बागलुङ- बागलुङमा नगरपालिका–१ रामरेखामा रहेका प्रिसियस एकेडेमीले अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यालयले दोस्रो छात्रछात्रा स्तरीय प्रतियोगिता भदौ ५, ६ र ७ गते सञ्चालन गर्न लागेको हो । विद्यालयका अनुसार प्रतियोगितामा १५ विद्यालयका २९ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा १२ संस्थागत र तीन सामुदायिक गरी १५ छात्र टोली र १४ छात्रा समूह सहभागी हुने प्रिसिएस एकेडेमीका अध्यक्ष राजन प्रसाद शर्माले जानकारी दिनुभयो । कक्षा ८ सम्मका विद्यार्थीले सहभागीत जनाउन सक्नेछन् ।
प्रतियोगिता प्रिसियस एकेडेमीको हलमा सञ्चालन हुनेछ । खेलाडीको टोलीमा ६० केजीभन्दा कम तौल हुनुपर्ने व्यवस्था गरिएको छ भने अन्य नियम कबड्डी खेलको प्रचलित नियमअनुसार हुने बिहीबार आयोति पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा ट्रफी समेत सार्वजनिक गरिएको थियो ।
प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ प्रथम हुने टोलीलाई १० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टोलीलाई ७ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन एक हजार दर्ता शुल्क तोकिएको छ ।
त्यस्तै उत्कृष्ट डिफेन्डर र उत्कृष्ट खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्र तथा सेमिफाइनलमा प्रवेश गर्ने टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
विद्यालयले बालबालिकाको शारीरिक तथा मानसिक विकाससँगै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगितामार्फत विभिन्न विद्यालयका विद्यार्थीबीच आत्मीय सम्बन्ध, मित्रता, सहकार्य र सद्भाव विकास हुने तथा खेलाडीको प्रतिभा प्रस्फुटन, आत्मविश्वास, अनुशासन र स्वस्थ व्यवहारको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रिसियस एकेडेमीले आगामी दिनमा पनि खेलकुद तथा अन्य रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । विद्यालयले पुरानोे खेल मध्येको कबड्डीलाई जोगाउदै वर्षेनी प्रतियोगिता सञ्चालन गर्ने बताए । कार्यक्रम सञ्चालन शिक्षक प्रकाश थापाले गरेका थिए ।