कला,संकृतिको संरक्षण र पर्यटनको बिकास सबै मिलेर गरौं: मन्त्री पौडेल

  • भदौ ७, २०७९

बागलुङ,- शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले कला, संकृतिको संरक्षण र पर्यटनको बिकासमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन । बागलुङ नगरपालिका–१२ मा रहेको प्रसिद्ध भैरवस्थान मन्दिरमा आयोजित प्रथम हरेलो मेलाको उद्घाटन गर्दै मन्त्री पौडेलले परम्परागत संस्कृतिको संरक्षणमा सवै जुटनुपर्ने बताएका हुन । आफ्नै जन्मगाउँ पुगेका मन्त्री पौडेलले बलेवा क्षेत्रको बिकासका लागि आफुले सक्दो सहयोग गर्नु बताए । ‘बागलुङका मान्छेहरु मेहनती छन्, जहाँ पुगेका छन् त्यहाँ आफ्नै पौरखले प्रगति गरेको हामिले देखेका छौं’ पौडेलले भने ‘अव आफ्नै गाउँमा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको बिकासका लागि पनि एक मन एकताका साथ लागौं ।’ उनले  आस्था र बिचारभन्दा माथी उठेर सबै दल देशको बिकासमा लाग्नुपर्ने बताएका छन । आस्था र बिचारका पछि लागेर मात्रै व्यवहारीक बिकास नभएको र जनताले सुविधा नपाएको पौडेलको भनाई छ । 
नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापन लगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासले मात्रै सामाजिक क्षेत्रको बिकास हुने बताए ।  समुदायको तत्परता बिना बिकास निर्माण सम्भव नरहेको भन्दै मन्त्री पौडेलले त्यस्ता कामहरुमा राजनीतिक आस्था र बिचारको पछि लाग्न नहुने टिप्पणी गरेका थिए । पौडेलले पर्यटकिय क्षेत्रको विकासका निम्ती स्थानिय जनसमुदाय र सरकारको दुवैका उत्तिकै दायित्व हुने बताए । 

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले धार्मिक पर्यटन र उत्पादनलाई सँगै लैजाने गरी नगरले काम गर्ने बताए । उनले भैरवस्थान मन्त्रीलाई पर्यटकको हवको रुपमा विकास गर्न नगरपालिका तयार रहेको बताए । श्रेष्ठले पूर्वाधार बिकासका कामसँगै आर्थिक र सामाजिक बिकासको क्षेत्रलाई पनि नगरपालिकाले साथै लैजाने बताए । 
मेलामा भजन प्रस्तुती, पञ्चेवाजा प्रस्तुती, तीज गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको थियो । सोमबार र मंगलबार दुई दिन सञ्चालन भएको मेला सकिएको छ । स्थानीय झाँकी तथा स्थानीय उत्पादनको प्रदर्शनी मेलामा गरिएको थियो ।
 कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमख हरिहर शर्मा, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटा, बानपा १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, वडा न. १३ का अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १० का वडा अध्यक्ष तिलबहादुर थापा बानपा १३ का निवर्तमान वडा अध्यक्ष गुरुदत्त पाठक लगायतले मन्दिरको विकासका निम्ती सवैले एक्यबद्धता जनाउनुपर्ने बताएका थिए । 
कार्यक्रम हरेलो मेला व्यवस्थापन समितिका अध्यक्ष राजु मल्लको अध्यक्षता, बानपा १२ का वडा अध्यक्ष कोपिलामणी शर्माको स्वागत र सचिव भिमानाथ शर्मा र कलाकार कृष्ण अखेलीको संचालनमा सम्पन्न भएको थियो । 

 

प्रतिक्रिया