बागलुङ- जिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीका वडाध्यक्ष परमानन्द कँडेलले आफ्नी आमाको चौरासी पूजामा शैक्षिक क्षेत्रमा सहयोग गरेका छन् । कंडेलले आमाको चौरासी पूजाको अवसरमा धौलागिरि बहुमुखी क्याम्पसको छात्रवृत्ति अक्षय कोष र कर्लिम कल्याण कोषलाई आर्थिक सहयोग गरेका हुन् । कंडेलले आमा भिमादेवी कँडेलको चौरासी पूजामा स्वर्गीय बाबा त्रिलोचन कँडेल, हजुरबुबा पुरुषोत्तम कँडेल र हजुरआमा अप्सरादेवी कँडेलको स्मृतिमा स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसले सञ्चालन गरेको छात्रवृत्ति कोषलाई दुई लाख ५१ हजार र कर्लिम कल्याण कोषलाई ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
लामो समय सामाजिक क्षेत्र र गैरसरकारी संस्थामा सक्रिय रहेर शैक्षिक र सामाजिक क्षेत्रमा सहयोग र योगदान गर्दै आएका उनले धौलागिरि क्याम्पसको शैक्षिक विकास र कर्लिम कल्याण कोष मार्फत विपन्न विद्यार्थीको पठन पाठनमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए । ‘मैले हिजोमा लामो समयसम्म शैक्षिक र सामाजिक क्षेत्रमा काम गरें, अहिले वडाध्यक्ष भए पनि मैले गर्ने काम सामाजिक र शैक्षिक क्षेत्रमा नै हो, त्यससंगै जोडिएर आउने विकास निर्माणका कुराहरु त छँदैछ,’उनले भने,‘धौलागिरि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले अक्षय कोष स्थापना गरेर विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने लक्ष्य राखेको छ ।
कर्लिम कल्याण कोषले विद्यालय तहका गरिब र विपन्न विद्यार्थीलाई आवासीय सुविधा सहित पठन पाठनको व्यवस्था मिलाएको छ । त्यसमा मैले पनि धेरथोर योगदान गर्न पाएकोमा खुसी छु ।’ आमाको चौरासी पूजामा गरिएको सहयोग गण्डकी प्रदेश सरकारका पूर्व उद्योग पर्यटन वन तथा वाताबरणमन्त्री मणिभद्र शर्मा कँडेलले धौलागिरि क्याम्पस सञ्चालन समिति अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।
कँडेलले यस अगाडि पनि नेखानी माध्यमिक विद्यालयलाई तीन लाख रुपैयाँ, भीमसेन क्याम्पस बिहुँलाई एक लाख पाँच हजार, अमर क्याम्पस बिहुँलाई एक लाख पाँच हजार, सरस्वती प्रावि लेखानीलाई २० हजार, काशीराम छन्त्याल प्राविलाई २० हजार लगायत विभिन्न शैक्षिक क्षेत्रमा सहयोग गरेका छन् । शैक्षिक विकासबाट मात्रै अन्य क्षेत्रको विकास हुन्छ भन्ने विश्वासका साथ आफुले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।
‘सबै विकासका लागि शैक्षिक विकास सबैभन्दा महत्वपूर्ण हुन्छ,’उनले भने,‘सामान्य र विपन्न परिवारका बालबालिकाले पनि सहज रुपमा गुणस्तरीय शिक्षा पाउन भन्ने उद्देश्यले मैले आमाको चौरासी पूजामा बुबा, हजुरबा र हजुरआमाको स्मृतिमा धौलागिरि क्याम्पस र कर्लिम कल्याण कोषलाई केही सहयोग गरेको हुँ ।’