बागलुङ । सामाजिक सञ्जालमार्फत गलकोट नगरपालिकाको विकासमा बाधा पु¥याउने र असल अभ्यासको गलत प्रचार गर्दै भ्रम सिर्जना गर्ने काम भएको भन्दै स्थानीयले आइतबार विरोध प्रदर्शन गरेका छन् ।
नागरिकलाई स्थानीय तहमै गुणस्तरी सेवा दिइरहेको गलकोट नगर अस्पताल, विभिन्न संस्था र व्यक्तिको चरित्र हत्या गर्दै भ्रम फैलाउन खोजेको भन्दै स्थानीयले गतल प्रचार गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई तत्काल कानुनी दायरा ल्याउन माग गर्दै इलाका प्रहरी कार्यालय हरिचौरमा उजुरी समेत दिएका छन् ।
गलकोटको विकासमा अवरोध सिर्जना गर्नेगरी ‘हाम्रो गलकोट’ र ‘गलकोटका सचेत युवा’ नामक फेसबुक पेजले समाजमा भ्रम फैलाएको, सामाजिक विभाजन बढाएको र प्रमाणबिनै विभिन्न व्यक्ति र संस्थाविरुद्ध सामग्री प्रकाशन गरेको आरोप स्थानीयको छ । ती पेजमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको स्थानीय विष्णु काउचाले जानकारी दिइन् ।
‘फेसबुक पेजविरुद्ध उजुरी प्राप्त भएलगत्तै अनुसन्धान अघि बढेको छ’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले भने । आवश्यक परे साइबर ब्यूरोसँग समन्वय गरेर थप अनुसन्धान गरिने भारतीको भनाई छ ।
हाम्रो गलकोट फेसबुक पेजले भने गलकोट नगर अस्पतालमा भइरहेको आर्थिक अनियमितता, सरकारी जग्गा कब्जा, ढुंगा–गिट्टी–बालुवाको अवैध दोहन तथा बजेट दुरुपयोग जस्ता विषयमा आवाज उठाएको दाबी गरेको छ । आफूहरूले उठाएका मुद्दा जनचासोका विषय भएको भन्दै आन्दोलनको औचित्यमाथि नै पेजले प्रश्न उठाएको छ ।
‘गलकोट नगर अस्पतालमा भइरहेको सकारात्मक परिवर्तनलाई बदनाम गर्न प्रमाणविहीन आरोप र भ्रम फैलाउने प्रयास सह्य हुँदैन । विकासविरोधी सोच र गलत प्रचार गर्नेहरूलाई जनताले चिनिसकेकाले गलकोटको विकासमा बाधा पु¥याउने जो–कोहीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही हुनुपर्छ’ गलकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पवन हमालले भने ।