बागलुङका पत्रकारलाई क्षमता विकास कार्यक्रम

  • असार ११, २०८२

बागलुङ- गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले  प्रदेश रजिष्ट्रारको कार्यालयले संचार माध्ययम र पत्रकारहरुको अभिभावकत्व ग्रहण गर्ने बताईन । उनले संचार माध्यमको सवलीकरण, श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र प्रेसमैत्री वातावरणका लागि काम गर्ने बताएकी छिन् । बुधबार बागलुङका पत्रकारको क्षमता विकास कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्र बचाएर पत्रकार पनि बाँच्ने वातावरणका लागि भूमिका खेल्ने बताइन् ।

उनले आगामी वर्षदेखि जिल्ला जिल्लाका नेपाल पत्रकार महासंघका शाखा बचाउने, पत्रकारितामा आशा जगाउने, भएका पत्रकारलाई दक्षता बढाएर पलायन हुनबाट जोगाउने लगायतको काम गर्ने बताइन् । उनले डिजिटल जमाना आएकोले पत्रपत्रिकासहित अनलाइन र विद्युतीय सामाग्रीको उपयोगितामा पनि सहयोग गर्ने बताइन् ।


भण्डारीले प्रस्तुतीकरण गर्दै पत्रकार र सञ्चार माध्यमको सूचिकरण गने, लेखनवृत्ति दिने, पत्रकारको बीमा गर्ने, कल्याणकारी कोषलाई उपयोग गर्ने लगायतको काम थाल्ने बताइन् । हरेक शाखाले चाहेको काममा प्रेस रजिष्ट्रारको कार्यालयले सहयोग गर्ने जानकारी दिइन् ।

कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयकी उपसचिव पार्वती लामिछानेले सरकारका कामबारे पत्रकारले कलम चलाएर कार्यालयको लेखनवृत्ती समेत लिन सक्नुपर्ने बताइन् । प्रदेश सरकारका कामको प्रचार र कमजोरी भए औल्याइदिन पनि उनले आग्रह गरिन् ।

गत भदौमा प्रेस रजिष्ट्रार नियुक्त भएको, आमसञ्चार ऐन बनेर पारित भएको तथा आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेटसहित कार्यक्रम आएकोले पत्रकारिताको विकासमा रजिष्ट्रारको कार्यालयले काम गर्ने आशा पलाएको वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष ‘अविरल’ले जिल्लाको पत्रकारिताको अवस्था, महासंघको इतिहास र वर्तमान अवस्था, आगामी दिनमा गर्न खोजेको काम र योजनाबारे प्रस्तुतीकरण समेत गरेका थिए । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, सचिव नारायण रिजालको संचालन र लामिछानेको स्वागतमा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु रामबहादुर जिसी र मुकेशचन्द्र राजभण्डारीले पनि शुभकामना मन्त्व्य राखेका थिए ।

 

प्रतिक्रिया