अल्पकालिन महिला सेवा केन्द्र बागलुङमा ७३ महिलाले सेवा लिए

  • असार ३२, २०८२

बागलुङ -  बागलुङमा ७३ जना महिला लैंगिक हिंसाको सिकारमा परेको तथ्याङ्क रहेको छ । बागलुङ नगरपालिकलामा संचालनमा आएको अल्पकालिन महिला सेवा केन्द्र बागलुङ मार्फत सेवा लिएको हिंसा पीडितहरुको तथ्याङ्कमा ७३ जना महिला लैंगिक हिंसामा परेको उल्लेख गरिएको छ  ।  केन्द्रमा सेवा लिन आएका मध्ये सवै भन्दा बढि ३६ जना दलित समुदाय भित्रका छन् । अन्यको तुलनामा हिंसाको सिकार हुने दलित समुदायका महिला नै बढि देखिएका छन । त्यसैगरी  जनजाति समुदायको १७ जना र अन्य समुदायबाट २० जना हिंसा पीडितले सेवा केन्द्रबाट सेवा लिएको  बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख एवं अल्पकालिन सेवा केन्द्र व्यवस्थापन समितिकी सदस्य सचिव रचना आचार्यले जानकारी दिईन । 
आचार्यका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष हिंसापिडितको संख्या घट्दो क्रममा रहेको छ । गत आर्थिक वर्षमा ९२ जना हिंसापिडित रहेकोमा यस वर्ष ७३ जना रहेका छन ।  सेवा लिन आउनेहरुमध्ये केही जिल्ला प्रहरी कार्यालय र धौलागिरी अस्पतालमा संचाति एकद्धार संकट व्यवस्थापन केन्द्र मार्फत सेवा केन्द्रमा आउँछन् भने कतिपय सिधै केन्द्रमा आउने गरेको छन् । 
चालु आर्थिक वर्षमा १८ जना जिल्ला प्रहरी कार्यालयबाट सेवा केन्द्रमा पठाईका छन् भने ५४ जना सिधै सेवा केन्द्रको सम्पर्कमा आएका छन् । १ जना अन्य माध्यमबाट सेवा केन्द्रसम्म आईपुगेका छन् । 
 सेवा केन्द्र बागलुङ नगरपालिकामा सञ्चालित भए पनि यसले जिल्लाभर र जिल्ला बाहिरका समेतलाई सेवा दिई रहेको आचार्यले बताईन ।  
 चालु आर्थिक वर्षमा सेवा लिएकामध्ये २५ जना बागलुङ नगरपालिकाका रहेका छन् । छन भने अन्य सेवा ग्राही जिल्लाको विभिन्न पालिकाको रहेका छन । जैमिन नगरपालिकाका ८, गलकोट नगरपालिकाका ६, ढोरपाटन नगरपालिकाका ५, काठेखोला गाउँपालिका ५, बडिगाड गाउँपालिका ३, ताराखोला गाउँपालिका १, तमानखोला गाउँपालिका ४, निसीखोला गाउँपालिका २, बरेङ गाउँपालिका ४ र जिल्ला बाहिरका ९ जनाले अल्पकालिन सेवा केन्द्रबाट सेवा लिएका छन् । केन्द्रमा सेवा लिन आएकोमा शारिरिक हिंसा पीडित ९ जना, मानसिक हिंसा पीडित १३ जना, आर्थिक हिंसा पीडित ८ जना, यौनजन्य हिंसा पीडित १० जना, अन्य हिंसामा परेका ३३ जना पीडितहरुले सेवा लिएका छन् ।
 लैङ्गिक हिंसा पीडित अल्पकालिन सेवा केन्द्रले बढिमा ४५ दिनसम्म आवास र खानपानको व्यवस्था गर्ने गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।  मंगलबार बागलुङमा आयोजना गरेको अल्पकालिन सेवा केन्द्र सञ्चालन सम्बन्धी सरोकारवालाको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीले तथ्याङ्कमा घरेलु हिंसा घटे पनि समाजमा बढेको बताए । ‘यहाँ तथ्याङ्कमा त हिंसा घटेको भएर होला सेवा लिनेहरुको संख्या घटेको देखिन्छ,’उनीहरुले भने,‘वास्तवमै समाजमा जादा यस खालका घटनाहरु बढ्दो छ । सामाजिक असुरक्षाका कारण यस खालका घटना बाहिर आउन सकिरहेको छैन ।’ 
जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अल्पकालिन सेवा केन्द्रमा गएपछि न्याय पाइन्छ भन्ने विश्वास नभएका कारण आउनेहरुको संख्या कमी भएको हुनसक्ने कुरामा ध्यान दिन आग्रह गरे । ‘तथ्याङ्कमा घटेको देखिए पनि यस्ता घटनाहरु समाजमा लुकेका र लुकाईएका अवस्थामा छन्,’उनले भने,‘हामीले गरिरहेको काममा पीडितहरुले विश्वास नगरेको पनि हुनसक्छ । त्यसप्रति गम्भीर भएर हामीले विश्वासको वाताबरण सिर्जना गर्नेतर्फ लाग्नुपर्छ ।’ 
स्थानीय तहले बनाएको संरचनाप्रति नागरिकको विश्वास र जनचेतना जगाउने काममा लाग्नुपर्ने उनले बताए । बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले शिक्षा र चेतनाले यस खालको घटनाहरुमा कमी आउने बताए । बागलुङ नगर उपप्रमुख राजु खड्काले लैङ्गिक हिंसाका घटनाले दिगो विकासमा नकरात्मक प्रभाव पारिहेको बताए । ‘हामीले यो विषयलाई गम्भीरतापूर्वक उठाउने प्रयास गरिरहेका छौं, यसमा अन्य जिल्लाका पालिकाहरुबाट पनि सहयोग होस् भन्ने हाम्रो चाहाना छ,’उनी भन्छन्,‘तर हामी कोही पनि यो विषयमा गम्भीर भएका छैनौं । जसले गर्दा समस्या बढिरहेको छ ।’ 
कार्यक्रममा सहभागीले लैंगिक हिंसा न्युनिकरणको सवाल स्थानीय तहको प्राथमिकतामा नपरेको प्रति चिन्ता समेत व्यक्त गरेका थिए । सेवा केन्द्र अन्तरपालिका समन्वय गर्न कठिनाई कानुनी दक्षता र विज्ञताको अभावले प्रभावकारी रुपमा संचालन हुन नसकेको उनिहरुको भनाई थियो ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जैमिनी नगर उपप्रमुख हरिहर शर्मा, काठेखोला गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलक, अन्तरपार्टी महिला सञ्जाल बागलुङकी संयोजक सीता सापकोटा कँडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महिला तथा बालिका शाखा प्रमुख रचना आचार्यले गरकी थिईन् । 

प्रतिक्रिया