बागलुङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

  • असार २०, २०८१

बागलुङ - बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला भरका १० स्थानिय तहको ८५ वटै वडामा रहेका बालबालिकाले पाउनुपर्ने आवश्यक खोप पुर्णरुपमा प्राप्त गरे सँगै जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाभर १५ देखी ५९ महिनाका कुल १३ हजार ५६ बालिबालिकाले पुर्ण खोप प्राप्त गरे पश्चात जिल्लालाई पूर्णखोपा सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार जन्मेदेखी १५ महिनाका ४ हजार १९० बालिकालिकाले हाल नियमित खोप प्राप्त गरिहेका छन । पूर्ण खोपको सुनिश्चिता गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले गरेका छन । जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र मन्त्री थापा र स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले जिल्ला खोप समन्वय समिति सहित जिल्लाका १० वटै स्थानिय तहलाई प्रदान गरेका थिए । जिल्लामा कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट बञ्चित नहुन र यो कार्यक्रमको दिगोपना गर्नका लागि अझै सहज होस भनेर प्रत्येक वर्ष घोषणा कार्यक्रम गरिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । जिल्ला खोप समन्वय समितिको निर्देशनमा पालिका स्तरमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि समेतले ८५ वटै वडाका सबै घरधुरीमा सर्भेक्षण गरेर कोही पनि बालबालिका खोप लगाउनबाट बञ्चित नभएको प्रमाणित भएपछि मात्रै यो घोषणा गरिएको हो । ‘कोही पनि खोप पाउने अधिकारबाट बञ्चित नहुन र बञ्चित छैनन् भन्ने सन्देश पनि हो ’ आचार्यले भने, ‘अब जटिल प्रकारका रोगबाट बालबालिकालाई बचाउन सकिन्छ ।’ आचार्यका अनुसार बिफर उन्मुलन भैसकेकोमा धनुष्टंकार, जापनिज इन्सेफ्लाइटिस, हेपाटाइटिसलगायतका रोग निवारण भएको, पोलियो शून्यमा झरेको र दादुरा तथा रुबेला रोग पनि नियन्त्रणमा आएको हो । घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने प्रयत्नमा रहेको बताए । उनले बालबालिकाले प्राप्त गर्ने खोप सेवालाई अझै व्यवस्थित गर्ने बताए । थापाले केही वर्ष यताको तथ्याङ्क हेर्दा देशमै स्वास्थ्यको सूचकमा गण्डकी प्रदेश बलियो बन्दै गएको बताए । उनले यी सूचकलाई निरन्तरता दिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए । ‘प्रदेश सरकार स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ मन्त्री थापाले भने,—‘स्वास्थ्य संस्था, अस्पतालको पुर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन पहिलो प्राथमिकता हो, आवश्यक उपकरण खरिद गरी आम नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने छौं यसमा गण्डकी प्रदेश प्रतिवद्ध रहेको छ ।’ उनले धौलागिरी अस्पतालमा ट्रमासेन्टर स्थापनाका निम्ती प्रदेश सरकारले बजेटको व्यवस्थापन गरेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख विना थापा मगर, पुर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्रबहादुर थापा, प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, डिलमाया पौवीले संविधानको धारा ३५ र स्थानीय सरकार संचालन ऐन २०७४ ले हरेक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानूनी व्यवस्था गरे अनुसार सवै बालबालिका कुनै पनि खोपबाट बञ्चित हुनु नहुने बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख मायाँ गुरुङ, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोदविन्दु शर्मा, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक राजिब घिमिरे लगायतले बालेका थिए । कार्यक्रममा जिल्लाका उत्कृष्ट स्वास्थ्य संस्था र ग्रामिण भेगमा खोप पु¥याउने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय सेवा गरेर सेवा निबृती भएका प्रेम बहादु विकलाई सम्मान गरिएको थियो । कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख अमरबहादुर थापाको अध्यक्षता, धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रविरञ्जन प्रधानको स्वागत, स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानिय बाजागाजा र विभिन्न खोप सम्बन्धीका गितहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया