• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • अर्थतन्त्र

नगर क्षेत्रमा संकलन हुने फोहोरलाई पुनः प्रयोगका लागि ३६ करोडको योजना

  • ब‌ैशाख २, २०८२

बागलुङ — बजार क्षेत्रमा निस्कने फोहोर व्यवस्थापनलाई ठुलो चुनौती बेहोरेको बागलुङ नगरपालिकाले यस क्षेत्रमा निश्कने फोहोरलाई पुनः प्रयोग ल्याउने तयारी सहित नयाँ योजना ल्याएको छ । 
नगर क्षेत्रमा संकलन हुने फोहोरलाई पुनः प्रयोग र फोहोरबाट अन्य सामग्री बनाउने योजना संचालन गर्नका निम्ती समनता अभियान नेपाल सँग नगरपालिकाले सम्झौता गरेको छ । मंगलबार अभियानका प्रमुख चन्द्रकान्त पौडेल र बागलुुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सम्झौता गरेका छन । सम्झौतामा नगरपालिकाको ५ प्रतिशत र अभियानको ९५ प्रतिशत आर्थिक भार बेहोर्ने उल्लेख गरिएको छ ।  फोहार व्यवस्थापनका लागि कुल ३६ करोड ७७ खर्च हुने अनुमान गरिएको छ । 
फोहोर फालिएको वडा नं १ को खुदुर्केमा शून्य फोहोर अभियान चलाएर व्यवस्थापन गरिनेछ । त्यसका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन समेत अभियानबाटै ल्याइनेछ । उक्त फोहोरलाई उपयोगी सामग्री बनाउने काम गरिने पौडेलले बताए ।
फोहोर व्यवस्थापन गर्दा डम्पिङ साइट दुर्गन्धिन नहुने, पुनः उपयोग गरेर फोहोरबाटै पैसा कमाउन सकिने लगायतको लक्ष्य राखिएको छ । ‘हामी नदी, जंगल र पानीको पूजा गर्छौं, तर त्यहीँ फोहोर भइरहेको छ, त्यो हुन नदिन यो परियोजना सञ्चालन गर्न लागेका हौं,’ पौडेलले भने, ‘उपयोगी सामग्री बनाउने लक्ष्य पनि छ ।’ फोहोर व्यवस्थापनका लागि फिल्ड हेर्न आएका रसियाका उद्यमीले प्लास्टिकजन्य फोहोरबाट कलम लगायतका सामग्री बनाएको बताए । 
लामो समयदेखि नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्न खोजे पनि दुर्गन्धले सास्ती थियो । मालढुंगा कुश्मीसेरा सडक, कालीगण्डकी नदी र काठेखोला किनार दुर्गन्ध भएकाले स्थानीयले सास्ती खेपेका थिए । आफूहरूले अफ्रिकामा समेत काम गरिसकेको अभियानकी प्रमुख तथा रसियन नागरिक गालनारा चाँदनीले जानकारी दिईन । 
नगरपालिकाले क्लिन बागलुङ अभियानका लागि प्रत्येक घरमा तीन प्रकारका बाल्टिहरु वितरण गरिसकेको छ । यसमा फोहोर कसरी संकलन गर्ने भन्नेबारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि भै रहेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।  प्रदूषणरहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहोर व्यवस्थापन नजिकै स्विमिङ पुलसमेत बनाउने नगरपालिकाको भावी योजना रहेको छ । 
डम्पिङ साईडमा तीन खण्ड बनाएर कुहिने, नकुहिने र सिसाजन्य लगायतका खतरा फोहोरको व्यवस्थापन गर्न केही संरचनासमेत नगरपालिकाले बनाइसकेको छ । चालु वर्ष नगरपालिकाले १ करोड रुपैयाँ खर्चेर संरचना बनाइसकेको प्रमुख श्रेष्ठले जानकारी दिए ।
२०५४ सालदेखि नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । वडा नं. १ को खुुर्केमा फाल्दै आएको फोहोरको डंगुर पनि खाली गराइएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहोर कम्पोस्ट मल बनाउने र नकुहिने प्लास्टिकजन्यलाई पुनः प्रयोगमा पठाउने लक्ष्य राखिएको छ । कुहिने फोहोरलाई केही महिनादेखि कम्पोस्ट मलका रुपमा प्रयोगमा ल्याउन थालिसकिएको छ । नगरपालिकाले फोहोरलाई मोहोरमा बदल्न यो कार्यक्रम संचालन गरिएको बताएको छ । सम्झौता कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेल, समानता अभियानका मिडियो कोडिनेटर राजन भुषाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले नगरक्षेत्रको फोहोरलाई मोहोरमा परिणत गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमको संचालन नगरपालिकाका प्रशासकिय अधिकृत भिमसेन पन्तले गरेका थिए । 

प्रतिक्रिया