बागलुङ, - चियाका पारखीहरुका लागि बागलुङमा नयाँ गन्तव्य खुलेको छ । यहाँका युवाहरुले चिया र खानाको लागि एउटै ‘हब’ बनाउन बागलुङ बजारको मुटुमा कौंसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । बागलुङ नगरपालिका—२ धौलागिरि बहुमुखी क्याम्पसको अगाडि गोल्डेनगेट चोकको पुरानो यम्मी किचन हाउस भएको ठाउँमा माघ १ गतेदेखि उक्त रेष्टुरेन्ट सञ्चालनमा आएको हो । सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशील युवाहरु मनिष थापा, सुदिप सागर कँडेल र सुमन जिसीले संयुक्त रुपमा कौँसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
उक्त रेष्टुरेन्टको मंगलबार नेपाल सरकारका कृषि तथा पुशपन्क्षी विकास मन्त्री रामनाथ अधिकारी, गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी र बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले संयुक्त रुपमा उक्त रेष्टुरेन्टको रिबन काटेर उद्घाटन गरेका थिए । रेष्टुरेन्टको उद्घाटनपछि मन्त्री अधिकारीले व्यवसायिक सफलताको शभुकामना दिए । ‘युवाहरुको बढ्दो पलायन छ, यस्तो अवस्थामा यहाँका युवा साथीहरु मिलेर एउटा राम्रो उद्यममा लाग्नुभएको छ,’उनले भने,‘तपाईहरुलाई सफलताको शुभकामना ।’ तीन जना युवाको करिब ५० लाखको लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक मनिष थापाले बताए ।
‘हामी तीन जनाले बराबर हिस्सेदारी रहनेगरी झण्डै ५० लाख लगानी गरेर यो रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हौं,’उनले भने,‘विभिन्न प्रकारका चिया र स्वादिस्त खाना तथा मःम को ‘हब’ बनाउने उद्देश्य राखेका छौं ।’ सामाजिक र राजनीतिक क्षेत्रमा लाग्नेहरु उद्यमसंग जोडिनु जरुरी रहेको उनको भनाई छ । ‘हामी तीनै जना राजनीतिक र सामाजिक क्षेत्रमा आवद्ध छौं, हामी लागेको क्षेत्र व्यवसाय होईन त्यसैले पनि हामी उद्यमसंग जोडिनुपर्छ भनेर यसमा लागेका हौं,’ उनी भन्छन्,‘राजनीतिलाई नै पेसाको रुपमा लिने गरिएको भनेर आलोचना हुने गरेको छ । हामीले एउटा सुरुवात मात्रै गरेका छौं ।’
मट्का, घैंटे र लोकल चिया खुवाउने उनीहरुको योजना छ । ‘चियामा पनि भेराईटी दिनुपर्छ भनेर हामी लागेका छौं,’ थापाले भने,‘मट्का चिया ५५ रुपैयाँ, घैंटे ४० रुपैयाँ र साधारण लोक चिया अहिलेको बजारभाउ अनुसार ३० रुपैयाँमै उपलब्ध गराउनछौं,’उनले भने,‘थकाली खानाको स्वाद दिलाउनेगरी खानाको व्यवस्था गर्दैछौं । मटन खाना ५ सय रुपैयाँ, चिकन खाना ३८० र भेज खाना २८० मा खुवाउने तयारीमा छौं ।’ बाहिरबाट घुम्न आउने र बागलुङकै पनि घर बाहिर खाना खानका लागि कौंसीलाई सम्झिनेगरी काम थालेको उनी बताउँछन् । यसका अलावा नियमित रेष्टुरेन्ट आईटम रहने उनले बताए ।
ननभेज चिकन मटन र पोर्क आईटमहरु उपलब्ध गराउने बताईएको छ । ‘खाजाका सबै आईटमहरु यहाँबाट उपलब्ध गराउनेछौं, मटन तास र हाँसको छोयला र जापानी आईटम खाराबी चिकेन हाम्रो विशेष रहनेछ,’ उनले भने । रेष्टुरेन्टमा फुल टाईम र आंसिक गरी ६ जनालाई रोजगारी दिएको अर्का सञ्चालक सुदिपसागर कँडेलले बताए । ‘अहिले ६ जनालाई रोजगारी दिएका छौं, न्यूनतम १० हजारदेखि खानबस्नको व्यवस्था सहित ३० हजारसम्म तलब दिएर कर्मचारी राखेका छौं,’उनी भन्छन्,‘सेवा विस्तार हुँदै जाँदा अरु कर्मचारी पनि थप्छौं । उद्यमसंगै रोजगारी सिर्जना गर्ने हाम्रो प्रयास हो ।’
घरभाडा र स्टाफ खर्च गरी मासिक झण्डै दुई लाख रुपैयाँ खर्च हुने उनले सुनाए । ‘यसबाट हुने आम्दानीले हाम्रो व्यवसाय नै विस्तार गर्नेगरी लागेका छौं,’उनी भन्छन्,‘पछि गएर यसलाई कम्पनी मोडलमा लैजाने र पब्लिक सेयर खुला गर्नेसम्मको दीर्घकालिन योजना बनाएर अगाडि बढेका छौं ।’ नेपालमा प्रयास नै नगरी अवसर छैन भन्ने चलन बढेको उनको भनाई छ । ‘नेपालमा केही हुन्न भन्ने भाष्य निर्माण गरेर यहाँ प्रयास नै नगरी विदेश जाने चलन छ,’कँडेल भन्छन्,‘नेपालमा सेवाको क्षेत्रमा पर्याप्त सम्भावना छ भनेर नै हामी यो काममा लागेका छौं । प्रयास गरे सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।’
मःम चाउमिन लगायत खाजाका आईटमहरु बागलुङ बजारभर होम डेलिबरीको व्यवस्था गरिने अर्का सञ्चालक सुमन जिसी बताउँछन् । ‘बागलुङ बजार एरिया भित्र होम डेलिभरी सेवा दिने योजनामा छौं,’उनले भने,‘प्रविधिको प्रयोग गरेर विभिन्न डेलिबरी कम्पनीसंग काम गर्ने सोंच पनि छ । अहिलेलाई हाम्रो कर्मचारीले सेवा दिनेछन् ।’ सेवालाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि टेक्नोलोजीको उपयोग गर्ने उनले जनाए । ‘हामीले टेक्नोलोजीको प्रयोगले सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने सोंचमा छौं, वेटरले ट्याबलेटबाट अर्डर लिने र काउन्टर तथा किचनमा एकै पटक अर्डर पुग्नेगरी व्यवस्था गरेका छौं,’उनी भन्छन्,‘ग्राहकले गरेका अर्डर अनुसार अटोमेटिक बिलिङ हुने र बील भुक्तानीलाई पनि डिजीटलमा प्राथमिकता दिन्छौं ।’
आफुले वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएकाले त्यसलाई व्यसायमा उपयोग गर्ने जिसीले जनाए । उक्त रेष्टुरेन्टमा एकै साथ एक सय २५ जनालाई खाजा खाना खुवाउन सकिने र झण्डै २५ जना जतिको कार्यक्रम समेत गर्न मिल्ने सेमिनार हलको समेत व्यवस्था छ । ६ महिनादेखि एक वर्षभित्रमा लगानी उठाउन सकिन्छ भन्ने आफुहरुमा विश्वास रहेको उनले बताए । ‘झण्डै ६ महिनाजति हामी सञ्चालकहरु नै बिहान दिउँसो र साँझको समय मिलाएर यहाँको व्यवस्थापन हेर्ने र सबै सेट भएपछि कर्मचारीले नै सञ्चालन गर्नसक्ने गरी काम गर्ने तयारीमा छौं,’ जिसीले भने,‘एक वर्षमा लगानी सुरक्षित गर्न सकिएला भन्ने अपेक्षा छ ।’
सफ्टवेयर मार्फत सञ्चालकहरुले आफु बसेको ठाउँबाट मोबाईलमै मनिटरिङ गर्न मिल्नेगरी विकास गर्ने उनको भनाई छ । सामुहिक लगानीको व्यवसाय सफल नभएको भन्दै आफुहरुलाई हतोत्साही बनाउने कामहरु भए पनि आफुहर प्रतिवद्ध भएर लागेको उनीहरु बताउँछन् । काठेखोला गाउँपालिका—४ तंग्रामका ३४ वर्षीय मनिष थापा, काठेखाला—७ रेशका ३२ वर्षीय सुमन जिसी र काठेखोला—८ लेखानीका २७ वर्षीय सुदिपसागर कँडेल मिलेर उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । थापा धौलागिरि क्याम्पस बागलुङका पूर्व स्ववियु अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य हुन्, कँडेल धौलागिरि क्याम्पसको बहालवाला स्ववियु अध्यक्ष र जिसी सिवाईसी नेपालका कार्यक्रम अधिकृत छन् ।