नारायण रिजाल, बागलुङ !
गण्डकी प्रदेशकै नमुना नगर अस्पतालको रुपमा रहेको बागलुङको गलकोट नगरअस्पतालले प्रविधिलाई पछ्याउँदै डिजिटल हेल्थ कार्डको शुभारम्भ गरेको छ । नगरपालिका–५ हरिचौरमा रहेको अस्पतालमा अनलाइन टिकट सहितको डिजिटल हेल्थ कार्डको सुरु गरिएको हो ।
अस्पतालमा संचालन भएको इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ (इएमआर) प्रणाली सँगै डिजिटल हेल्थ कार्ड प्रणाली पनि कार्यान्वयमा ल्याएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए । डिजिटल हेल्थ कार्ड र इएमआर प्रणाली संचालन गरे सँगै सेवा लिन आउने बिरामीको सम्पुर्ण अभिलेख सुरक्षित रहने छ । यो प्रणालीको विस्तार गरेसँगै रोग निदानको शुद्धता बढाउने, कागजी प्रक्रियामा कमी ल्याउने, सेवा दोहोरोपन रोक्ने तथा उपचारको निरन्तरतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको डा. पौडेलले बताए । “प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि केही डिजिटल प्रणालीको शुभारम्भ गरिएको हो, यो प्रणाली मार्फत स्वास्थ्यकर्मीहरूले वास्तविक समयमा बिरामीको सम्पूर्ण स्वास्थ्य इतिहास हेर्न सहज हुनेछ डा. पौडेलले भने,–‘इएमआर प्रणालीमा जोडेर विरामीलाई कार्ड दिँदा भोलीका दिनमा पुन सेवा लिन आउँदा पनि सहज हुने छ । उसको यस पहिलेको सवै जाँचको विवरण पनि यही देख्न सकिनेछ बिरामीमैत्री सेवा प्रवाहका लागि यो प्रणाली राखिएको हो ।” उनले गण्डकी प्रदेशमाका सरकारी अस्पताल मध्ये डिजिटल हेल्थ कार्ड प्रदान गर्ने नगरअस्पताल गलकोट पहिलो भएको दाबी गरे ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्राविधिक सहयोगमा संचालन भएको यो प्रणालीको डा.दिपेन्द्र गौतम र ईन्जिनियर विरोध कट्टेलले बुधबार गलकोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरेलाई औपचारिक रुपमा हस्तान्तरण गरेका छन । नगरप्रमुख गैरेले स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधि अपनाउन नगरपालिकाको प्रतिबद्धता रहेको बताए । उनले गलकोटका नागरिकलाई छिटो छरितो र सर्वशुलभ स्वास्थ्य प्रदान गर्ने उद्देश्य अनुरुपमा नगरपालिकाले इएमआर प्रणाली र डिजिटल कार्डको शुभारम्भ गरेको बताए । गैरले प्रविधिको विकाससँगै सवै नागरिकलाई स्वास्थ्य सेवामा सहजता ल्याउने यो कार्यक्रम संचालन गरेको बताए ।
“यो प्रविधि ल्याउनका लागि डा. राजेशले नै समन्वय गर्नुभएको हो । यसले भोलीका दिनमा प्रभावकारी सेवा प्रदानका लागि सहज हुनेमा हामी विश्वस्त छौ नगरप्रमुख गैरेले भने,–‘ग्रामीण भेगमा डिजिटल स्वास्थ्य सेवा सफल बनाउन गरेको डाक्टरको योगदानलाई नगरपालिकाले उच्च सम्मान गर्ने छ, उहाँको दृढता, नेतृत्व क्षमता र अविचलित प्रतिबद्धताले नै यो अस्पताललाई रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।”
विश्व स्वास्थ्य संगठनले महामारी कोषमार्फत सहयोग गरेको र नगरपालिका नेतृत्व, स्वास्थ्य शाखा र अस्पतालको निरन्तर प्रयासका कारण यो प्रणाली संचालन गर्न सम्भव भएको अस्पतालका प्रमुख डा. पौडेलले बताउँछन । डिजिटल कार्डमा स्वास्थ्य विमाको नम्बर पनि हुन्छ, यसका साथै ईएमआर मार्फत अनलाइन टिकेटिङ, रेफरल लगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू जोडिएको छ । “अहिलको युग सूचना र प्रविधिको युग हो, चाहे त्यो शिक्षा होस वा स्वास्थ्य सेवामा डा. पौडलले भने,–‘हामी आज यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ डिजिटल पहुँच र इन्टरनेट प्रयोगबिना सेवा प्रदान गर्नु, व्यवस्थापन गर्नु कठिनाइ छ, सेवालाई सहजता र पुरानो युगको अन्त्यका लागि पनि प्रविधिलाई पछ्याउनु जरुरी ठानेर डिजिटल कार्ड र इएमआर प्रणाली संचालन गरेका हौं ।” बिरामीको संख्या, रोगहरूको प्रकृति, जनअपेक्षा र त्यिनको अधिकारलाई सुनिश्चित र सहज बनाउन डिजिटल प्रणाली अवलम्बन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार निकट भविस्यमा हेल्थ कार्डको नम्बरबाट विदेशमा रहेका आफ्ना परिवारले पनि स्वास्थ्य अवस्था र नियमित औषधी खाने बारे बुझन पाउने छ ।
यो प्रणाली संचालन गरिए सँगै कागजी फाइलहरु हराउने सम्भावना वा गोप्यता भंग हुने जोखिम नियन्त्रण गर्न सकिने डब्लु एचओका आईटी ईन्जीनियर विरोध कट्टेलले जानकारी दिए । कट्टेलका अनुसार हाल सम्म इएमआर प्रणाली क्लाउड सर्भरमार्फत संचालन भएको र बुधबार देखी अस्पतालमा नै स्थानिय सर्भरको व्यवस्थापन गरी संचालन ल्याईएका छ । यो प्रणाली संचालनका निम्ती विश्व स्वास्थ्य संगठन नेपालले नियमित सहयोग गर्ने जनाएको छ । गलकोट नगर अस्पतालमा यस क्षेत्रबाट विभिन्न राष्ट्रमा रहेका गलकोटेहरुले सहयोग गर्दै आएका छन । अस्पतालका उपकरण खरिदका साथै अन्य सेवाका लागि निरन्तर सेवा हुँदै आएको छ ।