनेछ।

  23. प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको संरक्षण र प्रवर्द्धनका लागि वडा नं. ७ स्थित राँयराँयकोटमा अन्तर्राष्ट्रिय स्तरको रक क्लाइम्बिङ (Rock Climbing) पूर्वाधार निर्माणका लागि पहल गरिनेछ। “जाऊ है बागलुङ” अभियानलाई राष्ट्रिय पर्यटन प्रवर्द्धन अभियानका रूपमा विस्तार गरिनेछ।

  24. स्थानीय स्रोत, सीप र सामुदायिक सहभागितालाई परिचालन गर्दै बागलुङ नगरपालिकालाई स्वच्छ, हराभरा र आकर्षक पर्यटकीय नगरका रूपमा विकास गर्न सार्वजनिक–निजी साझेदारी (PPP) लाई प्रोत्साहन गरिनेछ। प्रमुख पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थल, पर्यटकीय मार्ग र सार्वजनिक क्षेत्रहरूको सौन्दर्य अभिवृद्धिका लागि आवश्यक पूर्वाधार विकास गरिनेछ।

  25. एक व्यक्ति–एक योगदान, एक संस्था–एक हरित सम्पदा” भन्ने अभियानमार्फत सार्वजनिक क्षेत्रको विकासमा निजी लगानी र अपनत्व अभिवृद्धि गरिनेछ।

  26. नगरपालिका भित्रका खुला क्षेत्र तथा सडक किनारमा हरित करिडोर तथा मिनी पार्क निर्माण गरी प्रकृति संरक्षण र नगर सौन्दर्यलाई सामाजिक प्राथमिकता र दिगो विकाससँग जोड्दै समाजसेवी, उद्योगी–व्यवसायी, प्रवासी बागलुङवासी तथा विभिन्न संघ–संस्थाहरूलाई उनीहरूको पहिचानसहित सहभागिताका लागि आह्वान गरिनेछ।

  27. घर–घर फूल, आँगन–आँगन सौन्दर्य” भन्ने अभियान सञ्चालन गरी बोगनभेलिया लगायतका फूल रोपणलाई प्रोत्साहन गर्दै बागलुङलाई सुन्दर, स्वच्छ र हराभरा नगरका रूपमा विकास गरिनेछ।

  28. वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई लक्षित वर्ग (महिला, युवा, द्वन्द्वपीडित आदि) सँग जोड्दै स्थानीय उत्पादन, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा परिचालन गरिनेछ।

  29. श्रमको सम्मान, समृद्धिको अभियान” भन्ने नारासहित श्रमिक अधिकार संरक्षण, सामाजिक सुरक्षा, श्रम सूचना व्यवस्थापन, सुरक्षित श्रम वातावरण तथा सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ।

  30. सीप परीक्षणका लागि पोखरा वा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्न CTEVT सँग समन्वय गरी नगरभित्रै सीप परीक्षणको व्यवस्था मिलाइनेछ। सीपयुक्त जनशक्तिलाई श्रम बैंकमा आबद्ध गरी स्थानीय श्रमिकलाई विकास आयोजनासँग जोड्ने “एक घर एक रोजगार” अभियान अन्तर्गत निजी क्षेत्र, रोजगारदाता, वित्तीय संस्था तथा सरोकारवालासँग सहकार्य गरी रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ।

  31. सूचना प्रविधि, कृषि, पर्यटन र निर्माण लगायतका क्षेत्रमा युवा नवप्रवर्तन तथा स्टार्टअप कार्यक्रम सञ्चालन गरिनेछ।


 


 

      1. सामाजिक विकास

  1. सामुदायिक विद्यालयहरूको भौतिक, शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर अभिवृद्धि गर्दै विद्यमान अन्तर न्यूनीकरण गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। “हरेक विद्यालयमा ज्ञान, सीप र प्रविधिको सम्मान” भन्ने नाराका साथ सामुदायिक विद्यालयहरूलाई ज्ञान र सीपका केन्द्रका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, अत्याधुनिक सूचना प्रविधियुक्त शिक्षण–सिकाइ, ई–लाइब्रेरी, कृत्रिम बुद्धिमत्ता (AI), रोबोटिक्स तथा नवप्रवर्तनमैत्री शिक्षण प्रणालीको विकास गर्दै डिजिटल सिकाइ अभियान सञ्चालन गरिनेछ। साथै, प्रत्येक माध्यमिक विद्यालयमा स्थायी दरबन्दी सहित प्रधानाध्यापकको व्यवस्थापन, प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन तथा चुस्त व्यवस्थापकीय सुदृढीकरणका कार्यहरूलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइनेछ।

  2. प्रविधि र नवप्रवर्तनमा विद्यार्थीहरूको चासो वृद्धि गर्न डिजिटल क्लबहरूको गठनका लागि विद्यालयहरूसँग समन्वय गरिनेछ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा नगरपालिकाका कार्यक्रम र गतिविधिबारे विद्यार्थीहरूसँग अन्तरक्रिया, सुझाव आदान–प्रदान र संवाद प्रवर्द्धन गर्ने उद्देश्यले “विद्यार्थीसँग नगरप्रमुख” कार्यक्रम सञ्चालन गरिनेछ।

  3. विद्यालय तथा प्राविधिक शिक्षालयहरूमा स्थानीय आवश्यकता र रोजगारीको सम्भावनाअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्न पहल गरिनेछ। “पढ्दै, सिक्दै, कमाउँदै” कार्यक्रममार्फत शिक्षा, उत्पादन र उद्यमशीलतासँग जोड्न Friday for Future, Innovation Center, पठन संस्कृतिको विकास जस्ता जीवन उपयोगी कार्यक्रमहरूलाई उच्च महत्व दिइनेछ।

  4. कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस्” भन्ने उद्देश्यका साथ विपन्न, अनाथ, दलित, जनजाति, अपाङ्गता भएका, जोखिममा रहेका तथा न्यून आय भएका विद्यार्थीहरूका लागि संस्थागत विद्यालयमा न्यूनतम १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिनेछ। यस्ता विद्यार्थीहरूका लागि दिवा खाजा, निःशुल्क सेनेटरी प्याड तथा विशेष सहयोग कार्यक्रमलाई निरन्तरता दिइनेछ।

  5. उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन र सम्मान गरिनेछ। विद्यार्थीको अन्तरनिहित प्रतिभा पहिचान, नवप्रवर्तन, अनुसन्धान तथा सीपमूलक शिक्षाको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। प्रारम्भिक बालविकास केन्द्रहरूको गुणस्तर सुधार गर्दै आधारभूत सिकाइ सुनिश्चित गरिनेछ। बहुविषयक क्याम्पस तथा प्राविधिक शिक्षालयहरूको शैक्षिक क्षमता विस्तारमा आवश्यक पहल गरिनेछ।

  6. स्थानीय पाठ्यक्रम कार्यान्वयन, अध्ययन अनुसन्धान, शैक्षिक मेला, करियर परामर्श तथा ज्ञानमा आधारित समाज निर्माणका कार्यक्रम सञ्चालन गर्दै “नलेज इकोनोमी” को आधार तयार गरिनेछ। किशोर–किशोरी शिक्षा, लागू पदार्थ दुव्र्यसन न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सञ्जालको सदुपयोग र जीवनोपयोगी सीप विकाससम्बन्धी कार्यक्रम विद्यालय तहमा विस्तार गरिनेछ।

  7. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यालय नेतृत्वको भूमिकालाई थप उत्तरदायी बनाइनेछ। विद्यालयको शैक्षिक उपलब्धि, आर्थिक गतिविधि तथा प्रगति विवरण नियमित रूपमा सार्वजनिक गर्ने व्यवस्था गरिनेछ।

  8. गुणस्तरीय शिक्षा, सक्षम नागरिक” अभियान सञ्चालन गरी विद्यालय समायोजन, शिक्षक दरबन्दी व्यवस्थापन तथा प्रविधिमैत्री शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाइनेछ। प्राविधिक तथा व्यावसायिक शिक्षालाई उत्पादन र रोजगारीसँग जोडिनेछ।

  9. हरेक माध्यमिक विद्यालयमा डिजिटल सिकाइका लागि स्मार्ट बोर्ड उपलब्ध गराइनेछ। शिक्षक बैठकलाई अनिवार्य बनाइनेछ। स्थानीय शिक्षा योजना लागू गरिनेछ। विज्ञान विषय प्रवर्द्धनका लागि विज्ञान विषयमा अध्यापनरत विद्यालयलाई आवश्यक बजेट व्यवस्थापनको पहल गरिनेछ।

  10. प्रारम्भिक बालविकासदेखि माध्यमिक तहसम्म गुणस्तरीय, समावेशी र जीवनोपयोगी शिक्षामा जोड दिइनेछ। किशोर–किशोरी शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, करियर मार्गदर्शन, सामाजिक सञ्जालको सदुपयोग तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

  11. प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ धौलागिरि बहुप्राविधिक शिक्षालयमा कृषि प्राविधिक शिक्षा अध्ययन गर्ने प्रत्येक वडाबाट एक–एक जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन र स्थानीय रोजगारी प्रवर्द्धनमा जोड दिइनेछ।

  12. सुरक्षित एवं दुव्र्यसनमुक्त समाज निर्माणका लागि लागू पदार्थ, मदिरा तथा सूर्तिजन्य पदार्थको नियन्त्रणमा पहल गरिनेछ। यसका लागि विद्यालय, समुदाय तथा सरोकारवाला निकायसँग सहकार्य र समन्वय गरिनेछ।

  13. सभ्य, संस्कारित तथा मितव्ययी समाज निर्माण कार्यक्रम सामाजिक संस्कार तथा परम्परालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन जनचेतनामूलक अभियान सञ्चालन गरिनेछ।

  14. स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात गर्दै विद्यालय तहबाटै विभिन्न खेल विधाको विकास, प्रतिभा पहिचान तथा व्यावसायिक खेलाडी उत्पादनका लागि खेलकुद गतिविधि र प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ।

  15. बागलुङ नगरको खेल क्षेत्रको पहिचान र गौरवका रूपमा रहेको खुला नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै यसको गुणस्तर, सहभागिता र प्रतिस्पर्धात्मकतालाई थप सुदृढ गरिनेछ।

  16. उपचारभन्दा रोकथाम नै उत्तम” भन्ने मान्यतालाई आत्मसात गर्दै प्रत्येक नागरिकलाई स्वास्थ्यप्रति जिम्मेवार, सचेत र सहभागी बनाई स्वास्थ्य समस्याको रोकथाम, उपचार, पुनस्थापना, प्रवर्द्धन तथा आयुर्वेद एवं योगमा आधारित समग्र स्वास्थ्य प्रणालीको विकास गर्दै “स्वस्थ नागरिक, समृद्ध बागलुङ” को लक्ष्य हासिल गर्ने नीति अवलम्बन गरिनेछ।

  17. बागलुङ नगर अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अन्तरङ्ग सेवा सञ्चालनको लागि पहल गरिनेछ। प्रदेश सरकारको सहकार्यमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गरी अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न पहल गरिनेछ।

  18. सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै गर्भाअवस्थामा नियमित चेक जाँच, पोषण कार्यक्रम, परामर्श सेवा, नियमित एवं अनिवार्य खोप, निःशुल्क एम्बुलेन्स सेवा, ग्रामीण अल्ट्रासाउण्ड सेवा तथा संस्थागत सुत्केरी प्रवर्द्धन कार्यक्रमलाई सुदृढ बनाउँदै “शून्य होम डेलिभरी” अभियानलाई पूर्णता दिइनेछ।

  19. विद्यालयबाट स्वास्थ्यको आरम्भ” भन्ने अवधारणा अनुसार विद्यालय नर्स कार्यक्रम, विद्यालय स्वास्थ्य शिक्षा, किशोर किशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिनेछ।

  20. नगरप्रमुख स्वास्थ्य बीमा कार्यक्रममार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विपन्न नागरिक, श्रमिक तथा दीर्घरोगीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गरिनेछ। सबै स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा मापदण्ड (MSS) पूर्ण कार्यान्वयन गर्दै गुणस्तरीय सेवा, दक्ष जनशक्ति, प्रयोगशाला सेवा सुदृढीकरण तथा नियमित अनुगमन प्रणालीलाई प्रभावकारी बनाइनेछ।

  21. पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई निरन्तरता दिइनेछ। महामारी, संक्रामक रोग तथा क्षयरोग नियन्त्रणका लागि सर्वेलेन्स, शीघ्र प्रतिकार्य कार्यक्रम सञ्चालन गरिनेछ। मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अंगका रूपमा स्थापित गर्दै मनोसामाजिक परामर्श, आत्महत्या न्यूनीकरण, विद्यालय तथा समुदायस्तरीय मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।

  22. उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोग, डेंगु, स्क्रब टाइफस लगायत नसर्ने तथा किटजन्य रोगहरूको समयमै पहिचान र व्यवस्थापनका लागि नियमित स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ। प्रतिजैविक प्रतिरोध (AMR) न्यूनीकरणका लागि एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण, औषधि नियमन जस्ता कार्यक्रमहरू सञ्चालनमा पहल गरिनेछ।

  23. पहुँचविहीन तथा दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन गाउँघर क्लिनिक, स्वास्थ्य शिविर, स्वास्थ्य चौकीमा नियमित विशेषज्ञ सेवा तथा मोबाइल स्वास्थ्य सेवाको विस्तार गरिनेछ।

  24. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च सम्मान गर्दै स्वास्थ्य बीमा, क्षमता अभिवृद्धि, प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

  25. आयुर्वेद सेवालाई निःशुल्क एवं जनमुखी बनाउनका लागि आयुर्वेद एवं प्राकृतिक चिकित्सालाई वैकल्पिक स्वास्थ्य सेवाको रूपमा विस्तार गरिनेछ। जडीबुटी खेतीको सम्भाव्यता अध्ययन, स्थानीय जडीबुटीहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ।

  26. मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” को अवधारणा अनुरूप नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्न योग, ध्यान, प्राकृतिक तथा आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षित तुल्याई वडा तहसम्म वैकल्पिक स्वास्थ्य सेवा सञ्चालनको व्यवस्था मिलाइनेछ।

  27. हिंसा प्रभावित महिला तथा बालबालिकाहरूका लागि सञ्चालनमा रहेको सुरक्षित आवास (Safe House) लाई मनोसामाजिक परामर्श, कानुनी सहायता, उद्धार तथा पुनर्स्थापनाको पर्यायवाचीको रूपमा विकास गरिनेछ।

  28. बालबालिकाको सर्वोत्तम हित, अर्थपूर्ण सहभागिता र बालअधिकारको सुरक्षाको लागि बालमैत्री स्थानीय शासनको दिगोपना सम्बन्धी कार्यक्रममार्फत बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचकहरू पूर्ण कार्यान्वयन गरिनेछ। बालविवाह, बालश्रम, दुर्व्यवहार तथा हिंसा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिनेछ।

  29. सार्वजनिक संरचनाहरूलाई अपाङ्गतामैत्री बनाउनका लागि पहल गर्दै फरक क्षमता भएका व्यक्तिका लागि पहुँचयुक्त समाज निर्माण, सहायक सामग्री वितरण, सीप विकास, दिवा सेवा केन्द्र तथा आयआर्जनका लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।

  30. महिला, दलित, जनजाति तथा पिछडिएका समुदायहरूको उत्थान, सामाजिक, आर्थिक र शैक्षिक सशक्तीकरणका लागि विशेष लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अभियान, लैङ्गिक हिंसा, छुवाछूत, सामाजिक विभेद, बहुविवाह, बालविवाह तथा सबै प्रकारका कुरीतिहरूको अन्त्यका लागि बहस, पैरवी, जनचेतना र समुदाय स्तरीय अभियान सञ्चालन गरिनेछ।

  31. श्रमिक तथा असंगठित क्षेत्रका कामदारहरूको तथ्याङ्क संकलन गरी उनीहरूको सामाजिक सुरक्षा, सीप विकास तथा संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ।

  32. सामाजिक सुरक्षा भत्ता वितरण र घटना दर्ताका कार्यक्रमहरूलाई अझै सरल बनाउन थप गृहकार्य गरिनेछ। व्यक्तिगत घटना दर्ता कार्यलाई पूर्णता दिनका लागि आवश्यक व्यवस्था गरिनेछ।

  33. वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा जाने तथा गइसकेका व्यक्तिहरूको अभिलेख व्यवस्थापन र आपतकालीन सहजीकरणका लागि आवश्यक सूचना संप्रेषण गरिनेछ।

  34. सीपमूलक तालिम लिएर मात्र वैदेशिक रोजगारीमा जाने वातावरण निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ।

  35. आप्रवासी कामदार तथा तिनका परिवारको अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित निकायसँग समन्वय तथा लागत साझेदारीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना प्रवाह, सीप अभिवृद्धि, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता तथा अन्य आवश्यक सेवाहरू प्रदान गरिनेछ।

  36. बागलुङको सांस्कृतिक पहिचानलाई विश्वसामु पुर्‍याउनका लागि प्रसिद्ध कालिका भगवती मन्दिर, हनुमान नाच, ४४५ वर्ष पुरानो लक्ष्मीनारायण मन्दिर लगायतका सम्पदाहरूलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गरिनेछ।

  37. नगरपालिकाभित्र प्राचीन कालदेखि निरन्तर जीवित रहेका स्थानीय भाषा, कला, साहित्य, संस्कृति तथा मौलिक परम्पराको संरक्षण, संवर्द्धन र भावी पुस्तामा हस्तान्तरणका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

  38. अमूल्य सम्पदालाई दीर्घकालीन रूपमा जगेर्ना गर्ने उद्देश्यले सम्बन्धित सामग्रीहरूको सङ्कलन गरी ग्रन्थका रूपमा प्रकाशन गर्न सहयोग गरिनेछ। कला, संस्कृति प्रवर्द्धन, व्यापारिक मेला तथा सम्मेलन आयोजना गर्न निजी क्षेत्र तथा संघ–संस्थासँग सहकार्य गरिनेछ।

      1. भौतिक विकास

  1. नगरका गौरवका आयोजनाहरू, रणनीतिक सडक, पुल, पदमार्ग, कृषि सडक तथा अधुरा पूर्वाधार आयोजनाहरूलाई उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गरिनेछ। सार्वजनिक भवन तथा संरचनाहरूलाई बालमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा वातावरणमैत्री मापदण्ड अनुसार निर्माण र स्तरोन्नति गरिनेछ।

  2. सुरक्षित बसपार्क, पार्किङ व्यवस्थापन, सार्वजनिक यातायात सुधार तथा सडक सुरक्षालाई प्राथमिकता दिँदै आधुनिक शहरी सेवा विस्तार गरिनेछ।

  3. हरित तथा जलवायुमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ। सार्वजनिक–निजी साझेदारी (PPP) मोडेल मार्फत ठूला पूर्वाधार परियोजना कार्यान्वयनमा जोड दिइनेछ।

  4. बाङ्गेचौर खेलमैदानलाई आवश्यक पूर्वाधारसहितको मिनी स्टेडियम निर्माण र अन्य सम्भावना भएका विभिन्न वडाहरूमा खेलमैदान निर्माणको कार्यलाई अघि बढाइनेछ।

  5. खानेपानी, सरसफाइ तथा स्वच्छताको दिगो व्यवस्थापन गर्दै “एक घर–एक धारा” कार्यक्रम मार्फत सर्वसाधारणको पहुँच सुनिश्चित गरिनेछ। जलस्रोत संरक्षण, पुनर्भरण तथा व्यवस्थापन मार्फत दीगो खानेपानी आपूर्ति सुनिश्चित गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ। स्रोत अभाव भएका क्षेत्रहरूमा आधुनिक प्रविधि, डिप बोरिङ, लिफ्टिङको अध्ययनका लागि ERT DPR गरी खानेपानी सेवाको विस्तार गरिनेछ।

  6. जलाधार क्षेत्र, मुहान, पोखरी, सिमसार तथा अन्य प्राकृतिक स्रोतहरूको संरक्षण र पुनर्जीवनका कार्यक्रम सञ्चालन गरिनेछ। खानेपानी स्रोतहरूको दीगो व्यवस्थापन गर्न जोड दिइनेछ। प्रदेश सरकारको सहयोगमा सामुदायिक वन क्षेत्रभित्र रिचार्ज पोखरी निर्माणको कार्यलाई प्राथमिकता दिइनेछ।

  7. विद्यालय तथा सार्वजनिक संस्थाहरूमा सुरक्षित र शुद्ध खानेपानीको पहुँच विस्तार गरिनेछ। नगरस्तरीय Wash Plan तयार गरी खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको योजनाबद्ध विकास गरिनेछ। निजी क्षेत्रबाट भूमिगत पानी निकासीको कार्यका लागि नगरपालिकाको स्वीकृति अनिवार्य गरिनेछ।

  8. भू–उपयोग योजना तर्जुमा तथा सार्वजनिक जग्गा संरक्षणको कार्यलाई प्रभावकारी गरिनेछ। स्मार्ट सिटी अवधारणा अनुसार स्मार्ट सडकबत्ती, CCTV, डिजिटल ट्राफिक व्यवस्थापन, भूमिगत विद्युत तथा सञ्चार पूर्वाधार विस्तारका लागि संघीय सरकारसँग पहल गरिनेछ। निर्माण संरचनाहरूको मर्मत सम्भारको लागि मर्मत सम्भार कोष स्थापना गरिनेछ। भवन मापदण्ड तथा भूकम्प प्रतिरोधी निर्माण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।


 

      1. वन, वातावरण, विपद् तथा सरसफाइ

  1. वन, वातावरण तथा जैविक विविधताको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनका लागि सरोकारवालाहरूसँग समन्वय गरी “हरित नगर, स्वच्छ नगर” अभियानलाई प्राथमिकता दिइनेछ। “एक घर–एक बिरुवा” अभियानलाई प्रोत्साहन गर्दै नयाँ घर निर्माणसँगै बिरुवा रोप्ने कार्यक्रमलाई अनिवार्य गरिनेछ।

  2. जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि स्थानीय जलवायुमैत्री योजना तर्जुमा गरी विपद् जोखिम न्यूनीकरण, जलस्रोत संरक्षण, माटो तथा भू–क्षय नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

  3. सामुदायिक वनलाई जैविक विविधता संरक्षण, जडीबुटी विकास तथा आर्थिक गतिविधिसँग आबद्ध गर्न पहल गरिनेछ। जलवायु परिवर्तन अनुकूलन तथा न्यून उत्सर्जन विकासका कार्यक्रमलाई प्राथमिकता दिइनेछ।

  4. कार्बन उत्सर्जन न्यूनीकरण तथा हरित अर्थतन्त्रको प्रवर्द्धनका लागि वैकल्पिक ऊर्जा, ऊर्जा दक्ष प्रविधि, वातावरणमैत्री पूर्वाधार तथा जलवायु अनुकूल कृषि प्रणालीलाई प्रोत्साहन गर्दै संघ, प्रदेश तथा विकास साझेदार निकायसँग समन्वय र सहकार्य गरिनेछ। पहिरो तथा भू–क्षय नियन्त्रणका लागि जैविक इन्जिनियरिङ प्रविधि र वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ।

  5. प्रकृतिले हामीलाई स्वच्छ हावा, उर्वर माटो र जीवनदायी स्रोतहरू प्रदान गरेको छ। त्यसैले भावी पुस्तालाई सुरक्षित, स्वच्छ र हरित वातावरण हस्तान्तरण गर्नु हाम्रो साझा दायित्व हो। बढ्दो प्लास्टिकजन्य सामग्रीको प्रयोगबाट सिर्जित वातावरणीय प्रदूषण तथा फोहोरमैला व्यवस्थापनमा देखिएका चुनौतीहरू न्यूनीकरण गर्न निजी क्षेत्र, उपभोक्ता तथा नगरपालिकाबीचको सहकार्य र साझेदारीमा वैकल्पिक तथा वातावरणमैत्री झोलाको उत्पादन, प्रयोग र प्रवर्द्धनलाई प्रोत्साहन गरी प्लास्टिक झोला बन्देजका लागि आवश्यक गृहकार्य गरिनेछ।

  6. नगरस्तरीय विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गरिनेछ। आपतकालीन कार्यसञ्चालन केन्द्रलाई थप सुदृढ बनाइनेछ। विपद्को समयमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाइनेछ।

  7. नगरभित्र हुन सक्ने सम्भावित विपद्का समयमा तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र समग्र नगरको शान्ति सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउन सुरक्षा निकायसँगको सहकार्यमा ड्रोन मार्फत प्रहरी गस्ती र डिजिटल निगरानी प्रणालीको सुरुवात गरिनेछ।

  8. फोहोरमैला व्यवस्थापनको यसपूर्वका प्रविधिले फोहोरमैला व्यवस्थापनमा खासै उपलब्धि हासिल गर्न नसकेको अवस्थामा फोहोरमैला व्यवस्थापनका लागि सरकारी, निजी क्षेत्रसँगको सहकार्यमा Zero Waste अवधारणा अनुसार आधुनिक एवं वैज्ञानिक फोहोर व्यवस्थापनका लागि विभिन्न साझेदारहरूको खोजी गरिनेछ।

  9. जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गरी कृषि तथा कौसी खेती प्रवर्द्धन गरिनेछ। सडक तथा सार्वजनिक स्थलहरूबाट हुने फोहोरमैला जनचेतना र जरिवानाबाट न्यूनीकरण गरिनेछ।

      1. न्याय तथा कानुन, सार्वजनिक सेवा प्रवाह, सूचना प्रविधि, कर तथा राजस्व

  1. कोही नपरोस् अन्याय, घरदैलोमा न्याय” भन्ने अवधारणालाई कार्यान्वयन गर्न कानुनी सचेतना, न्यायिक संवाद, विवाद दर्ता शिविर तथा न्यायिक समितिका गतिविधिबारे गाउँ–टोलसम्म सूचना प्रवाह, न्यायिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।

  2. विवाद घटाऔँ, मेलमिलाप बढाऔँ, तनावमुक्त जीवन बिताऔँ” भन्ने नारालाई आत्मसात गर्दै वैकल्पिक विवाद समाधान पद्धतिलाई प्राथमिकता दिइनेछ। वडा मेलमिलाप केन्द्र स्थापना तथा सुदृढीकरण, दक्ष मेलमिलापकर्ता उत्पादन र वडास्तरमै विवाद समाधान गर्ने व्यवस्था क्रमशः प्रभावकारी बनाइनेछ।

  3. सक्षम, पहुँचयोग्य, छिटोछरितो र प्रभावकारी न्याय प्रणालीको विकास गर्दै नागरिकलाई निवेदन लेखन लगायतका सेवामा आवश्यक सहजीकरणको व्यवस्था निरन्तर दिइनेछ। न्यायिक समितिको संस्थागत सुदृढीकरणका लागि न्यायिक गतिविधिहरू समेटिएको प्रोफाइल अद्यावधिक गरिनेछ।

  4. न्यायिक क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि न्यायिक समिति, मेलमिलापकर्ता तथा कर्मचारीहरूको क्षमता विकास सम्बन्धी तालिम, गोष्ठी, सेमिनार तथा अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। कानुन विषय अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ। कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि नयाँ कानुन निर्माण तथा मौजुदा कानुन समयसापेक्ष संशोधन प्रक्रियालाई अघि बढाइनेछ।

  5. सम्पूर्ण प्रशासनिक सेवा क्रमशः डिजिटल बनाइ कर भुक्तानी, सिफारिस लगायतका सेवालाई अनलाइन प्रणालीमा रूपान्तरण गर्दै कागजरहित प्रशासन (Paperless Governance) लागू गरिनेछ। सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी, उत्तरदायी तथा सेवाग्राहीमैत्री बनाइनेछ।

  6. भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै वित्तीय अनुशासन र पारदर्शितालाई संस्थागत गरिनेछ। सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा नागरिक सहभागितामूलक अनुगमन प्रणालीलाई नियमित र प्रभावकारी बनाइनेछ।

  7. कार्यसम्पादनमा आधारित कर्मचारी मूल्याङ्कन तथा प्रोत्साहन प्रणाली लागू गरिनेछ। कर्मचारी तथा जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि तालिम, अध्ययन तथा अनुभव आदान–प्रदान, भ्रमण कार्यक्रम सञ्चालन गरिनेछ।

  8. नगरको सूचना तथा तथ्याङ्क व्यवस्थापनका लागि तथ्याङ्क बैंक, Knowledge Management, Decision Support System तथा File Tracking System जस्ता प्रविधियुक्त प्रणाली क्रमशः लागू गरिनेछ।

  9. कर प्रशासनलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै डिजिटल कर प्रणाली (Digital Tax System) विस्तार गरी अनलाइन माध्यमबाट कर भुक्तानी प्रणालीको विकास गरिनेछ।

  10. राजस्व सुधार योजनाअनुसार करका आधारहरू फराकिलो बनाउँदै व्यवसाय, उद्योग तथा लगानी प्रवर्द्धनलाई सहयोग पुग्ने गरी कर प्रणाली सुधार गरिनेछ। करदाता शिक्षा तथा करदाता मैत्री सेवा प्रवर्द्धन गर्दै स्वेच्छिक कर सहभागिता (Voluntary Tax Compliance) अभिवृद्धि गरिनेछ।

      1. समन्वय, सहकार्य तथा अन्तर सम्बन्ध :

  1. संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै नगरको दीर्घकालीन विकासमा योगदान पुग्ने ठूला तथा रणनीतिक आयोजना सञ्चालन गरिनेछ।

  2. दुई पक्षीय एवं बहुपक्षीय हितका सवालहरूमा अन्तरपालिकीय साझेदारीलाई प्राथमिकतामा राखी कार्यक्रमहरू सञ्चालन गरिनेछ।

  3. निजी क्षेत्र, सहकारी संस्था, गैरसरकारी संस्था तथा नागरिक समाजसँग साझेदारी विस्तार गरी विकास कार्यक्रमहरूको प्रभावकारिता अभिवृद्धि गरिनेछ।

  4. असल अभ्यासको आदानप्रदान, स्थानीय सरकारको संस्थागत विकास र अन्तरपालिका समन्वयलाई प्रभावकारी बनाउन एक प्रदेश एक पालिका बीचको भगिनी सम्बन्ध तथा महत्वपूर्ण, उपयोगी अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्यता प्राप्त गर्ने नीतिलाई निरन्तरता दिइनेछ।

  5. अष्ट्रेलियाको आधुनिक प्रविधि, सीप, लगानी र संस्थागत अनुभवलाई हस्तान्तरण गर्दै बागलुङ नगरपालिकालाई वातावरणमैत्री, प्रविधिमैत्री र दिगो विकासको नमुना नगरका रूपमा विकास गर्न विन्डम इको ग्लोबल भिलेज प्रा.लि. सँगको समन्वय तथा सहकार्यमा हरित पूर्वाधार, नवीकरणीय ऊर्जा, डिजिटल सुशासन, नवप्रवर्तन, उद्यमशीलता, इको स्मार्ट सिटी लगायतका कार्यक्रम सञ्चालन गरिनेछ

नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई सफल, समावेशी र जनमुखी बनाउन नगर प्रमुखज्यू, विषयगत समितिका संयोजकज्यूहरू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू तथा सम्पूर्ण नगरसभा सदस्यज्यूहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

त्यसैगरी, नीति तथा कार्यक्रम निर्माणका क्रममा बहुमूल्य सुझाव, अनुभव र मार्गदर्शन प्रदान गर्नुहुने बागलुङ नगरपालिकाका निर्वतमान जनप्रतिनिधिज्यूहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, विषयगत कार्यालयका कार्यालय प्रमुखज्यूहरू, बागलुङ उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, सहकारी अभियन्ताहरू, गैरसरकारी संघ–संस्थाका प्रतिनिधिज्यूहरू, नागरिक समाज, सञ्चारकर्मी, सूचनाप्रविधि माध्यमबाट सुझाव प्रदान गर्नुहुने महानुभावहरू तथा सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी, आमा–बुबाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

प्राप्त सुझाव, सल्लाह र सुझावहरूलाई केवल यस वर्षको नीति तथा कार्यक्रमका लागि मात्र नभई बागलुङ नगरपालिकाको साझा बौद्धिक सम्पत्ति र दीर्घकालीन मार्गदर्शनको रूपमा अभिलेखीकरण गर्दै आगामी योजना तथा विकास यात्रामा समेत आत्मसात् गरिने विश्वास दिलाउन चाहन्छु।

यस नीति तथा कार्यक्रमको मसौदा तयारी, समन्वय र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछु। उहाँहरूको प्रतिबद्धता, परिश्रम र समर्पणले नै यस दस्तावेजलाई अझ व्यवस्थित, यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन महत्वपूर्ण योगदान पुगेको छ।

अन्त्यमा, समृद्ध, सुशासित, हरित र समावेशी बागलुङ निर्माणको साझा अभियानमा सबै पक्षको निरन्तर साथ, सहयोग र सहकार्य प्राप्त हुने विश्वास व्यक्त गर्दछु।

जय बागलुङ।

(बसन्तकुमार श्रेष्ठ)
नगर प्रमुख
बागलुङ नगरपालिका

प्रतिक्रिया