सवारी साधनको चेकजाँचमा कडाई

  • असोज ३०, २०८०

बागलुङ -  चाडपर्व नजिकिएसंगै बागलुङ सदरमुकाम देखी देशको विभिन्न भेगमा चल्ने र ग्रामिण भेगमा संचालन हुने सवारी साधनको चेकजाँचमा कडाई गरिएको छ । चाडपर्वको अवसरमा चर्को भाडा लिएर यात्रुलाई ठक्ने र क्षमता भन्दा बढि यात्रुहरु बोकेर दुर्घटना निम्ति सक्ने हुँदा यसको न्युनिकरणका निम्ती सवारी चेकजाँचमा कडाई थालिएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको नेतृत्वमा बागलुङ प्रवेशद्धारको रुपमा रहेको मालढुङ्गा नाका लगायतका अन्य स्थानमा सवारी साधनको चेकजाँच गरिएको छ । 
‘चाडपर्व नजिकिए सँगै यातयातका साधनमा मनपरि चल्न सक्छ । त्यसको न्युनिकरणका निम्ती चेकजाँचलाई कडाई गरिएको छ, बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने,–‘गाडीमा भीडभाड, बढी भाडा असुल्ने र मापसे गरेर सवारी चलाउने लगायतको गतिविधिलाई रोक्न अनगुमनका कार्यक्रम अगाडी बढाएका हौं । नियमित हुने भन्दा फरक शैलीमा अनुगमन हुनेछ । भाडा लगायतका विषयमा यात्रुलाई नै सोध्नेछौं ।’
यो समयमा यात्रुबाट बढी भाडा असुलेको, क्षमता भन्दा बढी यात्रु बोकेको, मापसे गरेर सवारीसाधन चलाएको जस्ता गुनासोलाई न्यूनिकरण गर्दै दुर्घटना रहित चाडवाड गराउनका लागि सरप्राइज चेकिङ र छड्के चेकिङ गरिएको प्रजिअ रिजालले बताए ।
ट्राफिक प्रहरीको सक्रियतामा चेकजाँच हुनेछ भने यसमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, यातायात व्यवस्था कार्यालय पत्रकार र आम उपभोक्ताको समेत सहभागित हुनेछ । जाँच गर्ने क्रममा यात्रुलाई भाडाको बारेमा सोधपुछ गरिनेछ भने क्षमता भन्दा बढि यात्रु बोकेको नबोकोको हेरिनेछ । यसका साथै गाडी आवश्यक कागजात पनि जाँच गरिने ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काले जानकारी दिए । 
चेक जाँचका क्रममा रातो नम्मर प्लेट भएको सवारीसाधनले यात्रु बोकेको, सवारी चालक अनुमती पत्र लाइसेन्स नभई सवारी साधन चलाएको, सवारीसाधनको नविकरण गुज्रेको फेला परेको खड्काले जानकारी दिए । 
अनुगमन तथा चेकजाँचमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, प्रहरी नायव उपरिक्षक मदन केसी, सशस्त्र प्रहरी नायव उपरिक्षक रविन अधिकारी, बागलुङ नगरपालिका, पत्रकार महासंघ बागलुङ, राष्ट्रिय उपभोक्ता मन्च, नागरिक समाज लगायतको सहभागितामा सवारी साधन चेकजाँच गरिएको हो ।

प्रतिक्रिया