बागलुङ- नेकपा एमाले बरेङ गाउँ कमिटीको अध्यक्षमा झोम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिवार बरेङ बजारमा सम्पन्न गाउँ अधिबेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटि चयन गरेको हो । प्रथम गाउँ अधिवेशन उदघाट्न गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमंत्री तथा नेकपा एमालेका उप–महासचिव पृथ्बी सुब्बा गुरुङले एमसिसी सम्झौतालाई व्याख्यात्मक घोषणा सहित पारित गरेर प्रचण्ड र माधव नेपालले आफ्नो लाज छोपेको बताए । नेपाल कम्युनिस्ट पार्टी बरेङ गाउँ कमिटी बागलुङको प्रथम अधिवेशन तथा जनसभामा बोल्दै गुरुङले माओवादी र समाजवादीले कार्यकर्तालाई सडकमा एमसीसीको बिरुद्ध उतार्ने र गठबन्धनमा एमसीसी पारित गर्न सहमति गर्ने जस्तो दोहोरो चरित्र देखाएको आरोप लगाए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा खेलकुद विभाग प्रमुख लिलाबहादुर थापाले सम्बोधन गर्दै बरेङ गाउँपालिका पञ्चायती व्यवस्थाको समयमा निरंकुश शासनको विरुद्ध कडा प्रतिकार भएको ऐतिहासिक स्थल भएको भन्दै अब देश र जनताको पक्षमा एकजुट हुन पर्ने बेला आएको बताए ।
नेता थापाले राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउने राष्ट्रवादी र विकासवादी एक मात्र पार्टी नेकपा एमाले भएकाले एमाले मा प्रवेश गर्नको लहर चलेको दाबी गरे । कार्यक्रममा नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य मनकुमारी केसी, बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपाली, बागलुङ जिल्ला अध्यक्ष हिराबहादुर केसी, बागलुङ जिल्ला नेता कृष्ण पाठक लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।