हरि चालिसे एबिसी (पोखरा)- गण्डकी प्रदेश सरकारका शिक्षा , संस्कृति ,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सदैव समर्पित हुन प्रधानाध्यापकहरूलाई आग्रह गरेका छन । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशद्वारा प्रधानाध्यापकहरूको नेतृत्व विकास तालिमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले समाजको वौद्धिक व्यक्तिको रूपमा परिचित शिक्षकहरू रहेको र शिक्षकहरूको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकोले समयानुकूल परिवर्तनलाइ आत्मसात गर्नुपर्ने बताएका छन । उनले गुरूपूर्णिमाको प्रसड्ग निकाल्दै मन्त्री भन्दा पनि गुरूहरूको महत्व बढी रहेको छ किनकी गुरूपूर्णिमा प्रत्येक बर्ष मनाइन्छ तर मन्त्रीपूर्णिमा त मनाइदैन नि तसर्थ गुरूहरूको पेशा अत्यन्तै सम्मानित भएकोले सो कायम राख्नका लागि पनि निरन्तर दत्तचित्त हुनुपर्ने कुरामा जोड दिए ।
शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि नेतृत्वलाई समयानुकूल तालिम उपलब्ध गराउँदै आइरहेको शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले प्रदेश भित्रका प्रधानाध्यापकहरूलाई कोरोना कहर पछि प्रत्यक्ष सहभागितामा तालिम शुरू गर्न थालेको हो । कार्यक्रममा गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले तालिम लिइसकेपछि व्यवहारमा उतार्न सक्यौं र शैक्षिक गुणस्तरलाई उकास्न सक्यौं भने मात्र तालिम सफल र प्रभावकारी हुने भएकोले प्रधानाध्यापक साथिहरू त्यसमा अग्रसर हुनको लागि शुभकामना व्यक्त गरे ।
१० दिन सम्म संन्चालन हुने माध्यमिक तह अन्तर्गत पहिलो चरणमा २५ जना , दोस्रो चरणमा २२ जना सहभागि रहेको कार्यक्रम शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका तालिम प्रमुख नेपालहरि रानाभाटले जानकारी दिए । कार्यक्रम, शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका शाखा अधिकृत विदुरहरि आचार्यको सन्चालन र विस्तारित शाखाका प्रशिक्षक रूद्रमणि पौडेलको स्वागत मन्तव्य सम्पन्न भएको थियो ।