• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • कला/मनोरञ्जन

नौ वर्षमा निकालिएको हनुमान नाच, २० महिनापछि समापन

  • ब‌ैशाख १६, २०८३

बागलुङ -  बागलुङ बजारको नारायणचोक एउटा इतिहास बोकेको स्थान, बागलुङका नेवार समुदायका हरेक संस्कृति पस्कने ठाउँमा त्यही स्थानमा हावामा धूपको सुवास घुलिएको थियो र मृदङ्गा र झ्यालीको गुञ्जनले वीरताको लय बगाइरहेको थियो । नेवार समुदायका श्रद्धालुहरू एकत्रित भए—शिरमा ‘श्रीराम’ अंकित पट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, अनि पछाडि पुच्छर बाँधेर, मानौं जीवित हनुमानकै प्रतिरूप बनेर । दुई–दुई जनाको जोडीमा अखडामा बसेका ती हनुमानहरू, मृदङ्गाको वीरतालसँगै लयमा बग्न थाले। तालको प्रत्येक आरोह–अवरोहसँगै उनीहरूको नृत्यले केवल शरीर होइन, आत्मासमेत कम्पित गराइरहेको थियो।
यसले आस्था र उत्साहको संगम भएर धड्किरहेको थियो । वीरतालको समापनसँगै नारायणचोकको परिक्रमा गरियो, अनि १३ जोडी हनुमान पुनः अनुशासित पङ्क्तिमा उभिए—जसले आगामी पूजाको गाम्भीर्य झल्काइरहेको थियो । त्यसपछि सुरु भयो नासो देउको पूजा—आस्था र परम्पराको मिलनबिन्दु। फल्याकमाथि सजिएका केराका पात, धूपदीप, अविर, अक्षता, फलफूल र नैवेद्यले वातावरणलाई अझै पवित्र बनायो। मूल पूजारी बद्रीकुमार श्रेष्ठले मन्त्रोच्चारण सुरु गर्दा, मृदङ्गाको धुनले देउतालाई आमन्त्रण गरिरहेको अनुभूति हुन्थ्यो।
पूजाको मध्यतिर, केही हनुमानहरूमा ‘वीर’ चढ्न थाल्यो—शरीरमा कम्पन, आँखामा अलगै चमक। त्यो केवल नृत्यको उन्माद थिएन, त्यो आस्थाको चरम अभिव्यक्ति थियो। स्वयंसेवकहरूले संयमित रूपमा उनीहरूलाई सम्हाल्दै वातावरणलाई सन्तुलित राखे। दर्शकमध्ये पनि केहीमा त्यही ऊर्जा सरेको देखिन्थ्यो, जसलाई पनि सावधानीपूर्वक नियन्त्रणमा राखियो ।
देउतालाई अर्पण गरिसकेपछि, पूजारीले धूप सुँघाउँदै ‘वीर’ शान्त पारे—मानौं उफ्रिरहेको आस्था फेरि स्थिरतामा फर्कियो। त्यसपछि टोली हनुमान पौवातर्फ लाग्यो, जहाँबाट पुनः बजार परिक्रमा सुरु भयो। मृदङ्गाको विविध तालमा हनुमानहरूको नाच, गल्ली–गल्लीमा फैलिँदै, सहरलाई नै एउटा जीवित रंगमञ्चमा रूपान्तरण गरिरहेको थियो।
अन्ततः, त्यही पौवामा विधिवत पूजापाठसँगै हनुमान नाच विसर्जन गरियो—जसले नौ वर्षपछि पुनर्जीवित भएको परम्परालाई २० महिनाको यात्रापछि पूर्णता दियो। २०८१ सालको भदौदेखि सुरु भएको यो सांस्कृतिक यात्रा, विभिन्न टोल र स्थानहरूमा १९ पटक प्रस्तुत भई, अन्ततः मंगलबार समापनमा पुगेको हो ।
यो केवल एउटा नाच थिएन—यो समयसँग जोगिएको पहिचान थियो, पुस्तौँदेखि सर्ने विश्वास थियो, र एउटा सहरको आत्माले आफ्नै इतिहाससँग गरेको पुनर्मिलन थियो।

हनुमान नाच संरक्षण परिषदका प्रधान कजी ईश्वरप्रसाद श्रेष्ठले ९ वर्षपछि औपचारिक रुपमा निकालिएको हनुमान नाच विधिवत रुपमा समापन गरिएको बताए । ‘लामो समय निकाल्न नसकिएको हनुमान नाच हामीले ९ वर्षपछि विधिवत रुपमा निकाल्यौं र अहिले २० महिनापछि समापन गरेका छौं,’ उनले भने,‘यो खासगरी विजोर वर्षमा निकाल्ने परम्परा छ । अब कम्तीमा तीन वर्ष औपचारिक तवले यो नाँच निकालिने छैन ।’ बिजोर वर्षमा निकाल्नुपर्ने र कोरोना महामारी लगायतका कारणले विगतमा ९ वर्षसम्म हुनमान नाच निकाल्न नसकिएको उनको भनाई छ । हनुमान नाँच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाँच हो । मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाँच’ बागलुङका नेवार समुदायले जोगाएर राखेका छन् । 
पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार अनुसार नाच्ने गर्छन् । जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रुपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच निकाल्न सहज नहुने गरेको प्रधानकजी श्रेष्ठ बताउँछन् । रामायणमा आधारित हुनमान नाचमा लङ्का दहन लगायतका विभिन्न क्रियाकलाप देखाईन्छ । १३ जोडी, २६ जना हनुमान  उत्तिकै समयमा स्वयंसेवक आवश्यक पर्छ । वाद्यवादक, पूजारी र प्रधान कजी र उपप्रधानकजी समेत गर्दा धेरै जनशक्ति आवश्यक पर्छ । ‘आर्थिक हिसाबले पनि खर्चिलो र जनशक्तिको हिसाबले पनि धेरै जना आवश्यक पर्छ,’प्रधानकजी श्रेष्ठ भन्छन्,‘यो नाच निकाल्नुपूर्व महिनौ दिन अभ्यास पनि गर्नुपर्ने हुन्छ ।’
 हुनमान नाचमा कलाकार बनेर सहभागी हुन सजिलो छैन । कडा अनुसासन र आचार संहिता पालना गरेर मात्रै कलाकार बन्न पाईन्छ । हनुमान नाँचमा सहभागी हुने कलाकारलाई सपथ खुवाएर मात्रै सहभागी गराउने उनले बताए । ‘यस कार्यमा सहभागी हुने सबैले चोखो सुद्धतामा ख्याल गर्नुपर्छ,’उनले भने,‘ब्रह्मचार्यमा बस्नुपर्छ । जाँडरक्सी खाने गर्नु हुँदैन ।’ यो नेवार समुदायको परम्परा, संस्कृति, धार्मिक मूल्य मान्यतामा आधारित नाच हो ।  धार्मिक, सांस्कृतिक र चारित्रिक रुपमा ठिक ठाउँमा राख्न पनि यसले सघाउ पुग्ने विश्वासले यो नाचमा सहभागी हुन्छन् । यसले मनोरन्जनसँगै शारिरिक व्यायाम समेत हुने हनुमान नाच संरक्षण परिषद बागलुङका प्रथम उपाध्यक्ष युवराज राजभण्डारी बताउँछन् ।
 ‘यसका लागि शारिरिक रुपमा पनि बलियो युवा आवश्यक पर्छ,’उनले भने,‘यसबाट प्रसस्त शारिरिक व्यायाम पनि हुने भएकाले शारिरिक रुपमा असक्तले यो नाच्न सक्दैनन् ।’ बागलुङमा यो नाच कहिलेबाट देखाउन थालिएको हो भन्ने ठ्याक्कै लिखित इतिहास छैन । तीन सय वर्ष अगाडि देशका विभिन्न ठाउँबाट बागलुङ आएका नेवार समुदायले आफुसंगै लिएर आएको संस्कृतिको रुपमा हनुमान नाँच रहेको लोकसंस्कृतिका अध्येता एवं प्रजा प्रतिष्ठानका पूर्व सदस्य प्रेम छोटाको भनाई छ ।
 ‘तीन सय वर्ष अगाडि भक्तपुर, बनेपा, ठिमी लगायतका ठाउँबाट बागलुङ आएका नेवारहरुले आफुसंगै ल्याएको संस्कृति हो हनुमान नाच,’छोटा भन्छन्,‘अहिले ती ठाउँमा बरु पाउन कठिन छ । बागलुङमा अझै पनि रहेको छ ।’ नेवार समुदायहरु शक्तिमा आश्रित हुने भएकाले पनि शक्तिको रुपमा हुनमानलाई खुसी बनाउन यस्तो गरिएको उनको विश्लेषण छ । ‘हनुमानलाई शक्तिको प्रतिकको रुपमा लिईन्छ,’ उनले भने,‘हनुमानलाई खुसी बनाउन सकियो भने कुनै पनि अप्ठ्यारो पर्दैन भन्ने विश्वास देखिन्छ । हुनमानलाई खुसी बनाउनका लागि यो नाच नाचिने गरेको पाईन्छ ।’
 रोगव्याधी र महामारी नआओस्, अनिकाल नपरोस् भनेर हनुमान नाँच नचाउने उनको भनाई छ । हुनमान नचाउँदा विभिन्न ताल छ । कलाकारले बाजाको तालमा एक अर्काले लठ्ठी ठोक्नुपर्ने हुन्छ । विभिन्न प्रकारका ताल छोपेर नाच्नु पर्छ । देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लङ्का पार गर्ने पद्धती लगायतका नाँचले निकै रमाइलो बनाउँछ । हनुमान नाँचमा संलग्न पूजारीले सेता गन्जी  र कछाड बाँध्ने गर्छन् । नाच्नेहरु ‘हनुमानको स्वरुप’मा उत्रिन्छन् । हुनमान नाँच भारतीय र तिब्बती संस्कृतिको मिश्रणको रुपमा रहेको सांस्कृतिक अध्येता काजी गाउँले श्रेष्ठको भनाई छ । 
प्रचलन अनुसार यो नाच भदौ महिनाको शनिबार, मंगलबार र बिहीबार देखाउन चलन हो । हुनमानले खुट्टामा घलङ (बजाउने मुजुरा) बाँधेर नाच्छन् । नेवार परम्परासंग जोडिएको संस्कृति भए पनि यसमा अन्य समुदायलाई पनि सहभागी गराउने गरिएको हुनमान नाँच संरक्षण परिषदका सचिव जय राजभण्डारी बताउँछन् । ‘नेवारी बस्ती रहेका अन्य युवा साथीहरु पनि हामीसंगै हनुमान नाचमा सहभागी हुने गरेका छन्,’उनले भने,‘यस पटक पनि एक जना मगर भाई हामीसंग सहभागी हुनुहुन्छ ।’ 
हुनमान नाच संरक्षण परिषदसंगै नेवार युवाहरुको संस्था नेवा ल्याम पुचःको अगुवाईमा हनुमान नाच प्रस्तुत गर्ने तारतम्य मिलेको हो । बसाइँ सराईसंगै युवा पलायनले गर्दा नेवारी संस्कार संस्कतिहरु जोगाउन कठिन हुँदै गैरहेको नेपाल भाषा मंका खलः बागलुङका सचिव सुदिप राजभण्डारी बताउँछन् । ‘नेवारी संस्कृतिहरु उसै पनि केही बढि खर्चिला छन्, त्यसैमाथि बसाइँ सर्ने युवाहरु विभिन्न कारणबाट पलायन हुने गरेको कारण रितीरिवाज र संस्कृतिहरु जोगाउन कठिन हुँदै गैरहेको छ । हामीले संगठित रुपमा प्रयास गरिरहेका छौं,’राजभण्डारीले भने । हनुमान नाचप्रति युवाहरुको चासो भएपछि सानै उमेरमा पढाई वा अन्य कारणले बाहिर जाने गर्दा समस्या भैरहेको हनुमान नाच समुहका वाद्यवादक निरज शाक्य बताउँछन् । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय