बलेवाको पैयुँपाटामा नगर अस्पताल

  • असोज ८, २०७८

जिल्लाको बागलुङ नगरपालिका–१३ वलेवा पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको छ । शुक्रबार अस्पतालको उदघाटन गरी औपचारीक रुपमा सेवा सुभारम्भ गरिएको छ । साबिकको पैयुँपाटा स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरबृद्धि गरी नगर अस्पतालको रुपमा उद्घाटन गरिएको हो । अस्पतालको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले उदघाट्न गरेका हुन । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको प्रमुख सल्लाहकार प्रताप पौडेलको पहलमा वलेवा क्षेत्रलाई मध्यनजर पैयुँपाटा स्वास्थ्यचौकीलाई स्तरबृद्धि गरी नगर अस्पतालको रुपमा परिणत गरिएको थियो । 
तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भए पनि अबको एक वर्षमा सुविधा सम्पन्न नयाँ भवन निर्माण र जनशक्ति थप गरी अस्पताललाई थप स्तरबृद्धि गरिने भएको छ ।  नगर अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा स्थानीयबाट व्यवस्थापन गरिएको छ । अस्पतालको भवन बनाउन १८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त भवन निर्माणका लागि निर्माण कम्पनीले जिम्मा समेत लिई सकेको नगर प्रमुख जनकराज पौडेलले बताए ।  एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सरकारको घोषित नीतिलाई कार्यान्वयन गर्दै पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । 
 नगरप्रमुख पौडेलले बलेवा शहरको रुपमा विकास हुँदै गएको अवस्थामा अस्पताल बनेपछि एउटा खुड्किलो थपिएको बताए । उनले बलेवा क्षेत्रका नागरिकको लागि स्वास्थ्यमा थप पहुँच पुगेका बताए । 
अस्पतालमा ३ जना मेडिकल अधिकृत सहित २७ जना विभिन्न तहका स्वास्थ्यकर्मीहरू रहने जनाइएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, ल्याब र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी कार्यरत छन् ।
अस्पतालबाट बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटा, वडा नम्बर १४ नारायणस्थान र वडा नम्बर १२ अमलाचौरका २७ हजार भन्दा बढि लाभान्वित हुने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए ।  सरकारको सहयोगसँगै देश विदेशमा रहेका गाउँलेहरूले अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्न थालेको पौडेलले जानकारी दिए ।  नजिकै सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुस्मा तथा पोखरा सम्म जानुपर्ने बाध्यता छ । नगर अस्पताल बनेसँगै गाउँमा नै सहज रुपमा उपचार गर्न सकिने बताईएको छ । 
कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडल काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. रामबहादुर केसी, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत सुर्यलाल विश्वकर्मा, बानपा–१२ का वडा अध्यक्ष गुरुप्रसाद पाठक बानपा–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, नेकपा एमाले पैयुँपाटाका अध्यक्ष पवित्रा रोका, माओबादी केन्द्रका अध्यक्ष रेशम बहादुर केसी, जनमोर्चाका अध्यक्ष प्रेमबहादुर रोका, जनता समाजबादीका अध्यक्ष ढाकारा परियार लगायतले बोलेका थिए । 
कार्यक्रम बागलुङ नगरपाकिलाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञावलीको अध्यक्षता, बानपा–१३ पैयुँपाटका वडा अध्यक्ष नारायण शर्मा पौडेलेका स्वागत र बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया