• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • कला/मनोरञ्जन

तमानगाउँको थिती : अझै पनि  मुखियाकै भरमा 

  • भदौ ३, २०८३

नारायण रिजाल, बागलुङ !     समय फेरिदै गएको छ, हाम्रा धेरै संस्कृति र परम्परा इतिहासका पानामा सीमित हुँदै गएका छन ।  आधुनिकताले थुप्रै संस्कारलाई बिर्साउँदै गएको छ, तर केही गाउँ यस्ता पनि छन्, जहाँ पुराना थिति केवल सम्झनामा होइन, आज पनि जीवनको अभिन्न हिस्साको रुपमा रहिरहेका छन । त्यस्तै एउटा गाउँ हो– बागलुङको तमानखोला गाउँपालिका–३, तमानगाउँ, जहाँ मुखिया प्रथा अझै पनि समुदायको विश्वास, अनुशासन र एकताको प्रतीक बनेर जीवित रहेको छ । 
यहाँ मुखियालाई थिती अध्यक्ष समेत भनिन्छ तर उनि कुनै शासक होइनन्, गाउँको साझा अभिभावक हुन् । उनी गाउँको संस्कृति, परम्परा र सामुदायिक जीवनलाई व्यवस्थित राख्ने जिम्मेवार व्यक्तिको रुपमा रहेका हुन्छन ।  विशेषगरी तमानगाउँमा मनाइने चाडपर्वलाई मर्यादित र व्यवस्थित बनाउने, गोठ सार्ने शुभ समय अर्थात् ‘सरुन’ निर्धारण गर्ने, ऋतु अनुसार गोठ र चरिचरनको व्यवस्थापन मिलाउने जस्ता काममा मुखियाको निर्णायक भूमिका रहँदै आएको छ । आधुनिक युगको प्रवेश भएपनि यहाँको थिती भने मुखियाकै भरमा चलेको छ । 
मुखिया केवल पद होइन, गाउँलेहरूको विश्वासले दिएको जिम्मेवारी हो
गाउँलेले बनाएको थिति र नियम सबैका लागि समान हुन्छ । कसैले जथाभावी पशु चराउने, तोकिएको चरन क्षेत्रको उल्लंघन गर्ने वा तिथिमितिको बेवास्ता गर्दै सामुदायिक व्यवस्थामा खलल पु¥याउने प्रयास गरेमा मुखियाले कारबाही गर्न सक्ने अधिकार पनि रहेको छ ।  यही कारण तमानगाउँमा मुखिया केवल पद होइन, गाउँलेहरूको विश्वासले दिएको जिम्मेवारी रुपमा रहेको छ । 
यस परम्परालाई निरन्तरता दिन गाउँ भेलामार्फत हरेक तीन वर्षमा मुखिया चयन गरिन्छ । हाल ४६ वर्षीय गोबिन्दबहादुर बुढा मगर तमानगाउँका मुखियाका रूपमा कार्यरत छन ्। उनी गत वर्षको पुस महिनामा तीन वर्षे कार्यकालका लागि चयन भएका हुन् ।
मुखियाले आफ्नो कार्यकालमा गाउँको थिति, परम्परा र सामुदायिक अनुशासनमा कायम राख्ने प्रतिबद्धता जनाएका छन् । उनी भन्छन्, गाउँको एकता र परम्परा जोगिनु नै मुखियाको सबैभन्दा ठूलो जिम्मेवारी हो ।
स्थानीय सरकार र कानुनी संरचना बलियो बन्दै गएका बेला पनि तमानगाउँमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको मुखिया प्रथा अझै जीवन्त छ । यसले आधुनिक शासन व्यवस्थासँगै स्थानीय ज्ञान, संस्कृति र सामुदायिक सहकार्यको अनुपम उदाहरण प्रस्तुत गरिरहेको छ ।
गाउँको संस्कृति संरक्षणका निम्ती प्रयोग भएको छ 
मुखिया प्रथाले राणाकालिन अवस्थाको झल्को दिने भएता पनि त्यो अहिले गाउँको संस्कृति संरक्षणका निम्ती प्रयोग भएको पाइन्छ ।  अहिले मुखिया प्रथा तत्कालीन बेलाको जस्तो नभइ गाउँलेलाई विभिन्न काममा साथ र सहयोग गर्ने परम्परा हो । विशेषगरी तमान गाउँमा मनाइने चाडपर्व व्यवस्थित बनाउने, गोठ सार्दा ‘सरुन’ हेरिदिने, ऋतु अनुसार गोठ र चरिचरनको व्यवस्थापन गराइदिने काममा मुखियाको महत्त्वपूर्ण हात हुने गरेको छ । 
गाउँ सरसफाइ, सामूहिक काम, खेतीपाती लगाउने, भित्र्याउने जस्ता काममा पनि उनले अगुवाई गर्छन् । उनको आग्रहमा गाउँका कटुवाल रुपलाल बुढाले घोक हाल्छन् । उक्त घोकको आधारमा गाउँलेले तोकेको काम गर्नुपर्ने नियम छ । भेला, बैठकमा पनि उनकै आदेशमा उपस्थित हुनुपर्छ ।
गोठ सार्ने चलन मुखियाकै भुमिकामा
तमान गाउँमा बैशाख देखी असारसम्म  वैशाखे ‘चान’ (पशुचरनको गोठ सार्ने) समय रहन्छ । त्यसपछि यहाँ साउने चान सुरु हुन्छ । त्यतिबेला ती पशुबस्तुलाई माथिल्लो वन र तमानघाँटीको खर्कमा पठाइन्छ । त्यहाँ असोजसम्म चौपाया चर्छन् ।
कात्तिके चान लगाउने बेला तमान गाउँको आसपासमा चरन सुरु गरिन्छ । त्यो तीन महिना रहन्छ । पुसे चानमा यहाँको तल्लो बेंसीमा गोठ झार्ने गरिन्छ । कतिपयले बोङ्गादोभानसम्म पनि चौपाया चराउँदै झार्छन् । विशेषगरी भेडीगोठलाई बेंसीसम्म झारिन्छ । यतिबेला कोदोको नल, पराल र खर खुवाइन्छ । त्यतिबेला जाडो हुने भएकोले बेंसीमा पशु झरेपछि स्थानीयले घरमा बस्न पाउँछन् । यहाँ वर्षभरीमा चार प्रकारका ऋतुलाई आधार मानेर चान लगाउने अर्थात गोठ सार्ने चलन छ यसमा मुखियाकै भुमिका रहने तिथी अध्यक्ष तथा तमान गाउँका मुखिया गोविन्दबहादुर बताउँछन । गाईभैंसी, भेडाबाख्रासहित समय अनुसार सार्दै चरन क्षेत्रमा लागिने चलन तमानमा फरक प्रकृतिको छ । यहाँ चान लगाउने र अन्य चाडपर्वसहितको थिति बसाल्नकालागि मुखियाले चलन बसाल्ने गरेको उनको भनाई छ ।   
निति कार्यान्वयनमा वडा अध्यक्ष थिती बसाल्न मुखिया
२०४६ सालको राजनीतिक परिवर्तन अघिसम्म यहाँका मुखियाले कर उठाएर गाउँको विकासमा लगानी गर्थे । स्थानीय तह बनेपछि बैधानिक काम वडाध्यक्षमा सरेको छ । तर परम्परागत विधिकालागि यहाँ केही संस्कार भने मुखिया मार्फत नै चल्ने गरेको छ । हिजो देखी मुखियाले हेर्दै आएका कारण अहिले पनि मुखिया राख्ने चलन रहेको छ । ‘यहाँ थिती चलाउन, पुजापाठ गर्नका निम्ती मुखियाको आवश्यक पर्छ, यहाँ भुमी, सिद्ध सोरठी पुजा मुखियाले नै व्यवस्थापन गरेर संचालन गर्नुपर्छ मुखिया गोविन्दबहादुर भन्छन् –“हरेक तिन वर्षमा नियमित रुपमा मुखिया छान्ने गरिन्छ । गाई बस्तु चरि चरनका निम्ती क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पनि मुखियाकै नेतृत्वमा हुन्छ । जसका लागि भेला पनि मुखियाले नै ठाक्ने र निर्णय गर्ने गरिन्छ ।” वर्तमान समयमा गाउँका समस्या समाधान भने अधिकाशं वडाध्यक्षले नै गर्ने गरेको उनि बताउँछन । 
‘नीति अनुसारको काम गर्न वडाध्यक्ष, पालिकाका जनप्रतिनिधि भएता पनि , थिति बसाल्न मुखियाको नेतृत्व चलिरहेको वडा अध्यक्ष झकबहादुर बुढा बताउँछन । उनले  गाउँभेलाको निर्णय अनुसार चुनिएका मुखियाको सल्लाहमै यहाँको परम्परागत सांस्कृतिक संरक्षणका काम हुने गरेको छ । बुढाका अनुसार वडा कार्यालयले गरेको भेलामा भन्दा मुखियाले बोलाएको भेलामा गाउँलेहरु नियमित जम्मा हुने गरेको पाइन्छ । 


मुखिया घरको पुनःनिर्माण 
तमानखोला–३ तमान गाउँमा मुखिया घरको नमूना अझै बाँकी छ । लामो समयअघि बनेकोले यो घर जीर्ण थियो । गत वर्ष गाउँपालिकाको १० र स्थानीयको ५ लाख संकलन गरी १५ लाख रुपैयाँको लागतमा यो घर मर्मत तथा पुनःनिर्माण गरेर  चिटिक्क बनाइएको छ । यो घरबाट पश्चिम बागलुङको तमान, लामेला, खुंगा, खुंखानी, नर्जाखानी र लुकुरबन गाउँको साझा मुखियाले शासन गर्थे । अहिले भने त्यो चलन हटेको छ । तमान गाउँमा मात्रै रहने मुखियाको सल्लाहमा गाउँको परम्परागत गतिविधि संचालन गरिँदै आइएको हो ।
पहिलो आम निर्वाचनपछि २०१५ सालमा तत्कालीन मुखिया दीर्घनारायण भट्टचन काठमाडौं जाँदा प्रधानमन्त्रीलाई भेटेर फर्केपछि केन्द्रीय बजेट र गाउँलेको श्रमदानबाट यो घर बनेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।  यो घरमा तत्कालीन मुखिया बसेर यहाँका ६ वटा गाउँ चलाउने गरेको इतिहास रहेको छ ।  ‘यो घरमा अब मुखिया प्रथा त चल्दैन, तर इतिहास बोकेकोले जीर्णेद्धार गरिएको हो अध्यक्ष बुढा भन्छन ,मुखिया घरको  भुइँ तलामा कार्यालय र माथिल्लो तलामा पुस्तकालय संचालन गर्ने योजना बनाइएको छ । 
मुखिया प्रथा चयन गाउँभेलाबाट हुने गरेको छ । मुखिया प्रथा सयौं वर्ष पहिलेको रहेता पनि हरेक तिन वर्षमा गाउँ भेलाबाट चुनिने गरेको छ । तमानगाउँमा केही पुरानो रिति थिती संचालनका निम्ती नै मुखियाको भुमिका रहने गरेको छ । 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय