विदेशी शक्तिहरुले नेपाल आत्मनिर्भर मुलुक भएको देख्न चाहँदैनन् : केसी

  • चैत १९, २०७९

बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ का संघीय सांसद चित्र बहादुर केसीले  विदेशी शक्तिहरुले नेपाललाई आत्मनिर्भर मुलुक भएको देख्न नचाहाने बताए । विदेशी शक्ति राष्ट्रहरुले आफ्नो व्यापार सुक्ने डरका कारण नेपाललाई सधैँ परनिर्भर बनाईरहने उनको भनाई छ । जिल्लाको जैमिनी नगरपालिकाले आयोजना गरेको विज्ञहरुको सम्मेलन उद्घाटनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

‘विदेशमा उत्पादन भएका विषादीयुक्त तरकारी खानु पर्ने र यहाँ उत्पादन गरिएका तरकारीहरु बिक्रि नभएर सडकमा फाल्नु पर्ने अवस्था छ’ उनले भने–‘सरकार कमाजोर हुँदा आज नेपालीहरु विषादी युक्त तरकारी खान बाध्य हुनु परेको छ ।’

सकारल नेपालमा भित्रिने तरकारीको विषादी परीक्षण पनि गर्न नसकेको भन्दै सरकारको समेत आलोचना गरे । कमिसनको प्रलोभनका कारण नेपालको आफ्नै मलको उद्योग खोल्न नसकिएको बताएका छन् ।

उनले नेपालमा मल उद्योग खोल्नको लागि पटक–पटक छलफल गरिए पनि कमिसनको प्रलोभनका कारण उद्योग खोल्न नसकिएको बताए ।‘आफ्नै मल उद्योग खोल्नको लागि यहाँ पटक–पटक छलफल गरिएको छ तर उद्योगले मल खरिद गर्दा आउने कमिसन बन्द हुने भएकोले उद्योग खोल्न दिईएको छैन’ केसीले भने–‘नेपालको आफ्नै मल उद्योग नहुँदा नेपालको ठूलो पूँजी बाहिरिएको छ ।’

उनले मल उद्योग खोल्न नदिनेमा कर्मचारीदेखि व्यापारी र नेतासम्म रहेको बताए । केसीले नेपालमा भद्रगोल बढ्दै गईरहँदा गणतन्त्र प्रतिनै बृतिृष्णा बढ्दै गईरहेको बताए ।

उनले बितृष्णाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी मौलाएको समेत बताए । ‘जतासुकै भद्रगोेल नै भद्रगोल छ, यसले संघीय गणतन्त्र प्रति नै बितृष्णा बढाईरहेको छ’ उनले भने–‘बितृष्णाकै कारण आज राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमा नै उदाउन सफल भएको छ ।’ यद्धपी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा विदेशी राष्ट्रको ठूलो लगानी रहेको बताए ।

‘दुई वटा पासपोर्ट भएकाहरुको पछि ढुङ्गामाटो, पातपतिङ्गर सबै लागेका छन’ उनले भने–‘यस पछाडीको कारण राजनीतिक भद्रगोल र विदेशी शक्तिको सहयोग हो ।’

उनले नेपाली राजनीतिक दल र नेताहरुमा जसरी पनि सत्तामा पुग्नु पर्छ र पैसा कमाउनु पर्छ भन्ने सोँचकै कारण आज यो अवस्था सृजिएको बताए ।

‘हाम्रा दल तथा नेताहरुमा जनताको आवश्यकताको बारेमा खासै चासो छैन, उनीहरुमा जसरी भए पनि सत्तामा पुग्ने, पैसा कमाउने सोँच देखिन्छ’ उनले भने–‘यहि कारण आज बर्षौँ संघर्ष गरेका दल र नेताहरु पछि परेका छन् भर्खर जन्मिएका दलहरु उदाएका छन् ।’

उनले नेपालमा राम्रो प्रशासनको अभाव भएका कारण पनि भद्रगोल भएको बताए । उनले मुलुकको आर्थिक अवस्था डामाडोल भईरहेको बताए । यो अवस्था सुधार गर्नको लागि दल, नागरिक समाज, प्रशासनिक क्षेत्र र प्रेस सुध्रिनु पर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले विज्ञ सम्मेलनले पालिकामा भएका श्रोतको पहिचान र उपयोगको लागि मार्गदर्शन गर्ने बताए । उनले जनताको आर्थिक अवस्था सुधार गर्नको लागि स्थानीय सरकार महत्वपूर्ण हुने बताए ।

सांसद कृष्ण पाठकले मुलुकको आर्थिक अवस्था सुधार गर्नको लागि स्थीर सरकार आवश्यक रहेको बताए ।

सांसद कुशुम बुढाले पालिकाले बनाएका हरेक महत्वपूर्ण योजनाहरु कार्यान्वयनको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेले नीतिगत भन्दा पनि पालिकाले बनाएका योजनाहरु कार्यान्वयनमा जटिलता रहेको उल्लेख गर्दै कार्यान्वयनको लागि कर्मचारी तन्त्र सक्षम हुनु पर्नेमा जोड दिए ।

जैमिनी नगरपालिका प्रमुह नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख हरिहर शर्मा र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले गरेका थिए ।
 

प्रतिक्रिया