नेकपाले बागलुङका लागि उम्मेदवार टुंगायो, राजमोसँग गठबन्धन नहुने  

  • माघ ४, २०८२

बागलुङ,-    आगामी निर्वाचनका लागि उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टीले बागलुङका दुवै क्षेत्रका लागि आफ्नो उम्मेदवार टुंगाएको छ । बागलुङ क्षेत्र नं. १ मा कृष्ण बहादुर केसी र क्षेत्र नं. २ मा ज्ञामनाथ गैरे ‘अनिल’को उम्मेदवारी टुंगो लगाएको हो ।  केसीको आईतबार मात्र टुंगो लागेको छ भने गैरेको शनिबार नै टुंगो लागेको हो । क्षेत्र नं. २ मा नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको चर्चा चलेपनि अन्तत गैरेकै टुंगो लागेको छ । बागलुङको गलकोट नगरपालिका–६ का गैरे पार्टीका विभिन्न जिम्मेवारीमा लामो समयदेखि सक्रिय रहेपनि निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन् ।
२०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उक्त क्षेत्रबाट नेकपाकै नेता देवेन्द्र पौडेल विजयी बनेका थिए । जिल्लाबाट उम्मेदवार सिफारिस हुँदा पहिलो नम्बरमा रहेका गैरे नेकपाका केन्द्रीय सदस्य एवं तत्कालीन नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका उपाध्यक्ष समेत हुन् । २०५० सालदेखि अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरू गरेका गैरे अखिल क्रान्तिकारी बागलुङको जिल्ला सचिव, अध्यक्ष हुँदै २०५७ सालमा केन्द्रीय सदस्य भएका थिए ।
तत्कालीन नेकपा (माओवादी) ले संचालन गरेको जनयुद्धको बेला जेल जीवनसमेत बिताएका गैरे २०५९ सालमा नेकपा (माओवादी) बागलुङको जिल्ला सेक्रेटरीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । 
नेकपाको तर्फबाट क्षेत्र नं. १ मा उम्मेदवार भएका कृष्ण केसी वर्तमान अवस्थामा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुन । उनि यस अघि नेकपा माओबादी केन्द्रको पनि केन्द्रीय सदस्यको रुपमा रहेका थिए । केसी २०७० सालको संविधान सभाको निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा माओबादीको तर्फबाट उम्मेदवार बनेका थिए ।  द्धन्दकालमा २७ महिना भैरवनाथ गणमा बेपत्ता भएका केसी पछि ९ महिना जेल परेका थिए । उनि सगरमाथा आरोहण पनि गरेका हुन भने । बागमती सरसफाई अभियानका अभियान्ता समेत हुन । 
बागलुङ क्षेत्र नं. २ मा शनिबार नै उम्मेदवारी टुंगो लगाए पनि क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चासँग गठबन्धन चर्चासँगै उम्मेदवारी टुंगो लाग्न समय लागेको चर्चा थियो तर नेकपाले भने राजमोसँग कुनै बार्ता नभएको बताएका छ । नेकपा केन्द्रीय सदस्य एवं बागलुङका नेता राजिव घिमिरेका अनुसार राष्ट्रिय जनमोर्चासँग हाल सम्म कुनै छलफल भएको छैन । ‘पार्टीको निति एकल निर्वाचन लड्ने हो, राजमोसँग कुनै छलफल पनि भएको छैन, घिमिरेले भने,–छलफल चल्यो सवै कुरा मिल्यो भने गठबन्धन हुन पनि सक्छ तर अहिलेको निर्वाचनलाई मात्र लक्षित गरेर गठबन्धन जोडिदैन आउँदा दिनलाई पनि सोचेर गठबन्धनको प्रक्रिया अगाडी बढ्ने हो  हाल सम्म त्यस्तो कुनै छलफल भएको छैन । उनले यदी छलफल भएर राजमोसँग कुरा  मिल्यो भने गठबन्धनको बाटो पनि खुल्ला रहेको बताए । 
 

प्रतिक्रिया