बागलुङ- बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङले प्रवन्धक हिमाल शर्मालाई बर्खास्त गरेको छ । संस्थामा लामो समयदेखि प्रवन्धकको रुपमा कार्यरत शर्मालाई संस्थाले संस्थाको हितविपरित काम गरेको लगायतका विभिन्न आरोप लगाउँदै पदबाट हटाइएको छ । शुक्रबार बसेको बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बैठकले शर्माको सेवा संस्थाकालागि आवश्यक र उपयुक्त नभएको संस्थाको कर्मचारी सेवा सर्त बिनियमावली २०६४ को विनियम ७.२ (ख), ऐ. बिनियम ७३ र बिनियम ९(झ) को प्रतिबन्धात्मक वाक्याँस बमोजिम हटाइएको बताईएको छ ।
संस्थाका उपाध्यक्ष हरि बहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो । शर्मा विरुद्ध उपभोक्तासँग राम्रो व्यवहार नगरेको, उपभोक्तालाई असहज व्यवहार गरेको उपभोक्ताको गुनासो सुन्न अस्वीकार गरेकोभनि उपभोक्ताहरु मध्येबाट मौखिक रुपमा उजुरी आएको, संस्थाका मातहतका कर्मचारीलाई समान र मानवीय व्यवहार नगरेको भन्ने मौखिक उजुरीको आधारमा बर्खास्त गरिएको उल्लेख गरिएको छ ।
शर्मा विरुद्ध संस्थाको उदेश्य परिपुर्तिका लागि संस्थाले गरेको निर्णयहरुको कार्यान्वयमा उदासिनता देखाई अटेर गरेको, राजनीतिक दलमा सक्रिय भई कार्य गर्दै आएको, जिल्ला जलस्रोत समिति बागलुङ, बागलुङ नगरपालिका र उच्च अदालत पोखरा बागलुङ इजलासले दिएको आदेश कार्यान्वय गर्न पूर्ण रुपमा संस्थालाई असहयोग गरेको आरोप लगाइएको छ । उपाध्यक्ष जिसीले स्वच्छ सफा र शुद्ध खानेपानी व्यवस्थापन तथा व्यवस्थित तरिकाले वितरणकालागि संस्थाले दिएको निर्देशन पालना गर्न पटक–पटक अटेर गरी असहयोग गरेका कारण स्वच्छ सफा शुद्ध खानेपानी व्यवस्थापन तथा वितरण गर्न आफुहरुलाई समस्या परेको बताए ।
उपाध्यक्ष जिसीले प्रबन्धक शर्मालाई कार्यालयका सवारी साधनदेखि कम्प्युटरसम्मका साधनहरु व्यक्तिगत रुपमा प्रयोग गरेको आरोप लगाएका छन् । शर्मा विरुद्ध संस्थाको सवारी साधन पटक–पटक व्यक्तिगत काममा प्रयोग गरेको, संस्थाको कम्प्युटर लगायतका साधानहरु व्यक्तिगत रुपमा प्रयोग गर्ने गरेको र यसरी संस्थाका सम्पत्ति दुरुपयोग नगर्नुहोस भन्दा समेत अटेर गरेको, कार्यसमितिमा बोलाई प्रबन्धकसँग पटक–पटक बसि प्रशासकीय कार्ययोजना बैठकमा पेश गर्न निर्देशन दिँदा अटेर गरी बैठकमा कार्ययोजना पनि पेश नगरेको आरोप लगाइएको छ ।
‘पटक–पटक कार्यसमितिको बैठकमा उपस्थित गराई सम्झाई बुझाई गर्दा समेत सकेको गरे हुन्छ तिमीहरुको निर्देशनको पालना हुँदैन भनि हाँक जवाफ दिएका कारण निज प्रवन्धकलाई लिखित रुपमा स्पष्टिकरण सोध्दा समेत कुनै जवाफ नदिई आफना गल्ति स्वीकार गरी बसेका हुनाले निजले बागलुङ नगर खानेपानी तथा सरसफाई संस्था कर्मचारी सेवा सर्त विनियमावली २०६४ को विनियम ९ को अनुसार’ हटाइएको उल्लेख गरिएको छ ।
यस विषयमा प्रबन्धक शर्माले आफुमाथी लागेको आरोपहरु पुष्टी नहुने बताए । उनले आफुलाई हटाइएको विषय विधिसम्वत समेत नभएको बताए । उनले आफुमाथी राजनीतिक आग्रह पालिएको बताए । ‘यो निर्णय विधि अनुसारपनि छैन, म स्थायी कर्मचारीलाई निकाल्न मिल्दैन ।’ उनले भने–‘यो निर्णय अध्यक्षले मनोमानी ढङ्गले गरेको देखिन्छ ममाथी राजनीतिक पूर्वाग्रह साँधियो ।’ उनले समितिले आफ्ना कमजोरी लुकाउन त्यसो गरेको आरोप लगाए ।