प्रधानमन्त्रीलाई सांसद काउचाको आग्रह– ‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’

  • साउन २५, २०८३

काठमाण्डौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेणुका काउचा मगरले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिएको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सदनलाई स्पष्ट जवाफ दिन माग गरेकी छन ्।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै काउचा मगरले प्रधानमन्त्रीबाट लामो समयसम्म उक्त अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएको भन्दै प्रश्न उठाइन् । उनले संसद्ले प्रश्न गर्नु घेराबन्दी नभएको र प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताइन ्।
उनले प्रधानमन्त्रीलाई व्यंग्यात्मक शैलीमा भनिन्, “कालो चस्मा खोल्नुस् । तपाईं एक्लो हुनुहुन्न ।”
काउचाले मुलुकको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्षले साथ दिने स्पष्ट पार्दै संविधान, लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय मर्यादा र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न नसक्ने बताइन् ।
“तपाईं सत्ता पक्षको मात्र प्रधानमन्त्री होइन, तपाईं हामी सबै नेपालीको प्रधानमन्त्री हो,” उनले भनिन ्।
सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण प्रधानमन्त्रीको राजनीतिक साखमा असर परेको महसुस भए नभएको प्रश्न गर्दै काउचाले संसद्को रेकर्डमा रहेको अभिव्यक्ति सच्याउन, आवश्यक परे फिर्ता लिन वा आत्मालोचना गर्दै सदनलाई विश्वस्त पार्न प्रधानमन्त्रीलाई आग्रह गरिन ्।
“गल्ती स्वीकार गर्नु कमजोरी होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो,” उनले भनिन् ।
प्रधानमन्त्रीको आलोचना व्यक्तिगत रूपमा नभई प्रधानमन्त्री पदको गरिमा र लोकतान्त्रिक संस्थाको प्रतिष्ठा बढाउनका लागि भएको उनको भनाइ थियो ।
काउचाले प्रधानमन्त्री विश्वका प्रभावशाली राजनीतिक नेतृत्वको सूचीमा परेको समाचारले नेपाली नागरिकका रूपमा आफूहरू खुसी भएको उल्लेख गर्दै पछिल्ला कार्यशैलीका कारण त्यही अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि प्रश्न उठ्ने अवस्था आउनु दुःखद् भएको बताइन् ।
सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक धारणा, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विश्वसनीयतामा समेत प्रभाव पार्न सक्ने भन्दै उनले विदेश नीति भाषणको विषय नभई राज्यको दीर्घकालीन जिम्मेवारी भएको बताइन् ।
उनले सीमा र राष्ट्रिय हितका विषयमा राजनीतिक आवेगभन्दा तथ्य, प्रमाण, कूटनीतिक मर्यादा र राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिइन्।

काउचाले प्रधानमन्त्रीको कार्यशैली र सरकारभित्रको समन्वयबारे समेत प्रश्न उठाइन्। उनले प्रधानमन्त्री आफ्नै मन्त्रिपरिषद्मा एक्लै रहेको हो कि, मन्त्रीका सुझाव कति सुन्ने गरिएको छ र आफ्नै दलभित्र कति संवाद हुने गरेको छ भन्ने प्रश्न गरिन्।
उनले अर्थमन्त्री र प्रधानमन्त्रीबीचको सम्बन्ध तथा प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारी, मन्त्री र कर्मचारीमाथि अनावश्यक दबाब वा धम्की दिएको भन्ने प्रश्नहरूबारे पनि सदनबाट स्पष्ट पार्न प्रधानमन्त्रीसँग माग गरिन्।
“यदि यी आरोप गलत हुन् भने प्रधानमन्त्रीज्यूले सदनबाट स्पष्ट पार्नुहोस् । यदि सत्य हुन् भने सच्याउनुहोस्,” उनले आग्रह गरिन ।  लोकतान्त्रिक सरकारमा प्रधानमन्त्रीको सचिवालयको शक्ति संविधानभन्दा माथि हुन नसक्ने उनको भनाइ थियो ।
सत्ता पक्षकै केही सांसदले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेको प्रसंग उल्लेख गर्दै काउचा मगरले सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक रहेको बताइन ्।

“सत्ता पक्षमा हुनु भनेको विवेकलाई बन्धक राख्नु होइन । सरकारको समर्थन गर्नु भनेको सरकारका हरेक कमजोरीमा मौन बस्नु होइन,” उनले भनिन्।

उनले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संसद्लाई सम्बोधन गर्न, प्रतिपक्षसँग संवाद गर्न र संसद्मा उठेका प्रश्नको जवाफ दिन आग्रह गरिन् । आलोचनालाई शत्रुताका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।
सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याएर देश र संसद्सँग क्षमा माग्नसमेत उनले प्रधानमन्त्रीलाई आग्रह गरिन ्। “त्यसले तपाईंको कद घटाउँदैन, बरु तपाईंको लोकतान्त्रिक कद अझ उचो बनाउँछ,” काउचाले भनिन्।

उनले प्रधानमन्त्रीलाई पुनः एक्लो नभएको बताउँदै राष्ट्रिय हितमा अघि बढे प्रतिपक्ष साथमा उभिने प्रतिबद्धता व्यक्त गरिन्  । उनले भनिन्, “संविधानभन्दा माथि कोही छैन, संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन । राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन ।”  सभामुखलाई प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन आग्रह गर्दै काउचाले प्रतिपक्ष प्रधानमन्त्रीलाई घेराबन्दी गर्न नभई जवाफदेही बनाउन खोजिरहेको स्पष्ट पारिन् ।
उनले आफूहरूले प्रधानमन्त्रीको व्यक्तिगत ओज घटाउन नभई प्रधानमन्त्री पदको गरिमा, संसद् र नेपालको लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वास जोगाउन खोजेको बताइन् ।  “हामी प्रधानमन्त्रीलाई हराउन होइन, नेपालको गौरवलाई जिताउन चाहन्छौँ,” उनले भनिन ्।

प्रतिक्रिया