बागलुङ - नेकपा एमालेका केद्रीय सचिव पद्या अर्यालले सरकारले एमसिसी ल्याउन चाहे नेकपा एमालेको आवश्यकता नपर्ने बताएकी छन । उनले सरकारमा गठबन्धन सहितका दलहरुको बहुमत रहेको हुँदा एमसिसी पारित गर्नका निम्ती नेकपा एमालेको आवश्यकता नपर्ने बताईन । प्रेस चौतारी नेपाल बागलुङ शाखाले आईतबार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेतृ अर्यालले सरकार पक्षका दलहरुले नै एमसिसी बहुमतले पास गर्न सक्ने हुँदा यस विषयमा एमालेको आवश्यक नपर्ने बताईन ।
‘सरकारमा रहेका दलहरुले नै एमसिसीको विषयमा बोल्न चाहेका छैनन् नेतृ अर्यालले भनिन्–‘अहिले एमालेका कारण भनेर दोषारोपण गरेका छन । संसदमै नआएको विषयबस्तुमा नेकपा एमाले कसरी बोल्ने अहिले यो विषयमा एमाले बोल्न पनि चाहँदैन । गठबन्धनकै १ सय ६५ सिट छ । त्यो बहुमत हो । एमसीसी पास गर्न चाहेको भए पास गरे भयो,’ उनले संसद्मा पेस भएर छलफलमा बोलाए मात्रै प्रतिपक्षको हैसियतले एमाले बोल्ने बताईन ।
एमाले फुटाउने प्रमुख मतियार सभामुख
पुर्वमन्त्री समेत रहेकी अर्यालले नेकपा एमाले फुटाउने प्रमुख मतियार सभामुख अग्नी प्रसाद सापकोटा रहेको आरोप लगाएकी छन । सरकार अलोकतान्त्रिक र जनविरोधी भएको र त्यसैको मतियार सभामुख समेत बनेको आरोप लगाएकी हुन । ‘न सरकार जनपक्षीय छ, न सभामुख योग्य भए,’ उनले भनिन्, ‘पेलेर संसद् चलाउन खोज्ने, सहमति सहकार्य गर्न नखोज्नेले सभामुखको गरिमा बचाउन सक्दैनन् ।’ सभामुखकै कारण नेकपा एमाले फुटको स्थितिमा पुगेको उनको आरोप रहेको छ ।
सरकार जनविरोधी र विकास विरोधी छ
उनले सरकार जनविरोधी र विकास विरोधी रहेको जिकिर गरिन। आफु सरकारमा रहँदा सार्वजनिक गरेको चुच्चे नक्सा वर्तमान सरकारले त्यो नक्साको संरक्षण गर्न नसकेको आरोप लगाइन् । ‘मैले नक्सा सार्वजनिक गरें । तर, वर्तमान सरकारले त्यही नक्साको रक्षा गर्न सकेन,’ उनले भनिन्, ‘विदेशीले धमाधम सडक खन्दा सरकार लुगलुग कामेर बसेको छ ।’ वर्तमान सरकार भारतसँग कापेको उनको भनाइ थियो ।
निर्वाचनको मिति छिटो तोक्नुपर्दछ
अर्यालले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेकी छन । संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्नेमा उनले जोड दिएकी थिइन । ‘स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन’, नेत्री अर्यालले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने छ । यदि देशका कानुन नै संकटमा पर्ने हो भने यसलाई बचाउन नेकपा एमाले जस्तो सुकै मुल्य चुकाउन पनि पछि पदैन ।’ उनले संविधान अनुसार देश चल्ने र नेता अनुसार संविधान नचाउन समेत खबरदारी गरेकी छन । अर्यालले कोरोनाको कहरमा सरकार जवाफदेही बन्न नसकेको गुनासो गरेकी थिईन ।
पत्रकार सम्मेलन कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्षा नविन शिशिर विकको अध्यक्षता सहसचिव अर्जुन कार्किको संचालनमा सम्पन्न भएको थियो ।