लाञ्छना र भेदभावका समस्या झेल्दै एचआईभी संक्रमित

  • चैत २२, २०७९

नारायण रिजाल,  बागलुङ, ।  उमेरले ५३ वर्ष पुगेका चन्द्रबहादुर खत्री हेर्दा चालिस वर्ष पनि नपुगेको तन्नेरी देखिन्छन । सामाजिक क्षेत्रमा निकै सक्रिय खत्री स्वस्थ्य र जोशिला छन । जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका खत्री एचआईभी संक्रमित व्यक्ति हुन । उनले आफु एचआईभी संक्रमित भएको थाहा पाएको पनि २१ वर्ष पुग्यो । तत्कालिन नेपाल प्रहरीमा कार्यरत खत्रीलाई २०५८ सालमै आफुलाई एचआईभी एड्स पोजेटिभ भैसकेको थाहा पाए पनि उनलाई समाजमा खुल्नका लागि चार वर्ष लाग्यो । उ बेला सरकारी जागिरे कार्यालय, गाउँ छिमेकबाट ब्यहोर्नुपर्ने लाञ्छना र भेदभावको डरले खुल्न डराए । तर जब उनी २०६२ सालमा जागिरबाट अवकास लिए त्यसपछि खुल्ने हिम्मत आयो । एचआईभी पोजेटिभहरुको वकालत गर्नेकै निम्ती २०६३ सालमा खत्रीले धौलागिरी पोजेटिभ समुह संस्था संचालनमा ल्याएर यसको बारेमा वकालत गर्न निश्कीए अहिले उनी समुहको अध्यक्ष छन । १६ वर्ष देखी एचआईभि एड्सकै क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका छन भने संक्रमितको अभिभावककको दायित्व पुरा गरेका छन । 
हाम्रो समाज अझै हामी प्रति भेदभाव र लाञ्छना गर्दैछ
शुरुमा समाजले के भन्ला भन्ने डरले आफुलाई एचआईभी भएको कुरा भन्न नसकेका खत्री विस्तारै परिवार, साथीभाईलाई भन्दै गए संस्थाको नेतृत्व गरेर सवै सामु खुलेरै यसको बारेमा सचेतना फैलाउँदै हिँडे । अहिले खत्री १६ वर्ष देखी एचआइभी संक्रमितहरुलाई गरिने व्यवहार सम्मानजनक हुनुपर्छ उनिहरुलाई भेदभाव र लाञ्छना गर्नुहुँदैन भन्दै वकालत गर्दै आएका छन । “यो कुनै ठुलो प्राणघातक रोग हैन संक्रमणको अवस्था मात्रै हो ।, नियमित औषधी सेवन गरेमा संक्रमित स्वस्थ्य रहन्छन ।, खत्रीले भने,–हाम्रो समाज अझै हामी प्रति भेदभाव र लाञ्छना गर्दैछ । यो समस्या सवै संक्रमितले झेल्दै आएका छौं । म यही भेदभाव अन्त्यका लागि खुलेको हुँ आफु खुलेर अरुलाई सहज बातावरण सृजना गर्नेका लागि बाँकी जिवन नै संक्रमितको पक्षमा वकालत गर्दै हिँडेको छु ।” 
आफुलाई संक्रमण देखिएपछि त सुरुको समयमा धेरै कठिनाई पनि बोहोर्नु परेको खत्री सुनाउँछन । पहिले यहाँ औषधी पाईदैनथ्यो । पोखरा धाउनुपर्ने बाध्यता थियो । पछि धौलागिरी अस्पतालबाट एआरटी सेवा पाएपछि आफु मात्र हैन बागलुङ, म्याग्दी र पर्वतका संक्रमितलाई समेत सहज भएको उनी बताउँछन । २०६० सालदेखी नियमित औषधी सेवन गर्दै आएका खत्री अहिले पनि हृष्टपुष्ट छन् । “एचआईभी लाग्दैमा जीवन सकिने भन्ने होईन, उनी भन्छन्, खानपान र शारिरिक हेरविचारमा ध्यान दिन सकयो भने लामो जिन्दगी जिउन सकिन्छ । आफै संक्रमित भएको २१ वर्ष भयो अहिलेसम्म त्यस्तो कुनै समस्या छैन ।’ खत्रीलाई अहिले सम्म अन्य कुनै पनि रोगले आक्रमण गर्न सकेको छैन । 
समाजले हेर्ने नजर कहिले सच्चिएला  
समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारका कारण अहिले पनि थुप्रै एचआईभी संक्रमितहरुले खुलेर जीवन जिउन नपाएको उनको भनाई छ । म आफै पनि नेपाल प्रहरीको जागिरे थिए । त्यहाँ पनि विभेद हुने डरले जागिरबाट अवकास लिएँ खत्री भन्छन्, मैले त बल्ल तल्ल हिम्मत जुटाएर सार्वजनिक भएँ तर म जस्ता कैयौं एचआईभी संक्रमितहरु अहिले पनि समाजको डरले खुल्न सकेका छैनन् ।’ संक्रमितलाई समाजले हेर्ने नजर गलत हुँदा एचआईभी संक्रमितहरुले रोग लुकाएर राख्ने गरेको र त्यसले भित्रभित्रै भयानक रुप लिने गरेको उनको बुझाई छ ।
एचआईभी लागेको कुरा परिवार र समाजलाई लुकाउँदा र खुलाउँदा दुबै बाट संक्रमितले समस्या झेल्नुपरेको उनी बताउँछन । हाम्रो समाजले संक्रमितलाई हेर्ने दृष्टिकोण अहिले सम्म बदलिएको छैन ।, खुले पनि समस्या छ नखुलेपनि समस्या छ । समाज जहिले सम्म बदलिदैन त्यहीले सम्म यो समस्याको समाधान हुँदैन । समाजले एचआईभी एड्स भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण बदल्ने उद्देश्यले उनले स्थापना गरेको धौलागिरी पोजेटिभ समूहको अहिले पनि अध्यक्ष छन् । हाम्रो समूहमा ५० देखी ५५ जना सदस्य पुगेका छन् तर अझै पनि खुल्न डराउँछन् हामी भित्र खुलेपनि बाहिर खुल्ने पहिलो व्यक्ति नै म हुँ  खत्रीले भने । अहिले सम्म समाजमा खुलेको ५÷७ मात्र छौं । उहाँहरु पनि सार्वजनिक समारोहमा कमै उपस्थित हुनुहुन्छ ।  संस्थाको कार्यसमितीमा ७ जना रहेका छौं यसैगरी नै संस्था संचालन छौ खत्रीले भने, ।  
भेदभावका डरले खुल्न सक्दैनन् संक्रमित 
समाजमा भेदभाव हुने डरले नखुल्दा संस्थाको अधिवेसन हुँदा अझै पनि कोही नेतृत्वका लागि तयार, हुन नसक्नु दुःखको कुरा भएको उनी बताउँछन । एचआईभी लागेकाहरुलाई समाजमा स्थापित गराई सम्मानित जीवन जिउने वाताबरण मिलाउनका लागि आफ्नो संस्थाले अहिले काम गरिरहेको छ । भेदभावको डरले कोही खुल्न सक्नुहुँदैन । त्यसले गर्दा संस्थालाई जोगाउनका निम्ती निरन्तर नेतृत्वमा बस्नुपर्ने बाध्यता रहेको छ । 
उनी आवद्ध संस्थाले अहिले पनि संक्रमितका लागि हेरचाह तथा सहयोग गर्दै आएको छ । संक्रमितहरुका लागि लक्षित गरी संचालन गरेको हेरचाह केन्द्र पनि बजेट अभावका कारण संकटमा परेको खत्री बताउँछन ।  ‘पहिले पहिले विभिन्न सहयोगी निकायले सहयोग गर्नुहुन्थ्यो अहिले न्युन छ । चाहेर पनि संक्रमितहरुलाई हामीले राम्रो सँग सेवा दिन सकेका छैन । हामीले संचालन गरेको हेरचाह केन्द्र संचालनका निम्ती पनि धौ धौ भएको छ । ’
    हेरचाह केन्द्रमा निरन्तर २० देखी २५ जना संक्रमितहरुले आश्रय लिदै आएको संस्थाले जनाएको छ । संक्रमितहरु धौलागिरी अंचल अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा संस्थाबाट सेवा लिने गरेका छन । उनिहरुले अस्पताल र एआरटि सेन्टरमा सेवा लिन आउँदा खान बस्नको व्यवस्था हेरचाह केन्द्रले गरेको छ । केन्द्रमा संक्रमितलाई खाना, वस्नको व्यवस्थाका साथै परामर्श र जतिलता भएका संक्रमित विरामीलाई रेफरका लागि पनि केहि राहत प्रदान गरिने व्यवस्था रहेको खत्रीले जनाए ।
बागलुङमा  १ सय ८१ जना एचआईभी संक्रमित
 बागलुङ जिल्लामा १ सय ८१ जना संक्रमितहरुको पहिचान भएको छ । उनीहरु मध्ये अधिकांशले धौलागिरी अस्पतालको एआरटी सेन्टरबाट नियमित औषधी सेवन गर्छन भने पश्चिम क्षेत्रका २२ जना संक्रमितले ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट नियमित औषधी सेवन गरिरहेको एआरटी सेन्टरका प्रमुख प्रदिप आचार्यले जानकारी दिए । जिल्लामा एचआईभी एड्सकै कारण हाल सम्म ६४ जनाको मृत्यु भएको छ ।
नियमित परामर्शले खुल्ने दर बढ्दै गएको छ 
विगतका समयमा भन्दा संक्रमितहरु खुल्दै गएको र संख्या पनि बढदै गएको स्वास्थ्य कार्यालय बागलुङका एचआईभी एड्स फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । समाजले गर्ने छिःछि र दुरःदुरको व्यवहारले अधिकाँस रोग लुकाएर बस्ने गरेका छन् । घिमिरेले भने, तै पनि हाम्रा स्वास्थ्यकर्मीको नियमित परामर्शले पछिल्लो समयमा केही खुल्नेको दर पनि बढदै गएको छ । एचआईभी एड्स हुँदैमा जीवन समाप्त हुन्छ भन्ने सोच अझै पनि केहीमा रहेको र समाजले हेर्ने दृष्टीकोणका डरले संक्रमितहरु खुल्न डराएको उनले बताए । विषेशत धेरैजसो असुरक्षित यौन व्यवहारका कारण एचआईभी संक्रमित हुने गरेको पाईएको उनको भनाई छ । समाजमा एचआईभी कसरी सर्छ र कसरी सर्दैन भन्नेबारेमा भ्रमहरु रहेका कारण पनि संक्रमित हुनेहरुको संख्या बढि हुने घिमिरे बताउँछन । अर्कोकुरा एचाईभी संक्रमितहरुसंग संगै बस्दैमा, हात मिलाउँदैमा यो रोग सर्दैन भन्ने कुराको ज्ञान गाउँघरमा अझै पनि पुग्न नसक्दा संक्रमितहरु लाञ्छना र भेदभावको सिकार बन्न पुगेको घिमिरेको भनाई छ । 
एचाईभी एड्सको न्युनिकरणका निम्ती स्वास्थ्य कार्यालय, धौलागिरी अस्पताल, एआरटी सेन्टर, धौलागिरी पोजेटिभ समूह र एड्स हेल्थ केयर फाउण्डेशन तथा स्थानीय तहले नियमित क्रियाकलापहरु गर्दै आएका छन । 
संघियता लागु भए सँगै सवै अधिकार स्थानिय तहमा गए पश्चात एचआईभि एड्स न्युनिकरणका काम कम हुन लागेको पिडितहरुको गुनासो रहेको छ । जिल्लाका १० स्थानिय तह मध्ये अहिले सम्म ४ वटा स्थानिय तहले मात्र केही कार्यक्रमका लागि सहयोग गरेको र अन्यले चासो नदेखाएको अध्यक्ष खत्रीले बताए । हामी सवै स्थानिय तहमा यसको रोकथामका कार्यक्रम गरौं भनेर गएका छौं । खत्रीले भने,– बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाले केही कार्यक्रमहरु संचालन गर्नुभएको छ । अन्यले यसमा कम नै चासो व्यक्त गर्नुभएको छ । यसले हामीलाई उपचारमा समस्या भएको छ । उनले पश्चिम क्षेत्रमा विपन्न परिवारका व्यक्ति संक्रमित भएको र उनिहरु आर्थिक अभाकका कारण नियमित औषधी सेवन नै छुट्ने बताए । खत्री नेतृत्वको संस्थाले गरिब तथा विपन्न परिवारको संक्रमित व्यक्तिलाई आउँदा जाँदाको यातायात खर्च समेत उपलब्ध गराउँदै आएको छ । 
 

प्रतिक्रिया